News Summary
Generated by OK AI. Editorially reviewed.- डिम्बाशय क्यान्सर पत्ता लागेपछि २०८२ साउनमा एम्स दिल्लीमा अप्रेशन भएको र हाल नेपालका दुई अस्पतालमा उपचार भइरहेको छ।
- नेपालमा प्रत्येक वर्ष करिब २२ हजार नयाँ क्यान्सर बिरामी थपिन्छन् र मृत्यु दर १४ हजारभन्दा बढी छ।
- नेपालमा क्यान्सर उपचार खर्च धेरै महँगो छ र राज्यबाट दिइने सुविधा न्यून तथा अपुग छ, जसले बिरामीलाई आर्थिक र मानसिक तनावमा पार्छ।
आफ्नै कथा
२०८१ माघ महिनामा मेरो डिम्बाशय (ओभरी) मा क्यान्सर देखियो । यसबीच मेरो दैनिकी घर र अस्पतालमा सीमित छ । झण्डै तीनदशक बढी राजनीति र सामाजिक कार्यमा सक्रिय मेरो जीवन आशा, निराशा, अन्योल र दृढता बीच बितिरहेको छ ।
आधाजसो समय सामाजिक सञ्जालमा क्यान्सर रोग सम्बन्धी आउने ज्ञान, सूचना हेर्दै बित्छ । बाँकी समय रुचिका साहित्य, राजनीतिक अध्ययन र आफ्नै स्वास्थ्यकेन्द्रित रुटिन व्यवस्थापनमा सकिन्छ ।
पाटन अस्पतालको रगत र सिटी स्क्यानको रिपोर्टले मलाई क्यान्सर भएको पुष्टि गर्यो । सिटी स्क्यानको समय पाउन, रिपोर्ट हात लाग्न नै दश–पन्ध दिन जति लागेको थियो ।
क्यान्सर भयो, फैलिएको छ र पÞmैलिने दर उच्च छ भन्ने भएपछि म शुरुमा त छाँगाबाट खसे झंै भएँ । तर केही दिनपछि मैले आफूलाई सम्हालें । आत्तिएर हँुदैनथ्यो । रोग त लागिनै सकेको थियो । उपचारमा जाने हो, सकेको कोशिश गर्ने हो । र जे–जे आइलाग्छ फेस गर्ने हो भन्नेमा म दृढ भएँ ।
म सकेसम्म नेपालमै उपचार गर्नुपर्छ भन्नेमा थिएँ । हाम्रो विदेशको उपचार भनेको भारत नै हो । त्यो पनि आफ्नो लागि अपरिचित र खर्चिलो नै थियो । आफूसँग पर्याप्त बजेटको अभाव त छँदैथियो । तर श्रीमान्को जोडबलमा रोगको अवस्था पत्ता लागेको २० दिन जतिमा दिल्लीको रोहिणीस्थित राजीव गान्धी क्यान्सर अस्पताल गइयो । बायोप्सी र सिटी स्क्यान गरेपछि थाहा लाग्यो क्यान्सर तेस्रो स्टेजमा छ ।
एक हप्तामै झण्डै डेढ लाख बढी खर्च भयो । डाक्टरसँगको सल्लाहमा उपचार खर्च शुरुमा मोटामोटी पन्ध्र–बीस लाख लाग्ने त्यसपछिको फलोअप र अन्य खर्च गरी तीसदेखि पचास लाखको खर्च आउने स्वाभाविक थियो । आफ्नो क्षमताभन्दा तेब्बर, चौब्बर खर्चिलो हुनेभएपछि अर्को विकल्पबारे सोच्न बाध्य भयौं ।
केही समय आयुर्वेदतिर पनि कोशिश गरियो । तर त्यताबाट सफलता हात लागेन । र अन्त्यमा निकै जोडबल, झण्डै एक–डेढ महिनाको प्रतीक्षा, आफन्तजनको भगीरथ प्रयासपछि भारतको दिल्लीस्थित सरकारी अस्पताल एम्समा इन्ट्री पाइयो ।
एम्स अस्पतालमा २०८२ साउन महिनामा अप्रेशन भयो । त्यसयता केमोको शृंखला र औषधि चलिरहेको छ । हाल सिभिल अस्पतालमा गाइनो अंकोलोजिष्ट डा. प्रोफेसर जितेन्द्र परियार र पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा.अरुण शाहीको रेखदेखमा मेरो उपचार प्रक्रिया सहज रूपमा अघि बढिरहेको छ ।
क्यान्सर रोगका कारण मेरो रोगको आयु कति छ भन्न सक्ने अवस्था छैन । मेरो र परिवारको तर्फबाट क्यान्सरलाई जित्न सम्पूर्ण रूपमा प्रयास जारी छ । त्यसैगरी शुरुदेखि हालसम्म मेरा सहृदयीहरूको तर्फबाट आर्थिक, भौतिक सद्भाव, माया र साथ प्राप्त गरेकी छु त्यो कमै मात्र व्यक्तिलाई उपलब्ध हुन्छ ।
रोग लागेपछि व्यक्तिविशेष बिरामीका फरक–फरक अनुभूति हुनु स्वाभाविक हुन्छ । समाज र हाम्रो आफ्नै परिवेश अनुसार बिरामीप्रति हुने सरसहयोग, उपेक्षा र दुर्व्यवहारका कथा हुनु अन्यथा हैन । मैले बुझेको यथार्थ भनेको जो आफूप्रति साँच्चिकै सहयोगी छ, इमानदार छ उनीहरूको साथ र भरोसा लिएर अघि बढ्ने हो ।
क्यान्सरको फैलँदो त्रास
क्यान्सर रोग विश्वव्यापी रूपमा बढ्दो छ । तथ्यांकले भन्छ– सन् २०२२ मा विश्वभरिमा करिब २ करोड नयाँ क्यान्सर रोगका बिरामी दर्ज भए । औसत दर प्रति १ लाख मानिसमा १९०–२०० जनामा क्यान्सर देखिएको तथ्यले भन्छ ।
त्यसैगरी सन् २०२२ मा करिब ९७ लाख क्यान्सर रोगीको मृत्यु भएको देखिन्छ । तथांक अनुसार महिलामा हुने क्यान्सर मध्ये स्तन क्यान्सर सबैभन्दा बढी, फोक्सो, आन्द्रा, पाठेघरको मुख र डिम्बाशयमा हुने क्यान्सर बढ्दो छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको रिपोर्ट अनुसार भारतमा १४ लाख क्यान्सर रोगी भएको स्वास्थ्य विज्ञहरू बताउँछन् । तर कतिपय जानकारहरू यो तथ्यांक १० गुणा बढी हुनसक्ने बताउँछन् । भारतमा एक लाखमध्ये सय जनामा क्यान्सर देखिएको तथ्यांक पाइन्छ । एम्स अस्पतालमा एक वर्षमा एक लाख क्यान्सर बिरामीले उपचार सेवा लिने गरेको अस्पतालकै एक स्वास्थ्यकर्मी बताउँछन् ।
सन् २०५० सम्ममा ९१ प्रतिशतले क्यान्सर रोग वृद्धि हुने विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको छ, जसले क्यान्सरको डरलाग्दो भविष्य देखाउँछ । पछिल्लो समय विकसित देशहरू युरोप र नर्थ अमेरिकामा क्यान्सर रोग घट्दो क्रममा देखिन्छ । कम विकसित देशहरू एशिया र अफ्रिकामा यो स्तर बढ्दो छ । यस्तो हुनुमा पर्याप्त जनचेतनाको अभाव, ढिलो रोग पत्ता लाग्नु, स्वास्थ्य सेवामा पहुँच कम हुनु हो ।
नेपालमा प्रत्येक वर्ष २० देखि २२ हजार नयाँ क्यान्सर बिरामी थपिन्छन् । इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी⁾ का अनुसार सन् २०२२ मा नेपालमा २२ हजार ८ नयाँ क्यान्सर रोगीको संख्या थियो । तीमध्ये १४ हजार ७०४ को मृत्यु भएको देखिन्छ ।
नेपालको कुल मृत्युको १०–११ प्रतिशत क्यान्सरको कारणबाट हुने गरेको तथ्यांकले बताउँछ । पाटन अस्पतालका क्यान्सर डिपार्टमेन्टका मेडिकल अंकोलोष्टि डा.अरुण शाहीका अनुसार हाल नेपालमा करीब ५० हजारको हाराहारीमा क्यान्सर बिरामी भएको बताउँछन् ।
नेपालमा प्राय: बिरामी ३ वा ४ स्टेजमा पुगेपछि अस्पताल पुग्छन् । नेपालमा मूलत: फोक्सो, पाठेघरको मुख, स्तन, पेट र आन्द्रा, डिम्बाशयका क्यान्सरका बिरामी छन् ।
विश्वभरि नै क्यान्सर बढ्नुमा व्यक्तिको अस्वस्थ जीवनशैली, खानपान त जिम्मेवार छँदैछन्; त्यसबाहेक हाम्रो वरिपरि भएको प्रदूषित हावापानी, विषाक्त फलफूल र तरकारीको अत्यधिक सेवन, दूषित पानी र हानिकारक प्रशोधित खाद्य क्यान्सर बढ्नुका मुख्य कारण हुन् ।
नागरिकको स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने कुरामा एक जिम्मेवार राज्यको हैसियतले अनुगमन, मापदण्ड निर्माण गर्ने संयन्त्र निर्माण गर्दै नियन्त्रण गर्न सक्नुपर्छ । तर यस्ता कुरामा राज्यको अझैसम्म संवेदनशीलता देखिएको छैन ।
सँगसँगै स्वास्थ्य क्षेत्रमा हुने माफियातन्त्र, उपचारमा प्रयोग हुने औषधिमा मल्टीनेशनल कम्पनीको एकाधिकार, राज्यको नागरिकको स्वास्थ्यप्रतिको चरम उपेक्षा जिम्मेवार छ ।
व्यथा साट्न जाँदा थपिने व्यथा
सबै सरकारी अस्पताल र डाक्टरहरू खराब छैनन् । तर औसतमा सरकारी अस्पताल भनेको बिरामी थप मानसिक र शारीरिक तनाव झेल्न जाने हो । राज्यले गरेको लगानीमा करदाता बिरामी जसले जन्मने बित्तिकै जन्मदर्ताको रूपमा कर तिर्छ र मरेपछि पनि मृत्यु दर्ताको रूपमा कर तिरेर नागरिक भएको दायित्व निर्वाह गर्छ ।
आँकडा अनुसार एक नेपाली नागरिकले आफ्नो जीवनकालमा राज्यलाई नागरिकको रूपमा प्रत्यक्ष र अप्रत्यक्ष कर गरी ३० लाखदेखि एक करोड रुपैयाँ तिर्छ तर त्यसको दाँजोमा राज्यबाट प्राप्त गर्ने शिक्षा, स्वास्थ्यमा नगण्य मात्रै लाभ लिन सकेको अवस्था छ । नागरिकले सकेसम्म सरल र सहज रूपमा सेवा पाउनुपर्ने हो । तर राज्य अझैसम्म बिरामीमैत्री हुनसकेको छैन ।
आफ्नै अनुभूति– क्यान्सरको डरले आत्तिएकी मैले पाटनको सर्जरी ओपीडीका डाक्टरलाई “सिटीको रिपोर्ट आउन किन यति ढिलो भयो” भनेर गुनासो गर्दा डाक्टरको जवाफ थियो– “छिटो गर्न त मेडिसिटी जानुपर्छ ।” यस्तो सुन्नुपर्दा बिरामी निरास हुनु स्वाभाविक हुन्छ । जबकि आजभोलि प्रविधिले चार–पाँच घण्टामै पेट स्क्यानको रिपोर्ट उपलब्ध हुन सक्छ । तर हाम्रो सन्दर्भमा नेपालभरिकै एकाध सरकारी अस्पताल बाहेक पेट सिटीस्क्यान गर्ने व्यवस्था छैन । बिरामीले आवश्यक परेको बेला सहज रूपमा उपलब्ध नहुने पेट सिटी प्राइभेट अस्पतालमा गर्दा ७० हजारसम्म तिनुपर्छ । तर त्यही पेट स्क्यान सेवा भारतमा नेपाली १३ देखि १५ हजारसम्ममै उपलब्ध छ ।
विकसित देशको उपचार पद्धति, डाक्टर र नर्सहरूको बिरामीसितको व्यवहार मलाई थाहा हुने कुरा भएन । तर नेपाल र भारतको सरकारी अस्पतालमा स्वास्थ्यकर्मीहरूको बिरामीसँगको व्यवहारमा चिडचिडापनको मात्रा उस्तै अनुभूत गरें ।
बिरामीको मनोविज्ञान अनुसार क्यान्सरका बिरामीलाई डाक्टर र स्वास्थ्यकर्मीहरूको व्यवहार सरल र मायालु भए बिरामीको आधा पीडा कम हुन्छ । प्राय: आजकल चिकित्सक पनि पूरै प्राक्टिकल छन् समय खेर फाल्दैनन् । विगतमा जस्तो डाक्टर अलिक रोगले च्यापेका बिरामीको आफन्तलाई छुट्टै भेटेर बिरामी बारेका यथार्थ बताउने झन्झट गर्दैनन् । आजभोलि डाक्टर सिधै बिरामीलाई ‘तेरो बाँच्ने चान्स ५ प्रतिशत छ, वा यति महिना मात्रै बाँकी छ’ भन्दिन्छन् । जोसुकै बिरामीलाई “तेरो जिन्दगी अब केही दिन मात्रै छ” भनिन्छ भने उसको मनोदशा कस्तो होला ? क्यान्सर लागेका वा अन्य बिरामीलाई ‘तेरो मृत्यु नजिक छ’ भन्दा अलिक लामो बाँच्ने बिरामी छ भने पनि हतासले उसको आयु पक्कै केही छोट्टिन्छ ।
स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी मात्रै हैन हाम्रा वरिपरि क्यान्सर बिरामीको मनोबल घटाउन अनेकथरी कुरा गरेर हतोत्साही गर्नेहरू हुन्छन् । म आफू डिम्बाशय (ओभरियन) क्यान्सरबाट पीडित भएपछिको अनुभूतिले हामी पढेलेखेका, जानेबुझेका भन्नेहरूमा पनि रोगीसँग गर्ने व्यवहार, बोलीचालीमा देखिएको असंवेदनशीलता प्रशस्त देखिन्छ । अर्को बिरामीलाई अनावश्यक तनाव दिने समस्या भनेको बिरामीलाई नानाथरीका प्रश्नहरू सोधेर हैरान पार्ने । कहाँबाट शुरु भयोदेखि अन्त्यसम्म बेलिबिस्तार लगाइमाग्ने (आजभोलि हरेक रोगबारे जान्न चाहे गुगल र एआईले २ मिनेटमा भन्छ । त्यताबाट जानकारी लिन सकिन्छ) ।
अनि यो बीचमा बिरामीलाई (मलाई) हैरान पार्ने प्रश्न भनेको डाक्टरले के भनेको छ ? सन्चो हुन्छ भनेको छ ? पटक–पटकको प्रश्नले मेरा शुभचिन्तक भनाउँदालाई म मर्ने बिरामी नै हो त्यसैले बाँच्छ भन्ने नै लाग्दो रहेनछ । प्रश्न सोध्नेको आँखामा मेरो भनाइ प्रति अविश्वास देखिन्छ । मानौं क्यान्सर नलाग्नेहरू चाहिं अजम्मरी छन् । कतिसम्म भने एक जना गाउँले छिमेकीको गाइनो पढेको डाक्टर छोरीले भेटमा मलाई “डाक्टरले कति पर्सेन्ट चान्स भनेको छ” भनेर प्रश्न गरिन् ।
मलाई अचम्म लाग्यो । कस्तो मेडिकल डाक्टर पढेको होला ? कस्तो मनोविज्ञान होला ? कुनै मेडिकल डाक्टरलाई नै रोग लाग्दा तिम्रो कति पर्सेन्ट चान्स भनेर सोध्यो भने उसले के उत्तर देला ? सकिन्छ भने, वा बिरामीप्रति साँच्चै सदाशयता देखाउने हो भने सर्वप्रथम बिरामीको ठाउँमा आफूलाई राखेर सोचौं अनि के कसो गर्दा ठिक/बेठिक हुन्छ सोही अनुसार व्यवहार गरौं, हैन भने बिरामीलाई आफ्नै हालमा छोडिदिऊँ । कम्तीमा बिरामीले यस्ता गैरसंवेदनशील प्रश्नबाट हतोत्साहित त हुनुपर्दैन ।
गैरजिम्मेवार राज्य प्रणाली निरीह जनता
नेपालबाट भारत पुगेपछि एम्स अस्पतालमा प्रवेश पाउन विभिन्न माध्यम खोजियो । आफ्नो बुता अनुसार सबै च्यानल प्रयोग गरियो । नेपालमा एम्स अस्पतालसँगको पहुँच भएको स्रोतहरू धुर्इंपत्ताल खोज्न थालियो । महिनौं लामो कुराइपछि प्राप्त हुने अपोइन्मेन्टको त्रास हुन्थ्यो । भारतस्थित नेपाली राजदूतले भनसुन गर्दा हुन्छ भन्ने आयो । तत्कालीन समयमा भारतमा शंकरप्रसाद शर्मा राजदूत थिए ।
चीनका पूर्व राजदूत एवं साहित्यकार डा. महेश मास्के हुँदै राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार मार्फत भारतमा कार्यरत राजदूत शंकरप्रसाद शर्मासँग अनुरोध गरियो ।
अब चाँडो उपचार हुने आशामा भोलिपल्ट नै श्रीमान् प्रेमजी र साथी यशोदा भारतको बाह्रखम्बास्थित राजदूतावासमा निवेदन दिन गए । राजदूतसँग मैले फोनमा अनुरोध गरें । राजदूतले “हामीले धेरै गर्न सक्दैनौं, एउटा पत्रसम्म बनाइदिन सक्छौं । अरू त अस्पतालको आफ्नै प्रक्रिया अनुसार हुन्छ । मेरो पीएको नम्बर लिइराख्नुस् केही पर्यो भने सम्पर्क गर्नू” भनेर आगामी दिनमा धेरै सहयोग गर्न नसक्ने कुरा कूटनैतिक रूपमा व्यक्त गरे । भारतमा आफ्नो भन्ने औपचारिक रूपमा त्यही एउटा एम्बेसी थियो । र थिए केही आप्रवासी नेपालीहरू जसले मनैदेखि सकेको गरे ।
भारतस्थित एम्बेसीले एउटा सिफारिस लेटर लेखेर कानमा तेल हालेर बस्दो रहेछ । हुनत उनीहरूका लागि म कुनै गणनायोग्य व्यक्ति थिइनँ । मेरो ठाउँमा नेपालका सत्तासीन कुनै नेता भएको भए, वा कांग्रेसकै कुनै नेता भएका भए राजदूत स्वयं दूतावासकै स्रोत र सत्ता प्रयोग गरेर उपचारमा खट्थे होलान् । राजदूतका लागि दैनिक स्वदेशमा उपचार हुन नसकेका, पैसाको अभावमा भारत हानिने सयौं भुईं जनता आफ्नो साख्खै थिएनन् ।
म आफूलाई केही पहँुच भएकै व्यक्ति ठान्थें । तर आफूलाई अप्ठेरो परेपछि मात्रै थाहा भो मेरो हैसियत आम मान्छे भन्दा फरक रहेनछ ।
एम्समा सहज पहुँच नहुने कुरा निश्चित भएपछि अन्य स्रोतहरूको खोजबिन गर्नतिर लागियो । र आफन्तजन मार्फत एम्सकै अस्पतालमा अध्ययनरत नेपाली डाक्टर र अन्य कर्मचारी साथीहरूसँग सम्पर्क भयो जसको सहयोगमा एम्समा अपोइन्मेन्ट लिनदेखि उपचारको क्रममा पूर्ण रूपमा सघाए ।
सामाजिक सञ्जालको सहारा
आजभोलि आफ्ना कथा, व्यथा पोख्ने सजिलो माध्यम बनेको छ सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा क्यान्सर रोग लागेका सयौं व्यक्ति र परिवारका सदस्यले आफ्ना अनुभव, प्रेरणादायी सन्देश र क्यान्सरलाई जित्नका लागि गरेका प्रयत्नहरू पोखिरहेका हुन्छन् । सँगसँगै क्यान्सर रोगले थला पारेपछि आफ्नो श्रीसम्पत्ति सकेर, नपुगेपछि सामाजिक सञ्जालमै आर्थिक सहयोगको लागि हारगुहार गरिरहेको देखिन्छ ।
क्यान्सर रोग खर्चिलो हुन्छ । आम समाजमा क्यान्सर रोगलाई ‘राजकीय रोग’ पनि भनिन्छ । बिरामीको रोग र अवस्था अनुसार लाखौं मात्रै हैन करोडौं खर्च हुन्छ । सामान्यतया क्यान्सर रोगको उपचारमा ५ देखि २० लाखसम्म खर्च हुन्छ । क्यान्सर लागेका जो–कोहीले आफूसँग मनग्य रकम भए फेसबुकमा किन अनुनय गर्दै आर्थिक सहयोगका लागि याचना गर्थे ? क्यान्सर लागेका रोगीको उपचार भनेर राज्यले बीमाबाट एकलाखसम्म उपचार खर्च दिन्छ । आजभोलि अझै थुप्रै शर्तहरू तेर्साइएको छ ।
ओपीडीमा उपचार गर्दा जम्मा २५ हजार मात्रै बीमा सुविधा लिन पाइने, बाँकी ७५ प्रतिशत सुविधा लिन अस्पतालमै भर्ना भएर बस्नुपर्ने बाध्यात्मक अवस्था छ जुन क्यान्सर बिरामीका लागि सहज छैन किनकि क्यान्सर बिरामीलाई महिनामै पटक–पटक किमो, रगत लगायत अन्य जाँचहरू गरिरहनुपर्छ । त्यसैगरी विपन्न बिरामीको लगतमा दर्ता गरेको छ भने थप एकलाख अस्पतालबाट सुविधा लिन सकिन्छ भनिन्छ जुन ‘हात्तीको मुखमा जीरा’ जस्तै हुन्छ ।
नेपाल सरकारले क्यान्सर, मुटु, किड्नी रोगका बिरामीलाई महिनाको रु.५ हजार प्रदान गर्छ जसले बिरामीलाई थोरै राहत दिन्छ । स्वास्थ्य बीमा कार्यविधि अन्तर्गत २०८२ माघ १५ गते निर्णय गर्दै स्वास्थ्य बीमामा थप एक लाख रुपैयाँ थप्ने निर्णय गरेको छ । जसको लागि बिरामीले थप प्रक्रिया पुर्याउनुपर्छ । राज्यबाट केही प्रयास थालिएको छ जुन सकारात्मक छ । तर यो प्रयास एकदम न्यून र कछुवाको गतिमा छ ।
राज्यले दिने सुविधा लिन चट्टानमा टाउको ठोक्काउनु जत्तिकै कठिन छ । सरकारले अस्पतालहरूलाई बीमा बापत तिर्न बाँकी करोडौं रकम बाँकी भएकाले अब थप सेवा दिन नसक्ने सूचना बेला–बेला बाहिरिइरहन्छ जसले क्यान्सर बिरामीलाई झस्काइरहन्छ ।
विकसित देश क्यानडा, नर्वे, अमेरिका, चीन र भारतमा समेत राज्यले क्यान्सर बिरामीलाई बीमा र अन्य सुविधाका रूपमा विशेष व्यवस्था गरेका छन् । क्यान्सरका लागि आवश्यक केमो, रेडियो थेरापी, टार्गेट थेरापी, इम्युन थेरापी, अप्रेशन र औषधि धेरै प्रतिशत नि:शुल्क उपलब्ध गराउँछ । भारतमा गरीब परिवारलाई प्रधानमन्त्री आयुष्मान भारत स्वास्थ्य बीमा योजना मार्फत ५ लाखसम्म नि:शुल्क उपचारको व्यवस्था छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत आरोग्य स्वास्थ्य स्किम अन्तर्गत १५ लाखसम्मको स्वास्थ्य सेवा क्यान्सर बिरामीले प्राप्त गर्न सक्छ ।
सरकारी अस्पतालमा विपन्न बिरामीलाई आंशिक वा पूर्ण छुट दिइन्छ । स्वयं मैले एम्स अस्पतालमा नि:शुल्क केमो लगाएकी थिएँ । अप्रेशन शुल्क भनेर जम्मा ७०० तिरेकी थिएँ । अप्रेशन गर्दा केही औषधि बाहेक अस्पतालबाट नै प्राप्त गरेकी थिएँ ।
जबकि नेपालमा बीमामा दर्ज भए केही कम रकम लाग्छ भने नभएकाको हकमा केमो लगायत सबै औषधि महँगोमा खरीद गर्नुपर्छ । भारतमा खरीद गर्दा सोही औषधि यहाँभन्दा ७० प्रतिशत कम रेटमा उपलब्ध हुन्छ । नेपाल सरकारले भर्खरै जारी गरेको नीति तथा कार्यक्रम २०८३ मा क्यान्सर सम्बन्धी केही बुँदाहरू परेका छन् तर त्यो ठोस र क्यान्सर रोगीलाई राहत दिने खालको देखिंदैन ।
स्वास्थ्य सम्बन्धी बुँदा नं ५५ मा क्यान्सर लगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ । मानसिक स्वास्थ्य नीति कार्यान्वयन सार्वजनिक स्वास्थ्यको अभिन्न अंगका रूपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ । योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्रवर्धन गरिनेछ भन्ने उल्लेख छ ।
त्यसैगरी बुँदा नं ५६ मा स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिनेछ । टेलिहेल्थ प्लेटफर्म मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइनेछ । रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल तथा स्वास्थ्य सेवा गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ भन्ने उल्लेख छ ।
सरकारले जारी गरेको नीति तथा कार्यक्रम बजेट निर्माणको ठोस कार्यक्रम बन्दा कम्तीमा क्यान्सर रोगीहरूका लागि विशेष प्याकेज आउनुपर्छ । क्यान्सर रोगीका लागि अत्यावश्यक केमोथेरापी लगायत अन्य उपचार र औषधिहरू नि:शुल्क उपलब्ध हुने व्यवस्था गरिनुपर्छ । त्यसैगरी क्यान्सर लगायत अन्य गम्भीर रोगका लागि अस्पतालमा सहज पहुँचको व्यवस्था गर्नुपर्छ । पूँजीवादी र उदारवादी अर्थतन्त्र व्यवस्था भएका राज्यहरूमा बजार निजी क्षेत्रको कब्जामा केन्द्रित हुन्छ । जसले नागरिकको हितमा भन्दा नाफाकेन्द्रित उद्देश्यका लागि काम गर्छन् । तर कतिपय विकसित देशहरूले नागरिकका आधारभूत स्वास्थ्य, शिक्षामा राज्यले नै विशेष व्यवस्था गरेर राहत दिने गरेको उदाहरण प्रशस्त छन् । संविधानमै नेपाल समाजवादउन्मुख राज्य व्यवस्था भनेर लेखेको छ जसले आम जनताको आधारभूत स्वास्थ्यको सहज उपचारको ग्यारेन्टी गर्न सकेको छैन ।
राज्यको दायित्व र लाचारीपन
१४ वैशाख २०८३ मा एक पत्रिकाले पूर्व विशिष्टहरूले विदेशमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था संवैधानिक इजलासबाट खारेज गरेको समाचार छापेको छ ।
यसअघि पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा प्रधान न्यायाधीशलाई गम्भीर रोगको उपचारको लागि १५ लाखसम्म सरकारी कोषबाट सहयोग उपलब्ध गराउने व्यवस्था थियो । पूर्व मन्त्री र अन्य पदाधिकारीलाई १० लाखसम्म, राष्ट्रिय जीवनमा योगदान दिएकालाई ७ लाखसम्म क्याबिनेटबाट निर्णय गरेर दिने व्यवस्था गरेको थियो । जसबाट प्रधानमन्त्री, राष्ट्रपति र अन्य कथित भीभीआईपीहरूले पटक–पटक लाखौं लिएको समाचार पढ्न पाइन्थ्यो । म स्वयं एक पटक राज्यको कथित विशिष्ट पदमा (राष्ट्रिय महिला आयोगको आयुक्त) भइसकेको हुनाले उपचारमा राज्यको तर्फबाट केही आर्थिक सहयोग हुन्छ कि भनेर पटक पटक कोशिश गरियो तर ‘हाता लाग्यो शून्य’ भयो ।
एक साताअघि एक पत्रिकाले पूर्व प्रधानमन्त्री ओली, पूर्व राष्ट्रपति डा.रामवरण यादव, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सुजाता कोइरालाबाट विदेशमा उपचार गरे बापत राज्य कोषबाट खर्च भएको ४ करोड असुल्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको समाचार लेखेको छ । सत्तामा जसले हालीमुहाली गर्न सक्छन् राज्यको स्रोत र साधनमा उनीहरूकै वर्चस्व कायम हुँदै आएको तीतो यथार्थको कथा लामो छ ।
रोगको राजनीति
सानो होस् वा ठूलो कुनै पनि रोगबारे सुन्दा लाग्छ, यो व्यक्तिविशेषको निजी विषय हो तर यो निजी कुरा मात्रै हैन, यो सामाजिक र अझ मुख्यत: राजनीतिक कुरा हो । देशको राजनीति कस्तो छ ? त्यो राजनीतिक व्यवस्थाले आम जनता र भुईं तहका जनताको हितमा कस्तो स्वास्थ्य प्रणाली कायम गरेको छ, त्यसले हरेक व्यक्तिको स्वास्थ्यको अधिकार निर्धारण गर्छ ।
एउटा व्यक्ति क्यान्सर लागेपछि व्यक्ति स्वयं र परिवार ट्रमामा जान्छ । अनि शुरु हुन्छ मनोवैज्ञानिक त्रास, आर्थिक जटिलता, स्वास्थ्य संस्थामा ब्यहोर्नुपर्ने दु:खको अनन्त पीडा ।
सबैभन्दा पीडा तब हुन्छ जब क्यान्सर लागेका व्यक्ति स्वयं र आफन्तहरू क्यान्सरको उपचारको लागि सामाजिक सञ्जालमा हारगुहार गरिरहेका हुन्छन् । केही नाचेर, रोचक र पीडादायी रूपमा प्रस्तुत हुँदै आर्थिक सहयोगको अपील गरिरहेका हुन्छन् ।
विगतमा क्यान्सर रोग लागेका बिरामीहरूले देशको प्रधानमन्त्रीलाई हारगुहार गर्दै रोगबारे संवेदनशील हुन आग्रह गर्दै उपचार सस्तो र सहज बनाउन सम्बोधन गरेका थुप्रै अनुरोध मिडियामा सार्वजनिक भएका छन् । तर यथार्थमा पीडित जनताको आँशु र वेदनाले नेपालका शासकहरूलाई नछुने रोग धेरै पुरानो हो ।
जनताले तिरेको करमा तर मार्ने र सत्तालाई बपौती ठान्ने, आम मान्छेका पीडाबारे सामान्य मानवीयतासम्म नराख्ने शासकहरूले आफ्नो तजबिजमा मन्त्रिपरिषद्को निर्णय गरेर आफ्नो लागि विदेश र स्वदेशमा उपचार खर्चमा करोडौं रकम लिएको समाचार सुन्न पाइन्छ ।
गणतन्त्रपश्चात् स्थापना भएको संविधान २०७२ ले नेपाली नागरिकले नि:शुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ तर जब व्यक्तिले साँच्चै यो अधिकार व्यवहारमा खोज्छ तब ‘आकाशको फल आँखा तरी मर’ को अवस्था भोग्न बाध्य हुन्छ ।
अझै पनि आम जनताले अत्यावश्यक र आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने विडम्बना भोग्न बाध्य छौं । हरेक नेपालीको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नु राज्यको कर्तव्य हो । अब यस्तो बेथितिको अन्त्य आवश्यक छ । जसका लागि राज्यले स्वास्थ्य सेवा र उपचार नाफामूलक व्यवसायको रूपमा लिने प्रणाली अन्त्य गर्दै नागरिकको हकको रूपमा व्यवस्था गर्नुपर्दछ ।
प्रतिक्रिया 4