News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गर्न निर्देशन दिएकी छिन्।
- महानगरपालिकाले वडालाई ठूला, मझौला र साना गरी ३ वर्गमा विभाजन गरी बजेट विनियोजन गरेको छ।
- ठूला वडालाई १० करोड, मझौलालाई ७ करोड ५० लाख र साना वडालाई ५ करोड रुपैयाँ पूर्वाधार विकास बजेट विनियोजन गरिएको छ।
२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गरिसक्न निर्देशन दिएकी छिन् ।
महानगरपालिकाको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिइन् । उनले केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकी छिन् । वडामा भएको बजेटबाट काम गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्थाका कार्यक्रम कार्यान्वयन नगर्न समेत वडा सचिवहरुलाई निर्देशन दिइन् ।
सम्पन्न योजनाको लाभ लागत विश्लेषण, कार्यान्वयनमा रहेका योजनाको गुणस्तर र कार्यान्वयन गर्न समस्यामा रहेका योजनाको समाधानमा तोकिएका विभागीय प्रमुखसँग समन्वय गरेर नतिजा निकाल्न आग्रह गरिन् ।
‘बेरुजु शून्य बनाउन लगन चाहिएको छ, राजस्व संकलन कार्यलाई प्रभावकारी बनाउनु पर्नेछ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने, भएका सम्पत्तिको अभिलेखन गर्ने कामलाई प्रभावकारी बनाउनु पर्नेछ । पूर्वाधारका कामलाई गुणस्तर बनाउनु पर्नेछ,’ उनले भनिन् । सामाजिक क्षेत्रका कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गर्दा सधै र सबै तालिममा एउटै अनुहार राख्ने प्रणाली अन्त्य गर्न समेत उनले निर्देशन दिइन् ।
सो अवसरमा वडासचिवहरुले उपभोक्ता समितिबाट समयमा कागजपत्र बुझाउन नसक्नु, इन्धनको मूल्य वृद्धि, निर्माण व्यवसायीबाट योजना सम्पन्न नहुनु, बजेट शीर्षकमा नभएका कार्यक्रमका लागि माग हुनु जस्ता विषय औंल्याएका थिए ।
उनीहरूले सैद्धान्तिक बेरुजु फर्स्यौट, राजस्वका दर, राजस्व गणना तथा दायरा, सीसीटीभी क्यामरा जडान, सुरक्षा र सहरी व्यवस्थापनक जस्ता साझा विषयमा साझा कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।
अहिलेसम्म महानगरपाकिाको खर्च प्रतिशत ४०.९४ र वडाहरुको ३९.३ प्रतिशत रहेको छ । सबैभन्दा धेरै खर्च गर्ने वडामा ५७.१७ प्रतिशत प्रगति हासिल भएको छ । दोस्रोको ५६.४७ र तेस्रो वडाको ५०.६२ प्रतिशत खर्च भएको छ ।
सबैभन्दा कम खर्च गर्ने वडाको खर्च प्रतिशत १३.२१ छ । दोस्रोको १६.८१ र तेस्रो कम खर्च गर्ने वडाको खर्च प्रतिशत १७.६८ छ । महानगरपालिकाले वडालाई ठूला, मझौला र साना गरी ३ प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ ।
वडा नं. १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वटा वडा ठूला वडामा पर्छन् । वडा नं. २, ५, ८, १२, १७, २२, २४, २५, २८, २९ र ३० गरी ११ वटा वडा मझौला वडामा राखिएको छ । बाँकी ६ वटा वडाहरू १८, १९, २०, २१, २३ र २७ सानामा राखिएको छ ।
वडाहरूलाई कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रबाहेक अन्य वडास्तरीय क्षेत्रगत विकासका लागि ठूला वडालाई १० करोड रुपैयाँ, मझौलालाई ७ करोड ५० लाख रुपैयाँ र साना वडालाई ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसरी विनियोजित पूर्वाधार विकास बजेटको न्यूनतम ५० प्रतिशत पूर्वाधार र अन्य बजेट क्षेत्रगत रुपमा खर्च गर्न सकिन्छ । यससँगै थप पूर्वाधार विकासका लागि ठूला वडालाई ७ करोड, मझौलालाइृ ५ करोड र सानालाइृ ३ करोड रुपैयाँ बजेट विनियोजित छ ।
प्रतिक्रिया 4