News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनमा भाग लिए–नलिएको आधारमा कसैलाई पार्टीमा काखा–पाखा नगरिने बताएका छन्।
- थापाले पार्टी मिलाउने, जोगाउने र अगाडि बढाएर अधिवेशन गराउने जिम्मेवारी आफूमा रहेको र सबैको साथ–सहयोग रहने बताए।
- उनले असन्तुष्ट शीर्ष नेताहरूको योगदानको अवमूल्यन गर्ने हैसियत आफूमा नरहेको र जिम्मेवारी अस्थायी भएको पनि उल्लेख गरे।
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनमा भाग लिए–नलिएको आधारमा कसैलाई पनि पार्टीमा काखा–पाखा नगरिने बताएका छन् ।
कास्कीको पोखरामा बिहीबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन गर्दै उनले सभापतिको हैसियतले विशेषमा सहभागी नभए–नभएको आँखाबाट कसैलाई पनि हेर्ने गल्ती नगर्ने बताएका हुन् ।
‘विशेष अधिवेशन एउटा चरणमा आयो, प्रक्रियामा आयो, सकियो त्यो,’ थापाले भने, ‘को विशेष अधिवेशनमा आएको थियो, को आएको थिएन । कसले भाग लिएको थियो, कसले भाग लिएको थिएन भन्ने आधारमा मैले एज अ पार्टी सभापति त्यो आँखाबाट कसैलाई हेरे भने त्योभन्दा ठूलो गल्ती केही पनि हुँदैन । त्यो गल्ती मैले गर्दिनँ ।’
सभापति थापाले पार्टी मिलाउने, जोगाउने र अगाडि बढाएर अधिवेशन गराउने जिम्मेवारी आफ्नो रहेको र त्यसका लागि सबैको साथ–सहयोग रहने बताए ।
‘म आज एउटा जिम्मेवारीमा छुु । त्यो जिम्मेवारीबाट मैले पार्टी मिलाउनु पनि छ, पार्टी जोगाउनु पनि छ,’ उनले भने, ‘पार्टी अगाडि बढाउनु पनि छ । अधिवेशन गराउनु पनि छ । यो कुरामा यहाँहरू सबैको साथ सहयोग रहन्छ ।’
सभापति थापाले पार्टी मिलाउँदै तीब्र गतिमा अगाडि बढ्दै जाने पनि बताए । ‘म पार्टी पनि मिलाउँदै जाने हो, म स्पिडमा अगाडि पनि बढ्दै जाने हो,’ उनले भने, ‘मिलाउँदै पनि जाने हो, अगाडि बढ्दै पनि जाने हो ।’
थापाले असन्तुष्ट शीर्ष नेताहरू प्रति ईंगित गर्दै उनीहरूको अवमूल्यन गर्ने हैसियत आफूले नराख्ने पनि बताए ।
‘जो नेताहरूलाई मिलाउनु पर्छ भनिराख्नुभएको छ, मेरो उमेरभन्दा बढी त उहाँहरूले यो पार्टीमा योगदान गरिसक्नुभएको छ,’ उनले भने, ‘योगदानको अवमूल्यन गर्ने हैसियत मैले राख्छु ? राख्दिँन नि । यो त अस्थायी जिम्मेवारी न हो ।’
प्रतिक्रिया 4