३ जेठ काठमाडौं । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान गरेकी छन् ।
कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फ्रान्स जान लागेको काठमाडौं महानगरले जनाएको छ । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उनी ८ गते स्वदेश फर्कनेछिन् ।
कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट विसं २०८० कात्तिक १४ गते काठमाडौं चलचित्र सहर सञ्जालको सदस्यका रूपमा चयन भएको थियो ।
कान्स फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ’, कान्सका मेयरले डंगोललाई पठाएको निमन्त्रणापत्रमा भनिएको छ ।
भ्रमणकै क्रममा डंगोलले कान्सका मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने बताइएको छ ।
यस वर्ष कान्स फिल्म फेस्टिभलमा नेपालबाट अविनाशविक्रम शाहको इलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुनेछ ।
रचनात्मक विश्व सहर सञ्जालमा एक सय भन्दा बढी देशका चार सय बढी सहर आवद्ध छन् ।
प्रतिक्रिया 4