News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले रास्वपा कार्यालयमा १२ बुँदे मागसहित भूमि र आवास अधिकार सुनिश्चितताको लागि अनुरोध पत्र बुझाएको छ।
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीले विस्थापन नगरी व्यवस्थापन गर्न र सरकारसँग सहजीकरणको लागि छलफल गर्न अनुरोध गरेका छन्।
- रास्वपा नेता गणेश पराजुलीले भूमिहीन सुकुमवासीलाइ व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको र कोही भूमिको अधिकारबाट बञ्चित नहुने बताए।
२९ वैशाख, काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय पुगेर भूमि र आवास अधिकार सुनिश्चितताको लागि अनुरोध पत्र बुझाएका छन् ।
पार्टी नेता तथा संसदीय दलका उपनेता गणेश पराजुलीमार्फत रास्वपालाई अनुरोधपत्र बुझाएका हुन् । मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले १२ बुँदे माग पढेर सुनाउँदै अनुरोधपत्र हस्तान्तरण गरेका हुन् ।
साथै, पराजुलीसँग २० जिल्लाबाट प्रतिनिधिमूलक रुपमा सहभागी भएका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका प्रतिनिधिहरुले सरकारबाट भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासी बस्ती विस्थापन नगरी व्यवस्थापन गर्न र त्यसको लागि सरकारसँग सहजीकरणको लागि छलफल एवं संवाद गर्न अनुरोध गरेका छन् ।
भेटमा मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले रास्वपा नेतृत्वमा सरकार बन्ने बिकिै काठमाडौं उपत्याका लगायतका ठाउँमा बसोबास गर्ने भूमिहीन सुकुमवासीलाई जबर्जस्ती उठीबासले त्रास सिर्जना गरेको बताए ।
चुनावअघि रास्वपाले गरेको वाचा स्मरण गराउँदै उनले यो क्रमलाई रोक्न र आफ्नो चुनावी वाचाअनुसार जान अनुरोध गरे ।
सुर्खेत वीरेन्द्रनगरबाट सहभागी भएकी कलावती सुनुवारले पराजुलीसँग थपिन्, ‘नयाँ पार्टी र सरकारसँग हाम्रो धेरै आशा थियो र छ । हामीलाई उठिबास गराउन विभिन्न चरणमा आइरहेको सूचनाले साह्रै मन पोलीरहेको छ । हामीलाई उठिबास लगाइदिए हाम्रो जाने ठाउँ कतै छैन । हाम्रो उचित व्यवस्थापन गरिदिनु पर्यो ।’
यसरी रास्वपा कार्यलयमा २० जिल्लाबाट सहभागी भूमिहीन दलित भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको प्रतिनिधिहरूले जिल्लागत समस्याहरु पनि सुनाए ।
रास्वपा नेता गणेश पराजुलीले भने भूमिहीन सुकुमबासीको व्यवस्थापन गर्न रास्वपा प्रतिबद्ध रहेको बताए । ‘सरकारले व्यवस्थित व्यवस्थापन गर्ने गरी सरकारले प्रक्रिया पनि अघि बढाइसकेको छ । हामी प्रतिबद्धताअनुसार काम गर्छौँ । कोही कसैलाई भूमिको अधिकारबाट बञ्चित गर्ने छैनौं । सरकारले पनि त्यही स्पिरिटमा काम गरिरहेको छ ।’
राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको अगुवाइमा सोमबार पनि माइतीघरमा आन्दोलन भूमिहीन सुकुमवासीले आन्दोलन गरेका थिए ।
प्रतिक्रिया 4