+
+
Shares

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री    

उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको बताए ।

रासस रासस
२०८३ जेठ ३ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले स्थानीय सरकार दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
  • खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा वैकल्पिक मार्ग खोज्नुपर्ने र साङ्ला खोला करिडोर विकास गर्न सुझाव दिएका छन्।

३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन् ।

टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव संकलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको बताए ।

‘अबको २०/२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,’ उनले भने ।

काठमाडौं क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताए ।

उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको बताए । टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो ।

मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताए ।

साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ ।

उनले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागु गर्नुपर्ने बताए ।

बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताइन् ।

सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुने बताइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?