+
+
Shares
मनोगत :

पञ्च र म: कथा एउटै, अवस्था फरक

पञ्च, भविष्यमा मैले पनि माया गर्ने मान्छे भेटें भने तिमीलाई सम्बोधन गरेर अवश्य अर्को पत्र लेख्नेछु ।

चञ्चली चञ्चली
२०८३ वैशाख २९ गते ८:०५

प्रिय पञ्च,

तिम्रो कहानी संसारमै प्रसिद्ध भयो नि ! हुनत तँलाई थाहा छैन होला ! धेरै दु:ख लाग्यो— तँलाई जन्म दिने आमाले जन्मिनासाथ छोडिन् । तिमीले आमाको माया महसुस नै गर्न पाएनौ । आमाको मायाका लागि तिमी तड्पिएको, पागल जस्तै भएको देख्दा साह्रै दु:ख लाग्यो ।

सामाजिक सञ्जालमा आएका तिम्रा भिडियोहरू हेर्नै सकिनँ । तिम्रो घटनाले मलाई पनि ट्रिगर गर्‍यो, मेरो पनि त्यस्तै–त्यस्तै कहानी भएकाले यो चिठी लेख्न मन लाग्यो ।

अब मेरो कहानी सुन:

म एक टुहुरी, बाबुआमा नभएको मान्छेलाई अकस्मात् असीमित माया गर्ने मान्छे भेटें । एकदम हर्षित भएर उसको माया सहर्ष स्वीकार गरें ।

म तिम्रो घर र माइती सबै हुँ भन्ने आश्वासन पाउँथें । जिन्दगी यति रमाइलो भएको थियो कि वर्षौं बितेको पनि पत्तै भएन । हामी एक–अर्कासँग यति आश्रित भयौं कि खुट्टा उचाल्न पनि एक–अर्का चाहिने भयो ।

मैले वास्तवमै आमा, बुबा, जीवनसाथी र साथी–सबैको माया ऊबाट पाएँ । जिन्दगीमा मलाई केही वा कोही चाहिन्छ जस्तो अनुभूति नै भएन । म आफूलाई कति भाग्यमानी सम्झन्थें ।

मलाई केही खान मन लाग्यो भने उसलाई भोक लाग्थ्यो । म बिरामी हुँदा उसलाई दुख्थ्यो । यसरी उसको अनुहार हेरेर नै उसको सञ्चो–बिसञ्चोको अनुमान लगाउँथें मैले पनि । उसले लगाउने हरेक लुगा मैले नै छानेको हुन्थ्यो । हामी नगएको रेस्टुरेन्ट र शपिङ मल शायद कुनै पनि बाँकी थिएन होला ।

हाम्रो यो रमाइलो जीवनमा दैवको आँखा लाग्यो नि ! मलाई थाहा थिएन कि ऊ पहिलेदेखि नै विवाहित थियो भनेर । अकस्मात् उसको परिवारको प्रवेश हुन्छ अनि हाम्रो जीवन तहसनहस बन्छ ।

अब उसको दिनचर्या परिवारसँग कुरा गर्नमै बित्न थाल्यो । जसले मलाई आफ्नो मुटुमा राखेको थियो, उसैले अकस्मात् मलाई टाढा बनायो । दशौं वर्षको माया–प्रेमको सम्बन्ध भत्किन १० दिन पनि लागेन ।

‘पञ्च, तिमीले त जन्मेर माया कस्तो हुन्छ थाहा नै नपाई तँ एक्लो हुन पुगिस् नि है ? मलाई हेर त— आफ्नो मुटुमा सजाएर राखेको मान्छेले १० दिनमै मुटुबाट झिकेर फ्याँकिदियो नि ! मैले माया कस्तो हुन्छ भनेर अनुभव गर्न पाएँ र अकस्मात् गुमाउँदाको अनुभव कस्तो हुन्छ भन्ने भयो । तिमीलाई यसको अन्दाज नै छैन, किनभने तिमीले मायाको अनुभव नै गर्न पाएनौ नि !’

यो बीचमा मैले पनि केही गल्ती त गरें होला । किन तँसँग झुट बोल्थें र ! मैले पनि उसलाई केही प्रतिबन्ध लगाएछु— यो डरले कि कतै उसले मलाई छोडेर जान्छ कि भन्ने । परिवारसँग नजिक भयो भने मबाट टाढा होला कि भन्ने डरले अलि बढी नै निगरानी गरें कि जस्तो लाग्छ ।

तर मेरो निर्दोषपन हेर्नु, मैले यो बुझिनँ कि उसको परिवार टाढा हुँदा उसले आफ्नो एक्लोपनबाट मुक्त हुन मेरो जीवनसँग खेलबाड गरेको रहेछ । उसको परिवार किन टाढिएको थियो, मलाई थाहा भएन, र अहिले किन फेरि जोडिंदै छन्, त्यो पनि थाहा भएन । यतिसम्म कि उसको परिवार छ भन्ने कुरा समेत मलाई थाहा थिएन ।

त्यही भएर मैले आफ्नो तन, मन सबै सुम्पिएको थिएँ । अब हेर न, मेरो जीवनमा कस्तो मोड आयो— सास फेर्न पनि ऊ चाहिने मान्छे म, अचानक ऊबाट टाढा हुनुपर्दा मलाई कस्तो भयो होला ? मेरो त धर्ती नै फाटेको जस्तो भयो । कति महिना त मेरो जीवनमा के भयो भनेर मैले बुझ्नै सकिनँ ।

मलाई ऊ बाहेक कोही नचाहिने भएको थियो, त्यसैले मैले जीवनमा साथी नै बनाएको थिइनँ । अहिले त साथ दिने कोही छैन । मेरो बाँच्ने आधार नै नभएको जस्तो भयो । बाँच्ने इच्छा नै हरायो । कति रोएँ, कति कराएँ, तर सुन्ने कोही थिएन ।

यदि कुनै साथी बनाएको भए, अहिले उसलाई आफ्नो कथा सुनाएर अलि हलुका हुन्थें जस्तो लाग्छ । कहिले त आफूजस्तो मूर्खलाई ठीकै पर्‍यो भन्ने पनि लाग्छ । एउटा मान्छेलाई कति विश्वास गरेको, कति हदसम्म भर परेको !

अब मेरो दिन झन् नराम्रो हुँदैगयो । मैले यो दु:ख खप्न नसकेर मलाई एन्जाइटी नै भयो । डाक्टरकहाँ जानुपर्‍यो, कति औषधि खाएँ, योगा गरें तर केहीले पनि काम गरेन । अब मलाई यो संसारमा बाँच्ने नै चाहना छैन जस्तो लाग्न थाल्यो । मान्छे किन आत्महत्या गर्छ, मर्छ भन्ने कुराको जवाफ पनि मैले आफ्नै भोगाइबाट पाएँ । अझै खत्तम दिनहरू आए मेरो जीवनमा । उसको जीवनको अभिन्न अङ्ग थिएँ म । मैले जीवनमा अरूको बारेमा सोचेको थिएन, उसको उपस्थितिले ।

अब ऊ एकाएक परिवर्तन भएको छ । त्यो परिवर्तनसँगै हाम्रो सम्बन्धमा पनि परिवर्तन देखिन थाल्यो । उसलाई त केही फरक नै परेन किनभने ऊ आफ्नो परिवारसँग जोडिन पुगेको छ । दिनदिनै ऊ अब घण्टौं परिवारसँग फोनमा बिताउँछ, जुन समय मसँग बिताउने गर्थ्यो । म एकदम एक्लिएँ । आफ्नो मनको कुरा भन्ने मान्छे नै भएन जीवनमा । एन्जाइटीले झन् च्याप्न थाल्यो । खाना अरुचि भयो । मेरो रूप र रङ सबै खत्तम भयो । उसलाई दिनदिनै रमाइलो लागिरहेको छ, यता म चाहिं दिनदिनै गलिरहेकी छु ।

अब यस्तो दिन आयो कि खान अथवा सुत्न भन्यो कि डर मात्र लाग्न थाल्यो— कसरी खाने, कसरी सुत्ने भन्ने डर भयो । ऊ पूरै परिवारको पछाडि बेफिक्री भएर लाग्न थाल्यो र मेरो भने पूरै बेवास्ता भयो । मसँग १ मिनेट मात्र कुरा गर्न पनि कुनै विषय नै हुन छोड्यो । कति महिनासम्म ‘तिमी ठीक छौ ?’ भनेर पनि सोधेन । सम्बन्धमा पूरै दरार आयो । उसको झुट र बहानाबाजी बढ्न थाल्यो । ममाथि गालीको वर्षा हुन थाल्यो ।

यतिसम्म कि ‘अब तिमी आफ्नो बाटो लाग, अरू साथी बनाऊ, अरू साथीहरूसँग घुम्न जाऊ’सम्म भन्न भ्यायो । पक्कै पनि आफैंलाई सोध्छु—यति छिटो कोही मान्छे कसरी परिवर्तन हुन्छ ? घण्टौं कुरा गरेर बिताउने हामी, अब १ मिनेट पनि कुरा गर्न गाह्रो भयो । एकअर्काको भेट पनि पूरै नाटक जस्तो लाग्न थाल्यो ।

पञ्च, तिम्रो र मेरो दु:खदायी दिनको फरक म भन्छु है ! जब तिम्रो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो नि, सारा संसार रोयो । तिमी बसेको चिडियाखानाका दुई जना केटाहरूले कति राम्रो हेरचाह गरे । आमाको झल्को मेटियोस् भनेर तिमी जस्तै पुतली दिए । तिमी त्यसैसँग खेल्न र सुत्न थाल्यौ । तिमी कति भाग्यमानी— तिमीलाई आईकेईए जापानका सीईओले अझै धेरै खेलौना पठाइदिए ।

कति मानिसले तिमीलाई एडप्ट गर्छु पनि भने । चिडियाखानामा तिमीलाई हेर्न दिनहुँ हजारौं मानिस आउन थाले । अहिले त तिमीलाई त्यही चिडियाखानाको एउटा बाँदरले एडप्ट पनि गर्‍यो । तिम्रो जीवन त सुखदायी भयो, म खुशी छु । सारा संसार खुशी छन् ।

मलाई हेर त– ‘न गाउन मिल्ने गीत, न सुनाउन मिल्ने कथा’ जस्तै भएकी छु । कसैलाई भन्न पाए पनि त अलि हल्का हुन्थ्यो । डाक्टरलाई त भनेकै हुँ नि, तर औषधि थप्ने काम बाहेक केही गरेन । यो अवधिमा म धेरै रोएँ । तिमीलाई थाहा छ, आँसु यस्तो महत्वपूर्ण तरल पदार्थ हो, जसमा १ प्रतिशत पानी र ९९ प्रतिशत अन्तरात्माको पीडा, चोट र भावना बगेको हुन्छ । जिन्दगीभरि नबगाएको आँसु यी २/३ महिनामा बगाएँ । कति पीडा बगेर गयो, तर पनि पीडा कम भएन ।

मेरो माया र विश्वासको बदलामा मैले पाएको पुरस्कार भनेको ती आँसुका थोपा र निराशा नै भयो । मैले आफूलाई ठीक पार्न कोसिस नगरेको होइन— डाक्टरको सल्लाह लिएँ, योगको सहारा लिएँ, तर पनि म ठीक भइनँ । मेरो दु:ख झन्–झन् बढ्दै गयो, उता ऊ भने झन् रमाउँदै गयो । उसले यो पटक्कै बिर्सियो कि दशौं वर्षको उकालो–ओरालोमा साथ दिने मान्छे छ । उसको यस्तो व्यक्तिवादी व्यवहारले मलाई कस्तो असर परेको होला ?

के उसले मलाई यति सजिलै, यति छिट्टै बिर्सियो त ? त्यत्रो पुरानो सम्बन्ध यति सजिलै टुट्छ होला ? यस्तो गर्नु थियो भने मलाई किन आडभरोसा दिएको होला ? किन हदसम्मको माया गरेर यसरी पानी विनाको माछा जस्तो बनाउनु थियो त ? के हाम्रो सम्बन्ध बन्नुमा मेरो मात्र दोष थियो ?

यस्ता प्रश्नहरूले मेरो निद्रा र भोक दुवै हराउँदै गए । म दिनदिनै अस्वस्थ हुँदै गएँ । सबैले मलाई ‘के भयो ?’ भनेर सोध्न थाले, तर उसलाई केही असर नै परेन । कस्तो मान्छेलाई आफू सुम्पेछु ? धिक्कार छ मेरो बुद्धिलाई !

पञ्च, तिम्रो अन्त्य एकदम सुखमय भयो, लक्की रहेछौ, म खुशी छु । तिमीले आमा पायौ, दुनियाँको माया र सान्त्वना पायौ । तर यता मेरो अन्त्य भने दु:खदायी नै छ । म अझै माया गर्ने मान्छेको पर्खाइमा छु । जिन्दगी एक्लै त बित्दैन नि है ? फेरि मलाई कसैमा विश्वास गर्न पनि गाह्रो छ । माया गर्ने मान्छेको पर्खाइमा पनि छु— कस्तो द्विविधा हो जिन्दगीमा ।

पञ्च, भविष्यमा कहिल्यै माया गर्ने मान्छे भेटें भने अवश्य पनि तिमीलाई फेरि लेख्नेछु है । तिम्रा आगामी दिनहरू सधैं सुखमय रहुन्– यही मेरो कामना ।

तिम्रो अनभिज्ञ साथी– चञ्चली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?