३० वैशाख, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चनुकाँडामा हावाहुरी र असिनापानीका कारण ठूलो भौतिक क्षति भएको छ । बुधबार राति साढे चलेको हावाहुरीसहितको असिनापानीले एक विद्यालय भवन र दर्जनौं घरमा क्षति पुर्याएको हो ।
हावाहुरीले स्थानीय चनुकाँडा आधारभूत विद्यालयका दुई वटा भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बमले जानकारी दिए । उनका अनुसार प्रशासनिक कक्ष रहेको र कम्प्युटर कक्ष रहेका भवनका छाना उडेका छन् ।
‘प्रशासनिक भवनको छाना उड्दा त्यहाँ रहेका विद्यालयका महत्वपूर्ण कागजातमा क्षति पुगेको छ । कैयौं किताब पनि नष्ट भएका छन्,’ अध्यक्ष बमले भने, ‘कम्प्युटर रुममा रहेका कम्प्युटर, प्रिन्टर, फर्निचर सबैमा क्षति पुगेको छ ।’
विद्यालयका छाना सयौं मिटर पर उडाएर लगेको उनले बताए ।
उनका अनुसार गाउँमा पनि कैयौं घरका छाना उडेको बताए । ‘टिनले छाएका छाना लगभग कोही पनि बाँकी छैनन् । खर र पत्थरले छाएर छाना पनि उडेका छन् । छाना उडेपछि आएको असिनापानीले वीभत्स क्षति पुगेको छ,’ उनले भने ।
अहिले राति भइसकेकाले कति क्षति भयो, भन्नेबारे यकिन विवरण आइनसकेको उनले बताए । ‘भौतिक क्षति ठूलै छ । धन्न मानवीय क्षति भने भएको छैन,’ अध्यक्ष बमले भने ।

प्रतिक्रिया 4