News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन नभएको भए देश भँड्खालोमा जाकिने बताएका छन्।
- उनले अघिल्ला सरकारले राजनीति र प्रभावशाली आर्थिक संस्थालाई कब्जा गरी जनताको पैसा कुम्ल्याएको बताए।
- सरकारले विश्वस्तरीय पूँजीबजार बनाउन सुशासनमा केन्द्रित योजना बनाएको र पुनर्संरचनाका सुझाव कार्यान्वयनमा जाने उनले बताए।
२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन नभएको भए देश भड्खालोमा जाकिने बताएका छन् ।
मंगलबार अर्थसमितिमा पूँजीबजारमा रहेका विकृतिबारे बोल्दै उनले राजनीति र प्रभावशाली आर्थिक संस्थाहरुलाई कब्जा पारेर आम जनताको पैसा कुम्ल्याउने प्रवृत्ति अघिल्ला सरकारको पालामा भएको बताए । उनले वर्तमान सरकारले विश्वस्तरीय पूँजीबजार बनाउने उद्देश्यसहित सुशासनमा केन्द्रित हुने योजना बनाएको दाबी गरे ।
अब स्टक एक्स्चेन्जको पुनर्संरचनाका लागि गठन गरिएको समितिले दिएको सुझाव कार्यान्वयनमा जाने उनले बताए । नीति तथा कार्यक्रममा समेत स्टक एक्स्चेन्ज र पूँजीबजारबारे उदार नीतिहरू घोषणा गरिएको उनको भनाइ छ ।
‘बजेटमा यसलाई हामी थप आकार दिन्छौं, उनले भने, ‘यसलाई व्यवसायीकरण गरेर विश्वस्तरीय क्यापिटल बजारका मापदण्डलाई पछ्याउने गरी अगाडि लैजान्छौं ।’
उनले अगाडि भने, ‘विगत केही वर्षमा यी संस्था केही व्यक्तिको कब्जामा गएको यथार्थ हो, जनताको १५/१६ अर्ब पैसा अपचलन गरेर मार्केट म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकूत सम्पत्ति जम्मा गरेर राजनीतिलाई प्रभावित गरेर, केही प्रभावशाली नेतालाई त उनीहरूको गोजीमै राखेर, देशका राजनीतिक संस्था त कब्जा भए भए, आर्थिक संस्थाहरू समेत कब्जा गरेको एकदमै कटु यथार्थ छ ।’ उनले भने, ‘जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ, त्यो हस्तक्षेप नभएको भए हामी साँच्चिकै भड्खालोमा जाकिने क्रममा रहेछौँ ।’
प्रतिक्रिया 4