News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले डिजिटल माध्यम र मेला-महोत्सवमा बढ्दै गएको अश्लीलता तथा सामाजिक विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
- प्रतिष्ठानले नेपाल सरकार र गृह मन्त्रालयलाई यस्ता सामग्रीमाथि कानुनी निगरानी र कारबाही गर्न आग्रह गरेको छ।
- कलाकार प्रकाश अधिकारी र कोपिलले प्रतिष्ठानसँग शुक्रबार माफी मागेका छन् भने गायक शिव हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले डिजिटल माध्यम, दोहोरी साँझ र सार्वजनिक मेला-महोत्सवमा बढ्दै गएको अश्लीलता तथा सामाजिक विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै लोक तथा दोहोरी गीतको मौलिकता, सामाजिक मर्यादा र सांस्कृतिक मूल्यमा आघात पुग्ने गतिविधि बढ्दै गएको जनाएको हो ।
प्रतिष्ठानले पछिल्लो समय डिजिटल प्लेटफर्ममा लाइभ दोहोरी, दोहोरी साँझ र विभिन्न मेला-महोत्सवका नाममा अश्लील संवाद, अपशब्द र पारिवारिक मर्यादाविपरीतका गतिविधि बढेको उल्लेख गरेको छ । केवल भ्युज र सस्तो लोकप्रियताका लागि प्रस्तुत गरिने यस्ता सामग्रीले लोक संगीत क्षेत्र बदनाम हुने जोखिम बढाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानले नेपाल सरकार र गृह मन्त्रालयलाई विशेष आग्रह गर्दै यस्ता सामग्री तथा प्रस्तुतिमाथि कानुनी दायराभित्र रही निगरानी र कारबाही गर्न माग गरेको छ । विद्युतीय कारोबार ऐन र सार्वजनिक शिष्टाचारसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने प्रतिष्ठानको भनाइ छ ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि मौलिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि स्पष्ट आचारसंहिता र अनुगमन संयन्त्र निर्माण गर्न आग्रह गरिएको छ । मेला-महोत्सव आयोजक र दोहोरी साँझ सञ्चालकलाई कलाकारको प्रस्तुति र विषयवस्तुको गरिमामाथि गम्भीर बन्न पनि प्रतिष्ठानले अपिल गरेको छ ।
प्रतिष्ठानले विकृति फैलाउने स्रष्टा, कलाकार, युट्युब च्यानल सञ्चालक, रेकर्डिङ स्टुडियो, दोहोरी साँझ सञ्चालक र महोत्सव आयोजकमाथि प्रशासनिक कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ । साथै, प्रतिष्ठानसँग आबद्ध कलाकार र स्रष्टालाई पनि सिर्जना तथा प्रस्तुतीकरणमा शालीनता र सभ्य भाषाको प्रयोग गर्न निर्देशन दिएको छ ।
महासचिव शिव हमाल र अध्यक्ष रीता थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा मौलिक लोक संस्कृतिको संरक्षणका लागि सञ्चारकर्मी, नागरिक समाज र आमदर्शकलाई पनि सकारात्मक सहयोग गर्न आग्रह गरिएको छ ।
यस क्रममा, कलाकारद्धय प्रकाश अधिकारी र कोपिलले शुक्रबार प्रतिष्ठानसँग माफी मागेका छन् । गायक शिव हमालले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।
प्रतिक्रिया 4