२७ वैशाख, काठमाण्डौ । बेलायत बसेर नेपाली साहित्य र सामाजिक क्षेत्रमा सक्रिय रहेकी शान्ति खिम्दिङ लिम्बूको कविता कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ ललितपुरको तिखेदेवलमा विमोचन गरिएको छ ।
ओयाम सरोकार समाज काठमाडौँले शनिबार एक समारोह आयोजना गरी पुस्तक विमोचन गरिएको हो ।
लेखक खगेन्द्र संग्रौला, चलचित्र निर्देशक नवीन सुब्बा, डा. तुलसी गौतम, कवि विमला तुम्खेवा, समालोचक गुरुङ सुशान्तलगायतले संयुक्त रूपमा कृति विमोचन गरेका हुन् ।
लिम्बूको यो चौथो कृति हो । यसअघि उनका उपन्यास मिलिजुली (२०१७), गैर आख्यान अंग्रजीमा इमोशनल इन्टेलिजेन्स फर लिडरसिप (२०१८) र गीत, मुक्त संग्रह कस्तुरी यात्रा (२०२४) प्रकाशित छन् ।
‘थेम्सको लहरमा तमोरको स्पर्श’ भित्र सङ्ग्रहित कविताहरूले लण्डनको डायोस्पोरिक जीवनको संघर्ष र आफ्नो मातृभूमिको प्रेमिल भावनालाई व्यक्त गर्न थेम्स नदी र तमोर नदीलाई बिम्ब बनाइएको लेखक संग्रौलाले बनाए ।
‘कविताहरू सरसर्ती पढ्दा एकातिर याक्थुङ लिम्बू समुदायको तमोर सभ्यता भित्रको पुर्खाको सांस्कृतिक पहिचान, प्रकृति, नोस्टाल्जिया र परम्परा पोखिएका भेटिन्छन् भने अर्कातिर प्रवासका अनुभूति, त्यहका समाज, जीवनका विविध संघर्षका पाटाहरु र मानवीय संवेदनाहरु व्यक्त गरिएको पाएँ ’ संग्रौलाले भने ।
अर्का समालोचक गुरुङ सुशान्तले शान्तिले कवितामा आफ्नो पुर्ख्यौली थलो सिन्चने तमोर नदीलाई सशक्त बिम्ब बनाएर त्यहींको प्रकृतिमा रहेका ढुंगा–माटोसँगको सामीप्यतालाई स्पर्शको रूपमा प्रस्तुत गरेको बताए । उनले स्मृति, भाषा संस्कृति र चेतनाको वैचारिक दस्तावेज भएको बताए ।
चलचित्र निर्देशक नवी सुब्बाले याक्थुङ लिम्बूको प्राचीन मुन्धुमले मानवीय चेतनासँगै समग्रता, सम्पूर्णता, सहअस्तित्व र सामूहिकताको पक्षमा जोड गरेजस्तै शान्तिको कवितामा ती आदर्श र दर्शनहरू पनि समेटिएको बताए ।
कवि बिमला तुम्खेवाले विश्वव्यापी लेखकीय संरचनामा महिलाहरूको विषयलाई प्रमुख बनाइने गरेको उल्लेख गर्र्दै नारीवादका विषय, मानव जीवनको जरा, नारी चेतनाका विषय समेटिएको बताए ।
लेखक शान्ति लिम्बूले कृति कसरी जन्मियो भन्नेबारेमा आफ्नो अनुभूति राखिन् । तमोरले सिंचिएको ताप्लेजुङको नाङखोल्याङ हुँदै झापा, झापा हुँदै ललितपुर, फेरि ललितपुर हुँदै बेलायतसम्मको जीवनको यात्राका अनेक मोड र संघर्षमा सहभागी हुँदा आफ्ना मनमा आएका धेरै भावना र विचारहरूलाई समेटेर कविता कृति जन्माएको उनले सुनाइन् ।
‘रत्नपुस्तक भण्डारले प्रकाशन गरेको शान्तिको कविता कृति तीन खण्ड रहेका छन् । पहिलो खण्ड स्त्री, प्रकृति, देश र अरू, थेम्सको किनारमा परदेशी र अरू र अन्तिम खण्डमा सम्बन्ध, समाज र अरु कविता गरी लामाछोटा ४३ कविता समावेश छन् ।
प्रतिक्रिया 4