News Summary
Generated by OK AI. Editorially reviewed.- इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा हिरासतमा मृत फेला परेका श्रीकृष्ण विकको घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ।
- प्रतिवेदनमा इन्स्पेक्टर बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरिएको छ र भुजेललाई सरुवा गरिएको छ।
- श्रीकृष्ण विकलाई ७ वैशाखको साँझ हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो र चिकित्सकले मृत घोषणा गरेका थिए।
३१ वैशाख, काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विक घटना प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ ।
उक्त घटनाबारे छानबिन गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको थियो ।
उक्त समितिले बुझाएको प्रतिवेदन प्रहरी प्रधान कार्यालय गृह मन्त्रालयमा पनि पठाइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए । ‘प्रतिवेदन हामीले बुझेर गृह मन्त्रालयमा पठाइसकेका छौं,’ काफ्ले भने ।
स्रोतका अनुसार, प्रतिवेदनमा इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर बसन्त भुजेल र तत्कालीन बेलामा हिरासतको ड्यूटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरिएको छ ।
सिफारिस अनुसार इन्सपेक्टर भुजेललाई खुर्कोटबाट सरुवा गरेर बागमती प्रदेश कार्यालय पठाइएको पनि प्रहरीले स्रोतले जानकारी दिएको छ । खुर्कोटमा भने जिल्ला प्रहरी कार्यालयबाट अर्का एक जना इन्सपेक्टरलाई ड्यूटीमा खटाइएको छ ।
त्यस्तै, खुर्कोटमा कार्यरत अन्य १० जना प्रहरीलाई भने ध्यानाकर्षण र सचेत गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ ।
हिरासतमै रहेको अवस्थामा मृत भेटिएका विकको घटना शंकास्पद देखिएपछि प्रहरीले समिति बनाएर थप अनुसन्धान अघि बढाएको थियो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ११ वैशाखमा छानबिन समिति गठन गरेका थिए ।
आचार्यको संयोजकत्वमा यूएन शाखाका एसपी रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र सोही कार्यालयका सई राजेश्वर देवकोटा सदस्य राखिएको थियो ।
७ वैशाखको साँझ हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका विकलाई उद्धार गरेर सिन्धली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, खिमा विश्वकर्मा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश विक लगायत जिल्ला प्रशासन कार्यालय सिन्धुली पुगेर धर्ना दिँदै छानबिनको माग पनि गरेका थिए ।
विकको भिसेरा परीक्षणदेखि ‘होल बडी’को पोस्टमार्टम गर्ने काम समेत सकाएर समितिले प्रतिवेदन तयार पारेको हो ।
के हो घटना ?
मृतक श्रीकृष्ण विक र खोटाङ घर भएकी एक किशोरीबीच करिब २ वर्षदेखि प्रेम सम्बन्ध थियो । २८ चैतदेखि ती किशोरी बेपत्ता भएको भन्दै उनको परिवारले प्रहरी वृत्त सातदोबाटोमा ३० चैतमा खोजतलास गरी पाउँ भन्दै निवेदन दिएका थिए ।
प्रहरीका अनुसार ३ वैशाखको दिउँसो बेपत्ता भनिएकी किशोरी र श्रीकृष्ण विक आफन्तहरूसहित प्रहरी वृत्त सातदोबोटा पुगेका थिए । त्यतिबेला भने किशोरीका आफन्तले बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी ल्याएका थिए ।
घटनास्थलबारे सोधपुछ गर्दा सिन्धुली रहेको र केटीको उमेर पनि १६ वर्षको मात्रै भएपछि ४ वैशाखमा सिन्धुली पठाइएको प्रहरीले बताएको छ । ४ वैशाखमा श्रीकृष्णलाई इलाका प्रहरी कार्यालय खुर्कोट पुर्याइएको थियो ।
यता घटनाबारे आवाज उठाउँदै आएका रास्वपा सांसद खगेन्द्र सुनार भने केटीलाई झुक्याएर बलात्कारको जाहेरीमा हस्ताक्षर गर्न आफन्तले लगाएको बताउँदै आएका छन् ।
खुर्कोट लगेपछि प्रहरीले बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा ७ वैशाखको साँझ ६ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4