यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ, गाईवस्तुमाथि एकदमै निर्मम कुटपिट भएको । सडकमा आएका ती गाईवस्तुलाई मान्छेको एउटा झुन्डले लखेट्दै कुटेको देखिन्छ । त्यसमध्ये एउटा सानो बाछोको खुट्टा भाँचिएको छ । तिनीहरू सकिनसकी भागिरहेका छन् । अर्को एक गोरु आफ्नो भीडबाट भाग्न खोज्छ । उसलाई त्यहाँ रहेका मान्छेहरुले लठ्ठीले यसरी चुट्छन्, मानौं त्यो कुनै निर्जीव वस्तु हो ।
उत्तेजित भई गाईवस्तु कुटेको रमिता हेर्नेहरूको पनि भीड नै देखिन्छ । केहीले मोबाइलमा भिडियो कैद गरिरहेका छन् । त्यस्तै सुरक्षाकर्मी पनि रमिता हेरिरहेका छन् । अवोध पशुप्राणीमाथिको भएको यो ज्यादतीलाई रोक्ने त्यहाँ कोही देखिँदैन ।
सामाजिक सञ्जालमा यो भिडियोलाई लिएर चर्को आलोचना भइरहेको छ । बुटवल नगरपालिकाका कर्मचारीको यस्तो कृत्यमाथि उनीहरूले ‘आपराधिक’ भनी टिप्पणी गरेका छन् ।
एउटा पशुलाई घेराबन्दी गरेर कुटेको भिडियो हेर्दा जोकोहीलाई निकै दु:खी बनाउँछ ।
यससँगै अर्को फोटो पनि भाइरल भएको छ, जहाँ उपमहानगरका प्रमुख खेलराज पाण्डेय स्वयं लठ्ठी बोकेर गाईवस्तु लखेट्न निस्किएको भनी उल्लेख गरिएको छ ।
एक भिडियोमा उनले गाईगोरु लखेट्ने अभियान नै चलाएको बताएका छन् । सबै स्थानीयलाई समेत उनले बिहान ७ बजेबाट गाइवस्तु लखेट्न आह्वान गरेका छन् । आगमी ७ गतेसम्म यो अभियान निरन्तर चलिरहने उनको भनाइ छ ।
बेवारिसे गाईवस्तुका कारण सडक आवगमनमा अवरोध पुगे पनि यसको व्यस्थापन पशुहरूलाई कुटेर नहुने धेरैको तर्क छ । उपभोग गर्न अयोग्य भएपछि सडकमा छाडिएका ती पशुहरूलाई सही व्यवस्थापन गर्न र क्रूर व्यवहार नगर्न सुझाव दिइएको छ ।
प्रतिक्रिया 4