+
+
Shares

उपेक्षित खर्क, हराउँदै गएको हिमाली पशुपालन

हिमाली खर्कहरूमा बस्ने गोठालाका घन्टीहरू विस्तारै मधुरो हुँदैछन्। जलवायु परिवर्तन, वन्यजन्तुको त्रास र पुस्तान्तरणको अभावमा नेपालको सबैभन्दा पुरानो पेशा ‘पशुपालन’ अस्तित्वको लडाइँ लडिरहेको छ।

प्रा.डा. राजेशकुमार राई प्रा.डा. राजेशकुमार राई
२०८३ जेठ ९ गते ७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका उच्च हिमाली क्षेत्रमा पशुपालन संकटमा छ, चौंरी र भेडाको सङ्ख्या घट्दै गएको छ, जसले पुरानो जीवन प्रणाली कमजोर बनाएको छ।
  • जलवायु परिवर्तन, वन्यजन्तुसँग द्वन्द्व, पूर्वाधार अभाव र सामाजिक परिवर्तनले हिमाली पशुपालनमा चुनौती थपेका छन्।
  • पशुपालनलाई परम्परा, जैविक विविधता, पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोडेर दिगो विकास गर्न सरकारले बीमा, अनुदान र प्रविधि प्रयोगमा जोड दिनुपर्नेछ।

नेपालका उच्च हिमाली तथा पहाडी क्षेत्रका खर्कहरू केवल घाँसे मैदान मात्र होइनन्, ती हाम्रो संस्कृति, परम्परा, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीसँग गहिरो रूपमा जोडिएका जीवन्त सामाजिक–पारिस्थितिक प्रणाली हुन्। यिनै खर्कहरूले शताब्दीयौंदेखि हिमाली समुदायको जीवन धानेका छन् र हिमाली क्षेत्रको जैविक विविधता संरक्षणमा दरिलो जग बनेका छन्। याक, चौंरी, भेडा र च्याङ्ग्रा पालन केवल आर्थिक गतिविधि होइन, यो हिमाली समाजको जीवनशैली, पहिचान र सभ्यताको अभिन्न हिस्सा हो। तर विडम्बना, मानव सभ्यताको सबैभन्दा पुरानो पेशा मानिने पशुपालन आज नेपालका उच्च हिमाली क्षेत्रमा सङ्कटको मोडमा पुगेको देखिन्छ।

मानव इतिहासलाई हेर्दा पशुपालन मानव सभ्यताको विकाससँगै अघि बढेको पाइन्छ। हिमयुग समाप्त भएपछि वातावरणीय परिवर्तनसँगै वन तथा घाँसेमैदान विस्तार भए र मानिस स्थायी बसोबासतर्फ उन्मुख भयो। करिब १० हजार वर्षअघि मानिसले जनावर पाल्न शुरु गरेपछि मानव जीवनमा ठूलो परिवर्तन आयो। विशेषगरी खेती गर्न कठिन उच्च भूभाग र सुक्खा क्षेत्रमा पशुपालन जीवन धान्ने प्रमुख माध्यमका रूपमा विकास भयो।

नेपालमा पनि उच्च हिमाली र पहाडी क्षेत्रमा पशुपालनको लामो इतिहास छ। नेपालको करिब १२ प्रतिशत भूभाग खर्कले ओगटेको अनुमान गरिएको छ। यी खर्कहरू मुख्यतः २५०० मिटरभन्दा माथिका क्षेत्रमा अवस्थित छन्। हिमाली जीवनशैलीमा याक, चौंरी र भेडाच्याङ्ग्राको महत्त्व अत्यन्तै ठूलो छ। चौंरीबाट प्राप्त दूध, घिउ, छुर्पी तथा भेडाको ऊनले स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्छ। भेडा तथा च्याङ्ग्राबाट प्राप्त पस्मिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो स्थान बनाएको छ। नेपालको पस्मिना र गलैंचा उद्योगले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिंदै आएको छ।

यसका साथै पछिल्ला वर्षहरूमा उच्च हिमाली खर्कहरू पर्यटनका आकर्षक गन्तव्य बनेका छन्। डोल्पा, मुस्ताङ, मनाङ, रसुवा, सोलुखुम्बु, पाँचथर लगायत क्षेत्रमा पर्यटकहरू केवल हिमाल हेर्न मात्र होइन, स्थानीय जीवनशैली, पशुपालन प्रणाली र हिमाली संस्कृतिको अनुभव लिन पुग्ने गरेका छन्। यसले पर्यटन र पशुपालन बीच अन्तरसम्बन्ध पनि स्थापित गरेको छ।

तर, यति महत्त्वपूर्ण क्षेत्र क्रमशः कमजोर हुँदै गएको छ। तथ्याङ्कहरूले पनि पशुधनको सङ्ख्या घट्दै गएको सङ्केत गर्छन्। पछिल्ला वर्षहरूमा चौंरी र भेडाको सङ्ख्या उल्लेखनीय रूपमा घटेको देखिन्छ। सन् २०२२/२३ को तथ्याङ्क अनुसार नेपालमा चौंरीको सङ्ख्या ५३ हजार १९५ रहेको छ, जुन दुई वर्षअघि ६२ हजार ५६१ थियो। यसैगरी भेडाको सङ्ख्या पनि घट्दै गइरहेको छ। राष्ट्रिय कृषि गणना २०७८ अनुसार ४ लाख ७८ हजार भेडा रहेका छन्, जुन अघिल्लो दशकमा ६ लाख ३० हजार थियो। यसको अर्थ केवल पशुको सङ्ख्या घट्नु मात्र होइन, एउटा पुरानो जीवन प्रणाली कमजोर हुँदै जानु पनि हो।

यसका पछाडि धेरै कारण छन्। पहिलो, नीतिगत र संरचनागत चुनौती छन्। वन र कृषि सम्बन्धी निकायहरू बीच उचित तालमेल नहुँदा खर्क व्यवस्थापनमा पशुपालनमैत्री कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन। उच्च हिमाली क्षेत्रमा पशुपालन गर्ने समुदायले अझै पनि बजार, सेवा र पूर्वाधारमा सीमित पहुँच पाएका छन्। दुर्गम क्षेत्रमा सडक, स्वास्थ्य सेवा तथा पशु स्वास्थ्य सेवाको अभावले व्यवसायलाई थप कठिन बनाएको छ।

दोस्रो, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। हिमाली क्षेत्र तापक्रम वृद्धिप्रति संवेदनशील मानिन्छ। अनियमित वर्षा, हिमपातको बदलिंदो ढाँचा तथा खडेरीको बढ्दो समस्याले खर्कको उत्पादन क्षमतामा असर पुर्‍याइरहेको छ। घाँसको उत्पादन घट्ने मात्र होइन, उधौली र उभौलीको समयमा हुने अप्रत्याशित हिमपात र वर्षाले दुर्घटना बढाएको छ।

तेस्रो, वन्यजन्तुसँगको द्वन्द्व पनि ठूलो चुनौती बनेको छ। हिमचितुवा, ब्वाँसो र अन्य वन्यजन्तुबाट पशुधनमा हुने क्षतिले किसानहरू निराश हुने गरेका छन्। पशु गुमाउँदा उनीहरूले आर्थिक नोक्सानी मात्र होइन, मनोवैज्ञानिक असर पनि भोग्नुपर्छ। उचित बीमा तथा राहत प्रणालीको अभावले समस्या झन् गम्भीर बनेको छ।

चौथो र सम्भवतः सबैभन्दा महत्त्वपूर्ण चुनौती सामाजिक परिवर्तन हो। नयाँ पुस्ता शिक्षा, वैदेशिक रोजगारी तथा आधुनिक जीवनशैलीतर्फ आकर्षित हुँदै गएका छन्। पशुपालनलाई धेरैले कठिन, कम आम्दानी हुने र सामाजिक प्रतिष्ठा कम पाइने पेशाका रूपमा हेर्ने गरेका छन्। फलस्वरूप पुस्तान्तरणको समस्या देखिएको छ।

खर्क बारे बुझाइ

पशुपालन र जैविक विविधता बीचको सम्बन्धलाई पर्याप्त रूपमा बुझ्न नसकिएको अवस्था छ। सामान्य बुझाइमा ‘पशुपालनले वातावरणीय प्रणालीमा नकारात्मक असर पार्छ’ भन्ने धारणा पाइन्छ। त्यसैले कतिपय क्षेत्रमा चरिचरन बन्देज गरिएको छ। तर, खर्कको पारिस्थितिक प्रणालीलाई जोगाइराख्न उचित मात्रामा चरिचरन जरूरी छ। हिमाली क्षेत्रमा परम्परागत रूपमा अपनाइने उभौली–उधौली प्रणालीले दिगो चरन व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

हामीले अहिले नै नीतिगत र व्यावहारिक सुधार गर्न सकेनौं भने, भोलि खर्कहरू त बाँकी रहलान्, तर ती खर्कसँग जोडिएका हाम्रा कथा, संस्कृति र जीवनशैली सधैंका लागि हराउनेछन्

हिउँदमा तल्लो र गर्मीमा माथिल्लो क्षेत्रमा गोठ सार्ने अभ्यासले खर्कलाई पुनरुत्पादन हुनका लागि विश्रामको समय दिन्छ। यी क्षेत्रमा खुल्ला चरिचरन गरिन्छ, जसले घाँसका बीउ फैलाउन, माटोको उर्वरता कायम राख्न तथा खर्कलाई झाडी हुनबाट रोक्न सहयोग पुर्‍याउँछ। खुल्ला चरिचरनको अभ्यासले जनावरको गोबर र पिसाब खर्कमा रहन गई माटोलाई मलिलो बनाउन मद्दत गर्दछ।

यसले खर्कको उत्पादकत्व कायम राख्दै नाउर, थार, कस्तूरी लगायत वन्यजन्तुका लागि उपयुक्त वासस्थान निर्माण गर्दछ। यी जनावरहरू हिमचितुवाको मुख्य आहार हुन्। यसको अर्थ उचित रूपमा हुने पशुपालनले हिमचितुवा जस्ता सङ्कटापन्न वन्यजन्तुको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यसरी पशुपालन र जैविक विविधता बीच परस्पर निर्भर सम्बन्ध रहेको देखिन्छ।

अर्कोतर्फ, खर्कलाई कम मात्रामा उपयोग गर्दा वा पूर्ण रूपमा संरक्षण गर्दा पनि खर्कको अवस्थामा सुधार हुँदैन। खर्कको प्रयोग नहुँदा वा कम हुँदा घाँसे मैदानहरू विस्तारै झाडीमा परिणत हुँदै जान्छन्। यसले चरन प्रणालीमा मात्र असर गर्दैन, पारिस्थितिक प्रणालीको संरचनामा समेत परिवर्तन ल्याउँछ। यसकारण, पशुपालकहरू खर्कमा मात्र निर्भर रहँदैनन्, खुल्ला र घुम्ती चरिचरनले खर्कको पारिस्थितिक प्रणालीमा पनि सुधार ल्याउँदछ।

यसैले खर्कहरू सामाजिक–पारिस्थितिक प्रणालीका ज्वलन्त उदाहरण हुन्। चरन क्षेत्रको संरक्षण र उचित व्यवस्थापनलाई केवल पारिस्थितिक प्रणालीको संरक्षणको विषय मात्र नभई बहुआयामिक विषयका रूपमा बुझ्न आवश्यक छ।

अब के गर्ने ?

यदि हामीले हिमाली पशुपालनलाई जोगाउन चाहन्छौं भने यसलाई केवल परम्परागत पेशाका रूपमा हेरेर पुग्दैन। यसलाई संस्कृति, जैविक विविधता संरक्षण, पर्यटन, स्थानीय अर्थतन्त्र र दिगो विकाससँग जोडेर हेर्नुपर्छ। सरकारले पशुधन बीमा, अनुदान, पशु स्वास्थ्य सेवा तथा बजार पहुँचलाई प्राथमिकता दिन आवश्यक छ। स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गरेर ‘ब्रान्डिङ’ तथा बजारीकरण गर्न सकिन्छ।

युवा पुस्तालाई आकर्षित गर्न उद्यमशीलता कार्यक्रम, सीप विकास तथा प्रविधिको प्रयोग आवश्यक छ। आधुनिक प्रविधि र परम्परागत ज्ञानलाई जोड्न सके पशुपालनलाई थप उत्पादनमुखी र आकर्षक बनाउन सकिन्छ।

उच्च हिमाली क्षेत्रमा पशुपालन हराउनु भनेको एउटा पेशा हराउनु मात्र होइन, हाम्रो संस्कृति, परम्परा, जैविक विविधता र पहिचानको महत्त्वपूर्ण हिस्सा कमजोर हुनु पनि हो। त्यसैले आजको आवश्यकता भनेको परम्परा र आधुनिकतालाई जोड्दै हिमाली पशुपालनलाई पुनः सम्मानित, आकर्षक र दिगो पेशाका रूपमा विकास गर्नु हो।

यदि हामी अहिले पनि मौन बस्यौं भने भविष्यमा खर्कहरू त रहनेछन्, तर ती खर्कसँग जोडिएका कथा, संस्कृति र जीवनशैली हराउने खतरा रहनेछ। यसैले अनुसन्धान, तथ्याङ्क तथा स्थानीय ज्ञानलाई जोडेर नीतिनिर्माण गर्न सके दिगो समाधान खोज्न सहज हुनेछ।

यसबाहेक, उच्च हिमाली क्षेत्रमा पशुपालनको महत्त्व केवल आर्थिक हिसाबले मात्र मापन गर्न सकिंदैन। यसले सामाजिक सम्बन्ध र सामुदायिक संरचनालाई पनि बलियो बनाएको हुन्छ। परम्परागत रूपमा गोठ व्यवस्थापन, चरन क्षेत्रको प्रयोग, श्रम आदानप्रदान तथा सामूहिक निर्णय प्रणालीले समुदायभित्र सहकार्य र सामाजिक एकता निर्माण गर्न सहयोग पुर्‍याएको छ।

हिमाली क्षेत्रमा धेरै सामाजिक तथा सांस्कृतिक गतिविधि पशुपालनसँग जोडिएका हुन्छन्। पर्व, उत्सव तथा स्थानीय परम्पराहरूमा पशुधनको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहेको पाइन्छ। यसका साथै दूरदराजमा रहेको सीमा क्षेत्र संरक्षणमा पनि उनीहरूको अहम् भूमिका रहेको छ।

अन्त्यमा, आज विश्वभर चरन क्षेत्र र पशुपालक समुदायको महत्त्वबारे पुनः बहस शुरु भएको छ। खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनसँग जुध्न परम्परागत ज्ञान र स्थानीय अभ्यासको महत्त्व बढ्दै गएको छ। एक समय पुरानो र कम महत्त्वको मानिएको पशुपालन प्रणालीलाई अहिले धेरै देशले दिगो विकाससँग जोडेर पुनः मूल्याङ्कन गर्न थालेका छन्।

नेपालले पनि यो अवसरलाई उपयोग गर्न सक्छ। याक, चौंरी तथा भेडाच्याङ्ग्रासँग सम्बन्धित उत्पादनहरूको ब्रान्ड विकास, स्थानीय पर्यटनसँग एकीकरण तथा जैविक उत्पादनको बजार विस्तार गर्न सके हिमाली अर्थतन्त्रलाई नयाँ दिशा दिन सकिन्छ। हिमाली क्षेत्रको भविष्य केवल पूर्वाधार विकासले मात्र सुनिश्चित हुँदैन। त्यहाँका स्थानीय ज्ञान, परम्परा र प्रकृतिसँग जोडिएका जीवन प्रणालीको संरक्षण पनि उत्तिकै आवश्यक छ।

(लेखक त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानमा प्राध्यापन गर्छन्।)

लेखक
प्रा.डा. राजेशकुमार राई

प्रा.डा. राजेशकुमार राई त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानमा प्राध्यापन गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?