News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतका कर्मचारीहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको लिखित आदेशका बाबजुद रिट निवेदन दर्ता गर्न नसकिने प्रतिक्रिया दिएका छन्।
- मुख्य रजिष्ट्रार विमान पौडेल असन्तुष्ट भएकाले रिट निवेदन दर्ता प्रक्रिया रोकिएको र नेतृत्व परिवर्तनपछि मात्र प्रक्रिया अघि बढ्ने सम्भावना छ।
- कर्मचारीहरूले नेतृत्वप्रति बढी बफादार हुने र असन्तुष्ट न्यायाधीशहरूले अस्वभाविक आदेश दिन सक्ने आशंकाका कारण दर्तामा ढिलाइ भएको बताएका छन्।
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतको मुद्दा महाशाखाका कर्मचारीहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको लिखित आदेशका बाबजुद केही रिट निवेदनहरू दर्ता गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।
प्रधानन्यायाधीश विरुद्धकै रिट निवेदनहरू दर्ता गर्न विगतमा पनि कठिनाइ हुने गरेको स्मरण गर्दै उनीहरूले अहिले पनि भावी प्रधानन्यायाधीश विरुद्धको निवेदनमा नेतृत्वले बलजफ्ती गरेर नतिजा ननिस्कने व्यंग्य गरे ।
‘कामु प्रधानन्यायाधीशज्यूले रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश नै दिनुभयो, तर मुख्य रजिष्ट्रारज्यूले स्पष्ट भाषामा त्यो सम्भव छैन भन्ने संकेत गरिसक्नुभएको छ’ नाम गोप्य राख्न आग्रह गर्दै सर्वोच्च अदालतका एक उच्चपदस्थ कर्मचारीले भने, ‘अब दुई दिनको कुरा हो, जे गर्नुपर्ने हो, त्यसपछि गरे भइगयो नी ।’
रिट निवेदन दर्ता गर्न अस्वीकार गरेका कर्मचारीहरूका अनुसार, मनोवैज्ञानिक रुपमा पनि कर्मचारीहरू बहालवालाको तुलनामा हुनेवाला नेतृत्वप्रति ज्यादा बफादार र कृतज्ञ हुन्छन् ।
त्यसमाथि पनि कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग मुख्य रजिष्ट्रार विमान पौडेल असन्तुष्ट भएकाले पनि प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्धको निवेदन अघि बढ्न नसकेको हो ।
रोलक्रम मिचिएको र बरिष्ठताक्रमको परम्परा तोडिएको भन्दै असन्तुष्ट न्यायाधीशहरूले ती रिट निवेदनमा केही अस्वभाविक आदेश गर्नसक्ने आशंकाका साथ दर्तामा ढिलाइ भएको हो । कर्मचारीहरू अहिले पनि संसदीय सुनुवाइ प्रक्रियालाई नजिकबाट नियालिरहेका छन् ।
‘सम्भवत: दुई दिनमा ती रिट निवेदनहरूमाथि दरपीठ (दर्ता गर्न अस्वीकार हुने) आदेश होलान्,’ सर्वोच्चका अर्का कर्मचारीले भने, ‘त्यसपछिको प्रक्रिया अघि बढ्दा नयाँ प्रधानन्यायाधीश आइसक्छन् । त्यसपछिको बाँकी प्रक्रिया उनले नै अघि बढाउलान् ।’
प्रतिक्रिया 4