+
+
Shares

विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न बालअधिकारकर्मीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ११:५१

३१ वैशाख, काडमाडौँ । बालअधिकारकर्मीहरूले कानुनी रूपमा विवाहको उमेर २० वर्ष कायम राख्न जोड दिएका छन् । बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा प्रतिकूल असर पर्ने भन्दै विवाहको उमेर घटाएर १८ वर्ष बनाउने प्रस्ताव रोक्न माग गरेका हुन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आयोजना गरेको ‘बिहेवारी २० वर्ष पारी अभियान’ अन्तर्गत सञ्चारकर्मीको भूमिका’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले विवाहको उमेर २० बाट झार्न नहुने बताए ।

राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक तारक धितालले विवाहको उमेर घटाउँदा शैक्षिक, मानसिक, आर्थिक, सामाजिक तथा प्रजनन स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएको बताए । उनले चीन, दक्षिण कोरिया र भारत जस्ता देशहरूमा पनि विवाहको कानुनी उमेर २० वर्ष वा सोभन्दा माथि नै रहेको उदाहरण दिए ।

धितालले नेपाल सरकारले जारी गरेको बालविवाह अन्त्यसम्बन्धी रणनीति २०७२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघ, प्रदेश, स्थानीय सरकार, निजी क्षेत्र र सञ्चारकर्मी सबैले आ–आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपालको संविधानको धारा ३९ ले बालबालिकालाई बालविवाह गर्न बाध्य पार्न नहुने व्यवस्था गरेको छ भने मुलुकी अपराध संहिता २०७४ को दफा १७३ ले २० वर्ष नपुगी गरिने विवाहलाई दण्डनीय कसुर मानेको छ ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले कम उमेरमा विवाह गर्दा बालविवाह घट्ने भन्ने तर्क गलत भएको बताए । उनले कम उमेरमा विवाह गरेर सन्तान जन्मिँदा जन्ममृत्युदर बढ्ने जोखिम रहेको बताए । केटा र केटी दुवैको सहमतिमा भएको २० वर्षमुनि विवाहलाई मान्यता दिनुपर्छ भन्ने सोच पनि सही नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?