+
+
Shares

मानव तस्करमा संलग्न गिरोहमाथि तत्काल कारबाही होस् : सांसद ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले मानव तस्कर गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।
  • उनले कुवेत लगायत मुलुकहरूमा नेपाली महिलाहरूलाई १० देखि १२ लाखमा बेच्ने मानव तस्करहरूको गतिविधि भएको उल्लेख गरिन्।
  • ओलीले सरकारले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा प्रतिबन्ध लगाएको भए पनि तस्करहरूले वैकल्पिक मार्गबाट महिलाहरूलाई विदेश पठाइरहेको बताइन्।

४ जेठ, काठमाडौं । प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरूमा नेपाली मानव तस्करहरूले १० देखि १२ लाखमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेकी हुन् ।

‘शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस् । म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराउन चाहन्छु । यो एउटा प्रतिनिधि घटना मात्रै हो सभामुख महोदय । यस्ता अरु हजारौं घटनाहरू छन् । यी सब घटनालाई केलाउन हामी सन् २०१७ मा जानुपर्ने हुन्छ,’ सांसद ओलीले भनिन्, ‘नेपाल सरकारले सन २०१७ देखि नेपाली नागरिक विशेषगरी नेपाली महिलाहरूलाई घरेल काममा विदेश जान प्रतिबन्ध लगाएको थियो । सरकारको तर्क थियो– शोषणबाट उनीहरूलाई सुरक्षा दिनु । के यो प्रतिबन्धले साँच्चै महिलाहरूलाई सुरक्षित बनायो त ? प्रतिबन्धले घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन ।’

प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदारहरूलाई पठाउने कुरा प्रतिबन्ध लगाएपनि मानव तस्करहरूले विभिन्न बाटो प्रयोग गरेर ती देशहरूमा पठाउने गरेको उल्लेख गर्दै त्यसमा निगरानी राख्न पनि सरकारलाई सचेत गराइन् ।

‘हाम्रा महिलाहरूलाई खाडीसम्म पुर्‍याउन एजेण्डहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गर्दैछन । कहिले भारत हुँदै उनीहरूलाई बोर्डर क्रम गराइन्छ, कहिले तान्जानियालगायतका अफ्रिकी मुलुकहरूमा ट्रान्जिट गराइन्छ,’ उनले भनिन्, ‘एजेण्ट जतातिर पनि नेपाली नै छन्। त्यसैले यी मानव बेचविखनमा संलग्न एजेण्टहरू ध्वस्त हुन जरुरी छ । अहिले तस्करहरूले कुवेतमा १० देखि १२ लाखमा नेपाली महिलाहरू बेच्ने काम गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?