+
+
Shares

लेखा समितिको पहिलो बैठकमै देखियो ‘हाटा’ प्रवृत्ति

समिति सचिवको प्रस्तुतीकरण चलिरहँदा सांसदहरूको हाजिर पनि हुँदै थियो । सचिवको प्रस्तुतीकरण सकिएपछि सांसदहरू बाहिरिने क्रम पनि सुरु भयो । केही आफ्ना कुरा राखेर बाहिरिए भने केही यसै बाहिरिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको पहिलो बैठक बुधबार बसेको थियो जसमा २४ जना सांसद उपस्थित थिए।
  • बैठक करिब सवा घण्टा चलेको थियो तर अन्त्यमा केवल ११ जना सांसदहरू उपस्थित थिए।
  • सांसदहरूले बैठक प्रभावकारी बनाउन हाजिरी गर्ने र छलफलमा भाग लिनुपर्नेमा जोड दिएका छन्।

२९ वैशाख, काठमाडौं । पछिल्ला वर्षहरूमा संघीय संसद्मा निरन्तरजसो सुनिने शब्द हो– हाटा । सांसदहरू हाजिर गरेर टाप कस्ने (भाग्ने) प्रवृत्तिलाई हाटा भनेर सम्बोधन गर्ने चलन छ ।

संसदीय समिति गठन भएपछि बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठक बस्यो ।

२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएपछि, २७ चैतमै संसदीय विषयगत समिति गठन भएका थिए । वैशाख ४ गते सबै समितिले सभापति पाए । नेतृत्व पाएपछि अन्य केही संसदीय समितिका बैठक बसेका थिए ।

कांग्रेसका भरतबहादुर खड्का सभापति चयन भएपछि सार्वजनिक लेखा समितिको बैठक भने मंगलबार पहिलो पटक बसेको हो । जहाँ केही सांसदहरू उपस्थित भएझैँ गरी बैठकमा केहीबेर बसेर हिँडे । केहीले आफ्ना कुरा राखे र अरू सांसद्का विचार सुन्ने धैर्य राखेनन् । केही ढिलो गरी पुगे ।

बिहान १० बजेका लागि तय भएको बैठक करिब २५ मिनेट ढिलो गरी सुरु भयो । समिति सभापति खड्काले समितिसम्बन्धी प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले लेखा समिति आगामी दिनमा के–कस्ता विषयमा के–कसरी अगाडि बढ्न सक्छ भनेर प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको बताए ।

त्यसपछि समितिका सचिव एकराम गिरीले सार्वजनिक लेखा समितिको महत्व र कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरे । सार्वजनिक लेखा, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरूको निगरानी गर्ने लगायतका समितिका क्षेत्राधिकारबारे ब्रिफिङ गरे ।

समिति सचिवको प्रस्तुतीकरण चलिरहँदा सांसदहरूको हाजिर पनि हुँदै थियो । सचिवको प्रस्तुतीकरण सकिएपछि सांसदहरू बाहिरिने क्रम पनि सुरु भयो । केही आफ्ना कुरा राखेर बाहिरिए भने केही यसै बाहिरिए ।

भौत्तिक पूर्वाधार मन्त्रालयमा छलफल रहेको, पार्टीको संसदीय दलको कार्यालयमा छलफल रहेको आदि कारण देखाएर सांसदहरूले सभापति खड्कासँग बिदा मागेका थिए ।

लेखा समितिको बैठक करिब सवा घण्टा चल्यो । हाजिरीअनुसार समिति बैठकमा २४ जना सांसद उपस्थित छन् । काठमाडौं बाहिर भएकाले नेपाली कांग्रेसका सांसद मोहन आचार्य अनुपस्थित रहे ।

तर, २४ जना सांसद उपस्थित रहेको समिति बैठकको अन्तिममा सभापति खड्काले सम्बोधन गर्दै गर्दा केवल ११ जना उपस्थित थिए ।

रास्वपाका सांसदहरू विपिनकुमार आचार्य, रमेशकुमार सापकोटा, नेपाली कांग्रेसका योगेश गौचन थकाली, नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही, नेकपा एमालेका गणेशसिंह ठगुन्ना, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राईलगायत ११ जना बैठकको अन्तिमसम्म बसे । बाँकी समिति बैठकबाट हिडिँसकेका थिए ।

सांसदहरू बाहिरिएपछि समिति बैठकमै एक सांसदले भने, ‘पहिलो बैठकमै यस्तो भएपछि बाँकी दिनमा के होला ?’

कतिपय सांसदहरूले लेखा समितिको बैठकलाई प्रभावकारी बनाउनु पर्नेमा उस्तै गरी जोड दिएरसमेत आफ्ना कुरा राखेका छन् । सांसदहरूले बैठकको सुरुवातमा हाजिर गर्ने र महत्वपूर्ण छलफल वा निर्णय प्रक्रियामा भाग नलिई निस्कने प्रवृत्तिलाई रोक्नु पर्नेमा जोड दिएका छन् ।

रास्वपा सांसद विपिन आचार्यले संसदीय समितिको पनि क्यालेन्डर बनाएर जाने प्रस्ताव राखे । ‘हतारमा नभएर आवश्यक परे लामो छलफल गर्ने गरी जाऔं,’ उनले भने ।

कति महिनामा कति काम गरियो भनेर पनि अभिलेखीकरण गर्ने उनको अर्को प्रस्ताव छ ।

श्रम संस्कृति पार्टीका सांसद निश्कल राईले लेखा समिति गम्भीर हुनुपर्ने तथ्यांकले नै देखाएको बताए । ‘७ खर्ब त पहिलेकै बेरुजु रहेछ । नयाँ पनि ख्याल गर्नुपर्ने हुन्छ,’ समितिको कामको गाम्भीर्यता दर्शाउँदै उनले भने ।

सांसद राईले पनि समितिको बैठकको प्रभावकारिताका लागि सांसदहरूले पर्याप्त समय दिने गरी अगाडि बढ्नु पर्नेमा जोड दिए ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले पनि लेखा समिति ‘एक्सन ओरिन्टेड’ भएर जानुपर्ने बताए । विगतमा जस्तो लेखा समिति प्रभावकारी भएन भनेर टिप्पणी नआउने गरी काम गर्नु पर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?