४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएको बताएका छन् ।
काभ्रेको धुलिखेलमा सोमबार देखि सुरू भएको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्बोधन गर्दै उनले कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको बताए ।
‘कांग्रेस देशको मुख्य राजनीतिक शक्ति हो । हामी सबैभन्दा जिम्मेवार शक्ति हौं,’ उनले भने, ‘हामीले त्यसरी सोच्नु पर्छ ।’
सभापति थापाले कांग्रेससँग प्रतिक्रिया दिएर भाग्ने सुविधान नभएको पनि बताए । अरू कसैले सम्हाली दिन्छ भनेर ढुक्क भएर सुत्ने सुविधा पनि कांग्रेससँग नभएको उनको भनाइ थियो ।
‘हामीसँग प्रतिक्रिया दिएर भाग्ने सुविधा छैन,’ सभापति थापाले भने, ‘वा अरू कसैले सम्हाली दिन्छ भनेर ढुक्क भएर सुत्ने सुविधा पनि हामीसँग छैन ।’
सभापति थापाले देश संविधानभन्दा दायाँ–बायाँ जाँदा कांग्रेसले सम्हाल्नु पर्नेमा जोड दिए । ‘संविधानभन्दा दायाँ–बायाँ देश जान हुन्न,’ उनले भने, ‘यसलाई सम्हाल्नु पर्छ हामीले ।
संविधानको ‘ट्रयाक’भन्दा दायाँ–बायाँ बरालिँदै सरकारलाई समातेर ट्रयाक राख्ने काम कांग्रेसको भएको सभापति थापाको भनाइ थियो ।
‘सरकार कहिलेकाँही संख्याको आधारमा बरालिने सम्भावना रहन्छ,’ उनले भने, ‘संविधानको ट्रयाकभन्दा दायाँ–बायाँ सरकार बरालिँदै गर्दा च्याप्प समातेर ट्रयाक राख्ने काम हाम्रो हो ।
प्रतिक्रिया 4