+
+
Shares
जिरी झंकार :

सम्झनामा बाँचिरहेको जिरी पर्या-साहित्यिक महोत्सव

प्रकृतिको आवाजलाई शब्द दिनु, साहित्यलाई जीवनसँग जोड्नु र भविष्यलाई सुरक्षित बनाउन योगदान पुर्‍याउनु महोत्सवको सन्देश थियो।

विष्णुप्रसाद आचार्य विष्णुप्रसाद आचार्य
२०८३ जेठ ९ गते ९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वन तथा वातावरण मन्त्रालयले पहिलोपटक २०८२ चैत २८ र २९ गते दोलखाको जिरीमा 'पर्या-साहित्यिक महोत्सव' आयोजना गरेको थियो।
  • महोत्सवको मूल नारा 'प्रकृति, साहित्य र दिगो भविष्य' राखेर स्थानीय र बाह्य विषयमा आधा-आधा वक्तालाई समावेश गरिएको थियो।
  • कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी वर्षदेखि नियमित पर्या-साहित्यिक महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

मानिसका जीवनमा केही यात्राहरू केवल दूरी नाप्ने साधन हुँदैनन्, ती आत्मासँग संवाद गर्ने माध्यम बन्छन् । त्यस्तै एउटा यात्रा थियो, जिरीतर्फको हाम्रो यात्रा । आजभन्दा १ महिना अगाडि २०८२ चैतको उत्तरार्ध, वर्षको थकान बोकेर बिदाइको तयारीमा लागेको मौसम । त्यसैबीच हामी एउटा नवीन ऊर्जासहित भव्य कार्यक्रम ‘पर्या-साहित्यिक महोत्सव’ को सन्दर्भमा दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीमा थियौँ।

भव्य यस अर्थमा कि वन तथा वातावरण क्षेत्रमा काम गर्ने हामी सबै मिलेर यो महोत्वसको आयोजना गर्दै थियौँ। हाम्रो उत्साह दुई गुणा थियो; किनकि यस्तो कार्यक्रम सरकारी ब्यानरमा पहिलोपटक आयोजना हुँदै थियो। बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय र जिरी नगरपालिका यसको आयोजक थिए । विभिन्न संघसंस्थाको सहयोग थियो ।

हामी कोही आयोजक, कोही सहभागीका रूपमा थियौँ । त्यो कार्यक्रम सकिएको कैयौँ दिनसम्म पनि मलाई जिरीको झंकारले आनन्दित तुल्याइरह्यो; कुनै मन परेको संगीतले तरंगित गरेजस्तै।

धादिङमा बिजारोपण : जिरीमा फल

कुनै पनि सपना अचानक साकार हुँदैन । यसको बीउ धेरैअघि रोपिएको थियो । गत र्ष फागुनको १६ र १७ गते धादिङबेसीमा ऐतिहासिक ‘प्रथम बागमती साहित्यिक महोत्सव’ को आयोजना भएको थियो । कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्षका नाताले मैले त्यो कार्यक्रमको संयोजन गर्ने दुर्लभ अवसर प्राप्त गरेको थिएँ । मेरो लागि यति ठूलो साहित्यिक कार्यक्रम पहिलो अनुभव थियो।

त्यो साहित्यिक महोत्सवमा धेरै विचारहरूको मन्थन भएको थियो तर एउटा महत्त्वपूर्ण मन्थन छुटेको थियो- पर्या-साहित्य । मानौँ कसैले एउटा सुन्दर गीत अधुरो छाडेको होस् । त्यो अपूरो अनुभूति मेरो मनमा काँडाझैँ गढेर बसेको थियो, जसले मलाई झसंग पर्नेगरी पटक-पटक एउटा सवाल सोधिराख्यो- ‘तँ वनको मान्छे, यहाँको डिभिजनल वन अधिकृत, आफू साहित्यकार नहुँदा पनि यत्रो साहित्यिक महोत्सवको संयोजन गर्नेले एउटा छुट्टै पर्या-साहित्यिक कार्यक्रम आयोजना गर्न सक्दैनस् ?’

अनि मेरै मनले जवाफ दियो- ‘किन नसक्ने ? नसक्ने कुरा के छ ?’

यही प्रश्न उत्तरमा रूपान्तरित हुँदै गयो । छलफलहरू सुरु भए । विचारहरू साटिए । कहिले उत्साहले भरिएको स्वर, कहिले शंका र दुविधाले भरिएको मौनता; यी सबैले एउटा नयाँ कथा बुन्दै थिए । साथ दिने हातहरू एक-एक गरेर जुट्दै गए।

वन मन्त्रालयका सचिव डा. केदार बरालको सहयोगले रेडबुकमा कार्यक्रम राख्न ठूलो भूमिका खेल्यो भने वन प्राविधिक एवम् साहित्यकार डा. रोशन शेरचन, साहित्यकार डा. नवराजबन्धु पहाडी, भोला खतिवडा, अनिल रेग्मीजस्ता अनुभवी व्यक्तित्वहरूको साथले यो अभियानलाई विश्वासिलो बनायो।

यो केवल व्यक्तिगत चाहना रहेन, यो सामूहिक स्वप्नमा रूपान्तरित भयो र जिरीको यो भव्य उत्सव धादिङको त्यही बिजारोपणको परिणाम थियो।

स्थान छनोट र तयारी बैठक

यो महोत्सवका लागि केही स्थानका नाम छलफलमा आए । मन्त्रालयमा लामो छलफलपश्चात् के सहमति भयो भने- कार्यक्रम कुनै पहाडी क्षेत्रमा गरौँ, जहाँ प्रकृतिसँग अँगालो मार्न सकियोस्, सर्जकलाई केही दिन भए पनि धुवाँधुलो र कोलाहलबाट मुक्त गर्न सकियोस्।

सर्जकले अघाउन्जेल दृश्यपान गर्न सक्ने स्थानको खोजी गर्ने क्रममा हामीले जिरी रोजेका थियौँ । यसमा जिरी नगरपालिकाले साहित्यिक कार्यक्रमका लागि भनेर केही बजेट विनियोजन गरेकाले पनि जिरी निर्विवाद भएको थियो।

कार्यक्रमको बिजारोपणदेखि नै म संलग्न भएकोले पनि मन्त्रालयले मलाई यो कार्यक्रमको संयोजकको जिम्मेवारी दियो । समितिमा हामी ९ जना थियौँ- मन्त्रालय, पालिका र साहित्यिक संस्थाका समेत गरेर । धेरै तयारी बैठक भए, अधिकांश अनलाइन । तर सुरुको एउटा बृहत् बैठक माननीय मन्त्रीज्यू, सचिवज्यू समेतको उपस्थितिमा काठमाडौँमा राखियो, जहाँ हामी आयोजक टिम र धेरै साहित्यकार एवम् सञ्चारकर्मीको उपस्थिति थियो।

यो बैठकले हाम्रो ऊर्जालाई प्वाँख हालिदियो, हामी सपनामा उड्न थाल्यौँ, भुइँमा कुद्न थाल्यौँ र हिजोका दिनमा भन्दा बढी फोनमा गफिन थाल्यौँ- ‘यसो हुन्छ कि उसो हुन्छ कि !’ भन्दै।

जिरीमा कार्यक्रम गर्ने टुंगो भएपछि पूर्वतयारीका लागि हामी (म, डा. रोशन शेरचन, भोला खतिवडा र अनिल रेग्मी) जिरी जाने भयौँ । चरीकोटमा भानु-विद्यापति प्रतिष्ठानका अध्यक्ष ईश्वरलाल श्रेष्ठलाई लिएर हामी सबैभन्दा पहिला जिरीको पालिका पुग्यौँ र पालिकासँग कार्यक्रमको मितिबारे छलफल गर्‍यौँ।

मिति रोज्ने क्रममा हामी ३२ लक्षणले युक्त वर वा वधु खोजेजस्तै खोज्न थाल्यौँ- यो पनि होस्, त्यो पनि होस् । जिरीमा न जाडो, न गर्मी होस्, मौसम रमाइलो, घमाइलो होस्; सहभागीलाई वातानुकूलित मौसमको अनुभव होस्; हरित जिरी पूर्ण मदमस्त होस्; सहभागी र सर्जकलाई धेरै लामो बिदा खर्च गर्नु पनि नपरोस्; कार्यक्रमले नववर्षको सुवास र झल्को पनि छर्न सकोस् र सकेसम्म सबैलाई पायक पर्ने मिति रहोस् ।

यिनै विषयमा घोत्लिएपछि हामीले ऐतिहासिक पर्या-साहित्य महोत्वसको मिति तय गर्‍यौँ- २०८२ चैत २८ र २९ गते । छोटो तर निर्णायक छलफल गरेर ‘यत्तिको पूर्वाधार भएपछि कार्यक्रम गर्न सकिन्छ’ भन्ने पूर्ण आत्मविश्वासका साथ चरीकोट फर्कियौँ । त्यो दिन अनिल भाइको आतिथ्यतामा रह्यौँ र भोलिपल्ट सैलुङ दर्शन गर्दै काठमाडौँ फर्कियौँ, साथीहरूलाई भ्रमणको उपलब्धि जानकारी गरायौँ ।

सुन्दर जिरी

टोनी हेगन बुढाले जिरीलाई देखेपछि के सोचे कुन्नि, उसबेलै जिरीलाई स्विट्जरल्यान्डसँग तुलना गरिदिए र सहज रूपले ‘जुरिचजस्तो’ भनिदिए। हाटडाँडाबाट देखिने जिरीको अद्भुत हरियाली र त्यो हरियालीले निखारिएको जिरीको सुन्दरताले यिनलाई मोहित गराइदियो जस्तो लाग्छ।

युरोपमा जाडोका महिनामा मनग्य हिउँ पर्ने; हिउँले सबै जमिन ढाकेपछि हिउँमय हुने नै भयो। तर गर्मीमा जब हिउँ पग्लिन्छ र यी बिरुवा बाहिर निस्कन्छन्, त्यो छोटो घाम लाग्ने महिनामा यी बिरुवाले आफूलाई वर्षभरि खान पुग्ने र बढ्न पुग्नेगरी शक्ति सञ्चितसमेत गर्नुपर्ने र त्यसको तयारी गर्नुपर्ने हुन्छ।

त्यसका लागि धेरैभन्दा धेरै ‘क्लोरोफिल’ जम्मा गरेर अधिक भोजन सञ्चितिका लागि यी अत्यन्त गाढा हरियो हुनुपर्ने प्रकृतिको अद्भुत नियम छ। सायद यसैले युरोपका बिरुवा यताका भन्दा अधिक हरिया देखिन्छन्; हामीले हेर्दा आँखै खाने हरियो, जताततै हरियो।

सायद जिरीको हरियाली टोनी हेगनलाई उताको जस्तै लाग्यो। आफ्नो देश छाडेको निकै समय भएको, उताको न्यास्रो मेटाउन यिनले ‘स्विट्जरल्यान्डजस्तै’ भनेर नामकरण गरिदिए होलान् र त्यसको अझै प्रभाव छ। जिरीलाई अहिले पनि ‘नेपालको स्विट्जरल्यान्ड’ नामले चिनिन्छ, चिनाइन्छ।

उस बेलाको जस्तो विदेशीको चहलपहल र चमकदमक त रहेन अब जिरीमा। तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले यही बाटो प्रयोग गरेर सगरमाथा चढेको, सगरमाथा प्रवेश गर्न सबैभन्दा सहज र सरल रुट यही हुनाले पनि यो प्रसिद्ध सगरमाथाको प्रवेशद्वारका रूपमा रह्यो। यद्यपि पछि सगरमाथा प्रवेश गर्ने अनेक द्वार बने र यो ट्रेकिङ गर्नेको आँखाबाट ओझेल परे तापनि यही स्विट्जरल्यान्डको प्रसिद्धिले प्रतिवर्ष निकै आन्तरिक पर्यटक आउने गर्छन्।

विषय छनोट

कार्यक्रमको मूल नारा ‘प्रकृति, साहित्य र दिगो भविष्य’ राख्ने टुङ्गो गरियो र यसैलाई आधार मानेर अन्य विषय मिलाउँदै गयौँ। सुरुको तयारी बैठकले हामीलाई २ वटा मुख्य सुझाव दिएको थियो। पहिलो, हामी अधिकांश कार्यक्रम गर्दा पहिला सहजकर्ता, वक्ता वा प्यानेलिस्टको अनुहार हेरेर विषयको छनोट गर्छौँ वा त्यहाँको आवश्यकताभन्दा वक्तालाई प्राथमिकता दिन्छौँ; जसले मुख्य विषय छुट्न जान्छ।

अर्को, उपत्यकाभन्दा बाहिर कार्यक्रम गर्दा अधिकांश वक्ता बाहिरका जिल्लाबाट बोलाइन्छ, उनीहरू हतारहतार आउँछन्, आफ्ना कुरा सुनाएर हतारिँदै जान्छन् तर स्थानीयको बुझाइ र उनीहरूको कुनै विषयप्रतिको बुझाइ के छ, त्यसमा त्यति चासो दिइँदैन। तसर्थ यो कार्यक्रममा स्थानीय विषयमा उत्तिकै ध्यान दिइयोस्।

यो विषय अत्यन्त घतलाग्दो थियो। हामीले यसलाई उच्च प्राथमिकतामा राख्यौँ र त्यसैले विषय पनि आधा बाह्य र आधा स्थानीय अनि वक्तामा पनि सोहीअनुसार आधाआधा राखियो।

विषयहरूमा पर्या-साहित्यको इतिहास, वर्तमान र आगामी कार्यदिशा, पर्या-साहित्य र यात्रा, पाठ्यक्रममा पर्या-साहित्यजस्ता विषय थिए। स्थानीय विषयमा ‘हिजोको जिरी, आजको जिरी र भोलिको जिरी’, ‘भुइँमान्छेको आवाज’, ‘बदलिँदै गएको समय र खोसिँदै गएको स्वर’ र ‘हामीलाई पनि केही भन्नु छ’ भन्ने किशोरकिशोरीका कुरा सुन्यौँ। हामीले यी विषयलाई सकेसम्म स्थानीयकरण गर्ने प्रयत्न गर्‍यौँ र पर्या-साहित्यिक कार्यक्रम भएको हुनाले प्रकृतिसँग सामीप्य हुने माहोल मिलायौँ।

सत्र (सेसन) लाई पनि सकेसम्म प्राकृतिक वातावरणमा गर्‍यौँ। जिरीको स्थानीय सवालमा गरिएको सत्र र केही कविता हामीले जिरी तालनजिक खुला आकाशमुनि गर्‍यौँ। सहभागीहरू सबैले यो मोडललाई अत्यन्त रुचाउनुभयो।

पर्या-साहित्यमा किशोरकिशोरीलाई सानैदेखि आकर्षित गर्नुपर्छ भन्ने उद्देश्यका साथ जिरीमा विभिन्न विद्यालयका नानीबाबुलाई समावेश गराएर वातावरण संरक्षण विषयमा एउटा कविता प्रतियोगिता पनि गरायौँ।

हामीले २ वटा ‘कि-नोट स्पिच’ राख्यौँ। पहिलो दिनको कि-नोट डा. सञ्जीव उप्रेतीको रह्यो भने दोस्रो दिनको स्पिच रमेश भुसालको। दुवै कि-नोट अत्यन्त प्रभावकारी रहेको बुझाइ सबैजसो सहभागीको रह्यो; यसले हामीलाई ‘छनोट राम्रै गरेछौँ’ भन्ने अनुभूत गरायो।

प्यानल छलफलहरूमा उठेका प्रश्नहरूले मनलाई झस्काए- ‘के विनाशबिना पनि विकास सम्भव छ ?’, ‘प्रकृतिप्रति हाम्रो कर्तव्य के हो ?’, ‘हामी कता जाँदै छौँ ? गन्तव्य कता हो ?’

यस्ता प्रश्नहरूले केवल बौद्धिक बहस मात्र गरेनन्, ती आत्मासँगको संवाद बने। सहभागीहरूको अनुहारमा कहिले गम्भीरता देखिन्थ्यो, कहिले आश्चर्य, र कहिले आशा। एउटा कवितामा पहाडको आँसु थियो, अर्कोमा नदीको क्रन्दन, अनि अर्कोमा भविष्यप्रतिको विश्वास र प्रकृतिका विनाशक मानवलाई खुला चुनौती।

श्रोताहरू स्तब्ध थिए, मानौँ शब्दहरूले उनीहरूलाई बाँधेर राखेका थिए। पहिलो दिनको अन्त्यमा बाबु त्रिपाठीसँग गजल साँझ र कुमार नगरकोटीसँग काव्य उत्सवले सहभागीलाई मन्त्रमुग्ध बनाएको थियो भने दोस्रो दिनको अन्तिम सत्र स्थानीय कलाकारको बेजोड साङ्स्कृतिक कार्यक्रमले चिसो जिरीको माहोल पूरै तातो बनाएको थियो।

प्रकृति र संस्कृति

पर्या-साहित्यको मूल स्रोत प्रकृति र संस्कृति हो भन्ने कुरालाई हामीले सुरुबाटै आत्मसात् गरेका थियौँ। ज्ञानको प्रस्फुटनका लागि स्रोतको दर्शनानुभूति गराउनुपर्दछ भन्ने मान्यतामा विश्वास राख्दै केही अतिरिक्त सत्र गरियो, जसलाई हामीले आफैँ नाम दियौँ- प्रकृति र संस्कृति सत्र।

पहिलो दिनको बिहानी सत्रलाई हामीले ‘प्रकृति सत्र’ को नाम दियौँ। सबै सहभागीलाई बिहान करिब २५०० मिटरको उचाइको गुराँस पार्कमा लग्यौँ; जहाँ सेता गुराँस, चिमाल लटरम्म फुलेर मदमस्त भएर हामीलाई स्वागत गर्न आतुरताका साथ बसेका थिए। मानौँ, वर्षौंपछिका प्रेमिल जोडी आज एकाकार हुँदै छन् र आज त्यही प्रेमी मिलनोत्सव हो। सहभागी मस्त रमाउँदै चिमालको फूलमा रसास्वादन गर्दै झुमिरहे, जसरी मौरी प्रिय फूलमा झुम्मिन्छ।

यसपछि र्‍याली थियो, हामीले यसलाई ‘सांस्कृतिक सत्र’ भन्यौँ। यो कुनै राजनीतिक दलको वा कुनै व्यापारिक संस्थाको प्रायोजित र्‍याली थिएन। यो र्‍याली यहाँका स्थानीय जनताको कला, संस्कृति र परम्परा झल्कने झाँकीसहितको र्‍याली थियो। ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’ भनेजस्तै यहाँ जिरेल, सुनुवार, नेवार, शेर्पा, तामाङ अनि विभिन्न समुदायको परम्परा, संस्कृति झल्कने अनुपम सङ्गम थियो। मानौँ, यो र्‍यालीको माध्यमबाट जिरीमा बिहानै इन्द्रेणीको दर्शन हुँदै छ।

यो र्‍यालीमा हजारौँ मानिस स्वस्फूर्त रूपमा लामबद्ध थिए, हामी पनि त्यही र्‍यालीमा फरकफरक झाँकीमा मिसियौँ- कहिले नाच्दै, कहिले सुसेल्दै, कहिले गाउँदै। यसपछि र्‍याली उद्घाटन सत्रमा परिणत भयो। माननीय भरतबहादुर केसीले कार्यक्रमको उद्घाटन गर्नुभयो। यहाँ पनि केही सांस्कृतिक झाँकी प्रदर्शन भए।

अथक साथीहरू

कार्यक्रम सफल बनाउन वन कार्यालय र जिरी नगरपालिकाका साथीहरूको अहोरात्र खटाइ देखेर हामी सबै चकित भयौँ। कार्यक्रमको तयारी बैठकमा हाम्रो पहिलो भेट प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्री, साविन्द्रा खड्का र अन्य साथीहरूसँग भएको थियो। उहाँहरूको आइडिया सुनेपछि र तुफानी गति हेरेपछि हामीले भन्यौँ- अब कार्यक्रम गर्न कठिन छैन।

केही दिन बसाइका क्रममा उहाँहरूको गति र खटाइ हेर्दा लाग्यो- ‘यस्तै कर्मचारी सबैतिर हुने हो भने कर्मचारी कामै गर्दैनन् भन्ने आरोपले अलिक राहत पाउँथ्यो कि ?’ लाग्थ्यो, उहाँहरूलाई थाक्ने र ‘आ गर्दिनँ’ भन्ने छुट छैन। कार्यक्रमभरि मेयर, उपमेयर, वडाका प्रतिनिधिहरूको निरन्तर उपस्थिति र सक्रियता लोभलाग्दो थियो।

वनले पनि साहित्यिक कार्यक्रम गर्ने हो र ?

हामीले कार्यक्रमको सुरुवातदेखि नै सबैभन्दा बढी झेल्नुपरेको विषयचाहिँ यही रह्यो- ‘वन कार्यालयले वनको काम पो गर्ने हो, कहाँ यस्तो साहित्यिक काम गर्ने हो ? मेला, महोत्सवको काम किन गर्ने ?’

यसो सुन्दा ठिकै हो जस्तो लाग्ने तर हामी फरक धारमा थियौँ। वनको मुख्य काम वन व्यवस्थापन र संरक्षण नै हो, यसमा कुनै तर्कवितर्क परेन। तर अहिलेको विषम परिस्थितिमा वनले साहित्यका माध्यमबाट पनि वनका कुरा बोल्नुपर्छ, दुनियाँलाई बुझाउनुपर्छ। हामीले ‘हरियो वन, नेपालको धन’ भन्ने नारा भन्दै आयौँ। यो स्थानीय जनतालाई बुझाउने सरल वन साहित्य थियो।

यति मात्र होइन, हाम्रा हजुरआमा, हजुरबा, आमा, बा, काकी, फुपूहरूको पुस्ताले आफ्नै भाकामा प्रकृतिका गीत गाउनुभयो, त्यसैमा अभ्यस्त हुनुभयो। प्रकृतिको वरिपरि थुप्रै गीत बने; ‘चितवनका गैँडा हात्ती, मयुरका ताँती’ भनेर भाका मिलायौँ।

सायद यी सुरुवातका वन, पर्यावरणका गीत थिए। तर समयको बहावसँगै यी विषय क्रमशः ओझेलमा पर्दै गए। अहिलेको समग्र विश्वले नै विषम वातावरणीय संकट बेहोरेको अवस्थामा यी विषयमा पुनः खुलेर बोल्नुपर्छ, सुन्नुपर्छ र सुनाउनुपर्छ।

यो कार्यक्रम केवल एउटा साहित्यिक जमघट थिएन, यसले एउटा विचार बोकेको थियो- प्रकृति र साहित्यबीचको गहिरो सम्बन्धलाई पुनःस्थापित गर्ने। मानव सभ्यताले विकासको नाममा पृथ्वीको सौन्दर्यलाई क्रमशः क्षतविक्षत बनाइरहेका बेला मानौँ त्यो पीडालाई कलमले उपचार गरोस्, अक्षरहरूले आवाज दिन सकोस् भन्ने विश्वासको समग्रता जम्दै थियो।

वन र वातावरणलाई केवल अध्ययनका विषय होइन, संवेदनाका केन्द्र बनाउने प्रयास यस महोत्सवको मूल आत्मा थियो र सपना थियो। अनि यस्ता विषयको नेतृत्व वन मन्त्रालयले नै गर्नुपर्छ भन्ने विषयमा हामी पूर्णतः सहमत भएर यो कार्यक्रम गरेका हौँ।

ऐतिहासिक कार्यक्रम

वन तथा वातावरण मन्त्रालयले पहिलोपटक ‘पर्या-साहित्यिक महोत्सव’ को आयोजना आफ्नो ब्यानरमा गर्दै थियो। यद्यपि देशका विभिन्न भेगमा केही समयदेखि पर्या-साहित्यिक उत्सव हुन थालेका थिए। झापा रिडर्सले प्रत्येक वर्ष र देशका विभिन्न भेगमा भएका साहित्यिक उत्सवमा पर्या-साहित्यले स्थान पाइरहेको थियो तर प्रदेश सरकारले आफैँ गर्न लागेको भने यो देशमै पहिलो पटक थियो; जहाँ प्रदेशका मन्त्री, सचिवलगायतका साथीहरू तयारी बैठकदेखि कार्यक्रम अवधिभर सहभागी हुनुभयो। यसले सम्पूर्ण सहभागीलाई ऊर्जा थपेको थियो।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको ‘बागमती प्रदेश सरकारले आगामी वर्षदेखि नियमित रूपमा बागमतीमा पर्या-साहित्यिक महोत्सवको आयोजना गर्ने’ प्रतिबद्धतासहितको शुभकामना सन्देश पढेर सुनाइएको थियो। प्रदेश सरकारको पर्या-साहित्यप्रतिको अपनत्वलाई सहभागीले ठूलो उत्साहका साथ करतल ध्वनिले समर्थन जनाएका थिए। यो पर्या-साहित्यका लागि ठूलो उपलब्धि थियो।

पर्यावरणीय चिन्ता विश्वव्यापी रूपमा बढिरहेको बेलामा यस्ता कार्यक्रमले थोरै भए पनि मानसिक सन्तुष्टि दिने रहेछ। आगामी वर्षदेखि देशका अन्य प्रदेश सरकारहरूले पनि वर्षको एउटा मात्र भए पनि यस्ता कार्यक्रमको आयोजना गरिदिए कति जाती हुन्थ्यो भन्ने अपेक्षा हामी आयोजक र बागमती प्रदेश सरकारको रहिरह्यो।

प्राविधिक समस्या

कार्यक्रमलाई गज्जब बनाउने उद्देश्य रहँदारहँदै पनि केही प्राविधिक समस्या आइपरे, जसले हाम्रो कार्यक्रमलाई निकै अप्ठ्यारो बनायो। सेसन त धेरै थिएनन् तर गुराँस पार्क जाँदा बाटोमा बस फस्यो। हामीसँग भएका सबै गुरुजीको सबै शक्ति लगाएर बल्लबल्ल गाडी त निस्कियो तर यसले झन्डै डेढ घण्टा खाइदियो। र्‍याली निर्धारित समयमै सकियो तर उद्घाटन सत्र सोचेको भन्दा एक घण्टा ढिलो भयो। उता समय घर्किँदो छ, यता हामी आयोजकमा कार्यक्रम कसरी समयमै मैजारु गर्ने भन्ने छटपटी।

जसोतसो सत्र सुरु गरियो तर अर्को गम्भीर प्राविधिक समस्या आइलाग्यो- नयाँ हलमा ‘इको’ को ठूलो समस्या। कार्यक्रम बीचमै रोकेर साउन्ड सिस्टम नै बदल्नुपर्‍यो। हामीले ठूलो तनाव झेल्यौँ; तनावकै बीचमा केही समयको अन्तरालमा ठिकठाक पार्‍यौँ तर जति गरे पनि पहिलो दिनको सम्पूर्ण सेसन सकिएन। एउटा सेसन दोस्रो दिनलाई सार्‍यौँ। बासस्थानका केही समस्या र उल्झन आए तर मिल्यो, मिलाइयो ।

कार्यक्रम सकिएपछि हामीले सर्जकहरूसँग केही सुझाव लियौँ। निकै राम्रा सुझाव आए, त्यसका लागि हामी आभारी छौँ। यसरी एकाध प्राविधिक कमीकमजोरीलाई बिर्सिने हो भने कार्यक्रम भव्य रूपमा सफल भयो।

फेरि भेटौँला

आयोजना गरिएका हरेक कार्यक्रम सकिन्छन्, यो त सनातन नियम नै भयो। हाम्रो कार्यक्रम पनि एउटा उत्साहका साथ सकिएको थियो। सकेपछि आयोजकको नाताले साथीहरूलाई बिदावारी गर्नु पर्‍यो नै। साथीहरूलाई जुन उत्साहका साथ स्वागत गरियो, उही उत्साहका साथ बिदा पनि गरियो। ३० गते बिहान सबै साथीलाई सक्रिय सहभागिताका लागि हार्दिक धन्यवाद दिँदै ‘आगामी पर्या-साहित्यिक महोत्वसमा फेरि भेटौँला’ भन्ने वाचासहित हात मिलाउँदै बिदा गरियो।

आज जब यो संस्मरण लेख्दै छु, मलाई महसुस हुन्छ- त्यो महोत्सव केवल एउटा घटना थिएन; त्यो पर्या-साहित्यिक आन्दोलनको सरकारी नेतृत्व र संस्थागत सुरुवात थियो। यसले हामीलाई एउटा दिशा देखायो, एउटा बाटो खोल्यो। अब त्यो बाटोमा हिँड्नु हाम्रो जिम्मेवारी हो। प्रकृतिको आवाजलाई शब्द दिनु, साहित्यलाई जीवनसँग जोड्नु र भविष्यलाई सुरक्षित बनाउन योगदान पुर्‍याउनु महोत्सवको सन्देश थियो।

अन्त्यमा, मनले भन्छ- ‘जिरीसँगको त्यो भेट अन्तिम होइन, त्यो त एउटा नयाँ यात्राको प्रारम्भ मात्र हो। पर्या-साहित्यको माध्यमबाट फेरि पनि कुनै न कुनै जिरीमा हामी यसरी नै जम्मा हुनेछौँ, त्यहाँको रैथाने प्रकृति, संस्कृति, भाषा, कलालाई अनुभूत गर्नेछौँ र मन-मुटुमा सजाउँदै पर्या-साहित्य आन्दोलनलाई अगाडि लैजानेछौँ। सम्झनामा जिरीको पर्या-साहित्यिक महोत्सव सायद स्पन्दनको उज्यालो रहिरहनेछ जीवनको अन्त्यसम्म- उस्तै ताजा भएर।’

लेखक
विष्णुप्रसाद आचार्य

लेखक डिभिजन वन कार्यालय चितवनको डिभिजनल वन अधिकृत एवं प्रथम बागमती पर्या  साहित्यिक महोत्वसको संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?