२ जेठ, काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सीको ‘मार्क्स एक्सप्रेस’ मिसनले मङ्गल ग्रहको भूमध्यरेखा नजिकै रहेको एउटा विशाल उपत्यकाको तस्बिर सार्वजनिक गरेको छ यस तस्वीरले रातो ग्रहको जलीय र ज्वालामुखी इतिहासबारे महत्त्वपूर्ण खुलासा गरेको छ ।
करिब १,३०० किलोमिटर लामो ‘शालबाताना भालिस’ नामक यो उपत्यकाले अर्बौँ वर्ष पहिले मङ्गल ग्रहमा विशाल बाढी र महासागर रहेको हुन सक्ने बलियो आधार प्रस्तुत गरेको वैज्ञानिकहरूको दाबी छ ।
वैज्ञानिकहरूका अनुसार करिब ३.५ अर्ब वर्ष पहिले जमिनमुनिको पानी अचानक सतहमा निस्किएपछि आएको भीषण बाढीले यो उपत्यका बनाएको हो। यस उपत्यकाको चौडाइ करिब १० किलोमिटर र गहिराइ ५०० मिटरभन्दा बढी छ ।
यस क्षेत्रमा देखिएका गहिरा खोँच र बग्दै गरेको पानीले बनाएका जस्ता घुमाउरो आकृतिहरूले मङ्गल ग्रह कुनै समय अहिलेको तुलनामा धेरै न्यानो र ओसिलो रहेको सङ्केत गर्छन् ।
अन्तरिक्ष यानले खिचेको नयाँ तस्बिरमा ‘केओटिक टेरेन’ भनिने भू–बनोट देखिएको छ । जमिनमुनिको बरफ पग्लिएपछि माथिको सतह भासिएर यस्तो आकृति बनेको विश्वास गरिन्छ। उपत्यकाको केही भागमा कालो र नीलो रङका टाटाहरू देखिएका छन्, जुन ज्वालामुखीको खरानी भएको र पछि मङ्गल ग्रहको हावाले त्यहाँ जम्मा गरेको वैज्ञानिकहरूको भनाइ छ।
यस क्षेत्रमा ज्वालामुखीका लाभा बगेर बनेका समथर मैदान र पुराना क्रेटरहरूसमेत स्पष्ट देखिन्छन् ।
शालबाताना भालिस उपत्यका अन्त्य हुने ‘क्राइसे प्लानिटिया’ नामक क्षेत्र मङ्गल ग्रहको सबैभन्दा तल्लो भूभागमध्ये एक हो। धेरैजसो प्राचीन जलमार्गहरू यहीँ आएर टुङ्गिने हुनाले वैज्ञानिकहरूले यहाँ कुनै समय विशाल महासागर रहेको हुन सक्ने अनुमान गरेका छन् । यदि यो तथ्य प्रमाणित भएमा मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे चलिरहेको अनुसन्धानमा नयाँ आयाम थपिनेछ ।
सन् २००३ मा प्रक्षेपण गरिएको ‘मार्क्स एक्सप्रेस’ यानले विगत दुई दशकदेखि मङ्गल ग्रहको सतहलाई नजिकबाट नियाल्दै आएको छ। यस यानमा रहेको ‘हाई रेजोल्युसन स्टेरियो क्यामेरा’ ले उपलब्ध गराएको तथ्याङ्कले मङ्गल ग्रहको भौगर्भिक विकास बुझ्न विश्वका वैज्ञानिकहरूलाई ठूलो मद्दत गरिरहेको छ ।
प्रतिक्रिया 4