+
+
Shares

धरपकडले व्यावसायिक वातावरणमा त्रास सिर्जना भयो : उद्योग वाणिज्य महासंघ

‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र/बैंकिङ क्षेत्रका नेतृत्वदायी उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी कसुरको शैलीमा धरपकड गरिने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भई लगानीकर्ता र व्यवसायिक जगतमा नकारात्मक सन्देश प्रवाह गरेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते २२:४१

३१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायीमाथि भएका धरपकडका घटनाले व्यावसायिक वातावरणमा त्रास सिर्जना भएको टिप्पणी गरेको छ । बिहीबार महासंघले ध्यानाकर्षण पत्र जारी गर्दै आर्थिक मुद्दाको अनुसन्धानका नाममा भइरहेका धरपकडका घटनाले लगानीकर्तामाझ नकारात्मक सन्देश गएको बताएको छ ।

‘पछिल्ला केही दिनयता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायी, निर्माण व्यवसायी र बैंकरहरूलाई पक्राउ गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र/बैंकिङ क्षेत्रका नेतृत्वदायी उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी कसुरको शैलीमा धरपकड गरिने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भई लगानीकर्ता र व्यवसायिक जगतमा नकारात्मक सन्देश प्रवाह गरेको छ ।’

त्यसका साथै आम सर्वसाधारणको निक्षेप संकलन गरेर जनविश्वासमा आधारित बैंकको कर्जा असुली गरेको कारणबाट बैंकका कार्यकारी अधिकृत  पक्राउले बैंकिङ्ग क्षेत्रको साखमा नै असर पर्न सक्ने महासंघको चिन्ता छ ।

‘यसका साथै बैंकिङ्ग क्षेत्रबाट कर्जा प्रवाह सम्बन्धि गरिने निर्णय क्षमतामा पनि प्रभाव पर्ने तथा लगानी संकुचन हुन गई देशको समग्र आर्थिक प्रणालीमा समेत नकारात्मक असर पर्न जाने देखिन्छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।

सरकारले प्रारम्भिक अनुसन्धान गर्नु अगावै उद्योगी व्यवसायीलाई पक्राउ गर्ने, मिडिया ट्रायल गर्ने जस्ता कार्य गर्दा सम्बन्धित व्यवसायीहरूको मान प्रतिष्ठामा समेत आँच पुगिरहेको महासंघले भनेको छ । ‘यस्ता अनुसान्धान गोप्य रूपमा गर्न र उद्योगी व्यवसायीमाथि देवानी दायित्व सिर्जना हुने मुद्दाको छानविन, अभियोजन सोही अनुरूप गर्न महासंघ आग्रह गर्दछ,’ पत्रमा अगाडि भनिएको छ ।

नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था पनि पत्रमार्फत् स्मरण गराउँदै सरकारलाई गम्भीर हुन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?