News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्न चक्रीय कोषमा थप २५ करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ।
- चालु आर्थिक वर्षमा सरकारले २५ करोड विनियोजन गरेको कोषमा थप २५ करोड थपिएपछि कुल ५० करोड रुपैयाँ योगदान हुनेछ।
- चक्रीय कोषमा सहकारीको सम्पत्ति बिक्रीबाट प्राप्त रकम जम्मा गरी बचतकर्ताको रकम फिर्ता गर्ने काम सोमबारदेखि सुरु भएको छ।
५ जेठ, काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेकोमा थप २५ करोड पनि दिने तयारी गरेको हो ।
सरकारले दिने थप २५ करोड रुपैयाँसहित कोषमा सरकारको तर्फबाट ५० करोड योगदान हुनेछ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्न चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, ०८३ बनाइ लागु गरिरहेको छ । स्थापित चक्रीय कोषमा सरकारले दिएको र समस्याग्रस्त सहकारीका ऋणीको सम्पत्ति बिक्रीबाट प्राप्त रकम जम्मा हुन्छ । सोही रकमबाट पीडित बचतकर्ताको रकम फिर्ता हुँदै जानेछ । बचत फिर्ता सोमबारबाट सुरु भएको छ ।
विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको ३६ नम्बर बुँदामा सहकारी क्षेत्रका समस्या समाधान गर्ने विषयमा उल्लेख गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।
सहकारी क्षेत्रको समस्याको विषयमा मंगलबार राष्ट्रियसभामा बोल्दै उनले पीडित बचतकर्ताको समस्या दीर्घकालीन रुपमै समाधान गरिने प्रतिबद्धता जनाए ।
‘सोमबारदेखि समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने काम पनि सुरु भएको छ,’ वाग्लेले भने, ‘सरकारले बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरणका लागि स्थापना भएको कोषमा यसै साल २५ करोड विनियोजन गरेको छ । थप २५ करोड विनियोजन गर्नका लागि तयार भएको अवस्था छ ।’ भूमि, सहकारी मन्त्रालयले बचत फिर्ताको कामलाई अघि बढाएको वाग्लेले बताए ।
‘कोषमा राखेको रकम राज्यकोषबाट दिइने होइन, त्यस्तो वितरणमा हामी विश्वास गर्दैनौँ,’ वाग्लेले भने, ‘सहकारीकै सम्पत्तिलाई बिक्री गरेर आएको पैसा चक्रीय कोषमा राखेर त्यसैबाट बचतकर्तामा जाने प्रक्रिया सुरु भएको हो । अहिले सरकारले अस्थायी सहजीकरण मात्र गरेको हो ।’
प्रतिक्रिया 4