+
+
Shares

नेपाल बारलाई रास्वपा सांसद न्यौपानेको सुझाव– लाल्टिनलाई राजनीति गर्ने औजार नबनाऔं  

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते ८:३१

५ जेठ, काठमाडौं । कानुन व्यवसायीहरुले आज लालटिन बालेर गर्न लागेको प्रदर्शनको रास्वपा सांसद यज्ञमणि न्यौपानेले विरोध जनाएका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले गर्न लागेको प्रदर्शनको विरोध गर्दै न्यौपानेले लाल्टिनलाई राजनीति गर्ने औजार नबनाउन आग्रह गरेका छन् ।

कानुन पृष्ठभूमिबाट राजनीतिमा आएका न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘समाजमा आगो लाग्दा इनार खोज्न ननिस्किने, घर जलिसकेपछि धुवाँ देखेर बाल्टिन बोकेर हिरो बन्न निस्किने शैली पनि कस्तो शैली हो !’

उनले थप लेखेका छन्, ‘न्यायको पहरेदार भन्ने, तर अन्यायको चिच्याहट सुन्नेबित्तिकै मोबाइल साइलेन्टमा राख्ने । अनि आज एकाएक लाल्टिन बोक्दै क्रान्तिको अभिनय !’

अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बालेर प्रदर्शन गर्ने निर्णय नेपाल बार एसोसिएसनको आइतबारको बैठकले गरेको थियो । सो निर्णय अनुसार आज दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिन प्रदर्शन गरिँदै छ ।

त्यसको विरोधमा सांसद न्यौपानेले लेखेका छन्– नवोदित कानुन व्यवसायीका पीडा देख्दा आँखा चिम्लिने बार, गरिब असहायले न्याय नपाउँदा कानमा तेल हालेर बस्ने बार, न्याय सम्पादनमा विचलन आउँदा मौन व्रत बस्ने बार, विवादास्पद फैसला आउँदा जिब्रो टोक्ने बार, भ्रष्टाचारका मुद्दा तामेलीमा जाँदा निद्रामा पर्ने बार, राजनीतिक कोटामा न्यायाधीश भर्ती हुँदा “सबै ठीक छ” भन्ने बार, कर्मचारीले राजनीति गर्दा चुप लाग्ने बार, भनसुन र पहुँचका भरमा फैसला भएको गाइँगुइँ चल्दा घाँटी सफा नगर्ने बार, गरिब वकिलको स्वास्थ्य बीमाको कुरा उठ्दा बाटो बदल्ने बार, आज अचानक लाल्टिन बोकेर न्याय बचाउन निस्कने रे !

उनले नेपाल बारलाई सुझाव दिँदै लेखेका छन्, ‘लाल्टिन बाल्नै मन छ भने गरिबले न्याय नपाएको मुद्दामा बाल्नुस् । ढिलो न्याय भएर मानिसको जीवन सकिएको ठाउँमा बाल्नुस् ।’

‘गलत फैसला भएर परिवार उजाडिएको ठाउँमा बाल्नुस् । गलत निर्णय गर्नेको जिम्मेवारी नतोकिएको ठाउँमा बाल्नुस् । न्याय खोज्दा नागरिकका जुत्ता च्यातिने अनि पहुँचवालाको फाइल लिफ्ट चढेर माथि पुग्ने प्रणालीमा बाल्नुस्,’ न्यौपानेको थप सुझाव छ ।

उनले लेखेका छन्, ‘न्यायपालिकालाई सुधार गर्नुपर्छ भने पुनर्संरचनाको कुरा गरौं, संस्थागत परिवर्तनको कुरा गरौं, नागरिकले छिटो र सुलभ न्याय पाउने व्यवस्था खोजौं । तर लाल्टिनलाई पनि राजनीति गर्ने औजार नबनाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?