+
+
Shares
फिफा विश्वकप २०२६ :

प्लेयर्स टु वाच : ड्रिब्लर ब्वाई अर्थात् लियोनल मेस्सी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लियोनल मेस्सीले अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप उपाधि जिताए ।
  • विश्वकप इतिहासमा सबैभन्दा धेरै २६ खेल खेलेका मेस्सी प्रतियोगिताको दुई संस्करणमा गोल्डेन बल जित्ने एकमात्र खेलाडी हुन् ।
  • प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोली मेस्सीकै साथमा आगामी २०२६ को विश्वकप उपाधि रक्षा गर्ने योजनामा छ ।

११ जेठ, काठमाडौं । फुटबल इतिहासका सबैभन्दा सफल र प्रभावशाली खेलाडीमध्ये एक हुन्, अर्जेन्टिनी स्टाइकर लियोनल मेस्सी ।

उनी सानो ठाउँमा पनि विपक्षी खेलाडीलाई सजिलै छक्याउन सक्ने उत्कृष्ट ड्रिब्लर रुपमा परिचित छन् । मेस्सी गोल गर्नेमात्र होइन, सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडीमध्ये अग्रस्थानमा छन् । उनले विश्व फुटबलको सर्वश्रेष्ठ खेलाडीको रूपमा फिफाबाट आठ पटक द बेष्ट सम्मान पाएका छन् ।

स्पेनिस क्लब एफसी बार्सिलोना मा १७ सिजन बिताएका उनले ३४ वटा उपाधि जिताउन सफल भए । त्यसपछि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन पुगेर लगातार दुई पटक लिग–१ को उपाधि जिताए ।

अमेरिकी क्लब इन्टर मियामीलाई इतिहासकै पहिलो एमएलएस कपको उपाधि जिताएका थिए । क्लब स्तरमा मात्रै उनले ४० ट्रफी जितेका छन् । उनले फिफा विश्वकप, पुरुष ओलम्पिक फुटबल प्रतियोगिता, युइएफए, कोपा अमेरिकासहितका धेरै प्रतियोगिताको उपाधि जितेका छन् । उनले ३५ वर्षीय उमेरमा अर्जेन्टिनालाई सन् २०२२ मा कतार भएको फिफा विश्वकपको उपाधि जिताएका थिए ।

बाल्यकालमा मेस्सी ग्रोथ–हर्माेनको कमी समस्याबाट पीडित थिए । १३ वर्षको उमेरमा एफसी बार्सिलोनामा ट्रायल दिन जाँदा उनको उचाइ ४ फिट ६ इन्च थियो । पूर्व डिफेन्डर जेरार्ड पिकेले पछि सम्झँदै भनेका थिए, ‘उसले बल नछुन्जेल हामीले उसलाई अस्वीकार गर्ने सोच बनाइसकेका थियौं । तर जब उसले बल चलायो, सबै शंका समाप्त भयो ।’

सुरुमा बार्सिलोनाका अधिकारीहरू मेस्सीलाई अनुबन्ध गर्न हिच्किचाएका थिए । उनको शारीरिक अवस्था र उपचार खर्च ठूलो थियो । तर क्लबका प्राविधिक निर्देशक चार्ली रेक्सचले एउटा कागजको न्यापकिनमै मेस्सीसँग सम्झौता गरेका थिए । यो फुटबल इतिहासकै चर्चित घटनामध्ये एक मानिन्छ ।

मेस्सी पाँच फरक विश्वकपमा असिस्ट गर्ने एकमात्र खेलाडी हुन् । यस्तै नकआउट चरणमा सबैभन्दा धेरै ६ असिस्ट गर्ने कीर्तिमान पनि पेले र मेस्सीको संयुक्त नाममा छ ।

फिफा विश्वकप इतिहासकै सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि मेस्सी नै हुन् । उनले २६ खेल खेलिसकेका छन् । २०२२ को फिफा विश्वकपको फाइनलपछि मेस्सीले विश्वकप इतिहासमा सबैभन्दा धेरै मिनेट खेल्ने कीर्तिमान पनि बनाए । उनले कुल २ हजार ३१४ मिनेट खेलेर पाओलो माल्दिनीलाई पछि पारे । मेस्सीले विश्वकपमा कप्तानका रूपमा रेकर्ड १९ खेल खेलेका छन् ।

मेस्सी एउटै विश्वकपमा समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल- सबै चरणमा गोल गर्ने एकमात्र खेलाडी हुन् । उनले यो उपलब्धि कतार विश्वकप २०२२ मा हासिल गरेका थिए ।

विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल र असिस्टको संयुक्त संख्या २१ रहेको छ, जुन कीर्तिमान पेले र मेस्सीको नाममा बराबरी छ । उनले विश्वकपमा कीर्तिमानी ११ पटक प्लेयर अफ द म्याच पुरस्कार जितेका छन् ।

मेस्सी अर्जेन्टिनाका विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । उनले १३ गोल गरेका छन् । मेस्सी दुई पटक विश्वकप गोल्डेन बल जित्ने एकमात्र खेलाडी हुन् ।

मेस्सीको विश्वकप यात्रा

मेस्सीले आफ्नो पहिलो विश्वकप नै सम्झनलायक बनाए । २००६ को विश्वकपअन्तर्गत सर्बिया, मोन्टेनेग्रोविरुद्ध वैकल्पिक खेलाडीको रुपमा १५ मिनेट मैदानमा बिताएका उनले एक गोल र एक असिस्ट गरे ।

उक्त खेलमा अर्जेन्टिनाले ६–० को शानदार जित निकालेको थियो । तर क्वार्टरफाइनलमा जर्मनीविरुद्धको खेलमा मेस्सीलाई बेन्चमै राखियो र अर्जेन्टिना पेनाल्टी सुटआउटमा पराजित भयो ।

सन् २०१४ मा भएको विश्वकपमा मेस्सीले अद्भुत ड्रिब्लिङ र शानदार गोलमार्फत विश्वलाई चकित पारे । उक्त संस्करणमा मेसीले गोल्डेन बल जिते । तर अर्जेन्टिना फाइनलमा पराजित हुन पुग्यो ।

सन् २०१८ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको अर्जेन्टिनाले २०२२ को विश्वकपको उपाधि जित्न सफल भयो । मेस्सीले टोलीलाई उपाधि मात्र जिताएनन्, आफूले प्रतियोगिताभर ७ गोल गर्दै गोल्डेन बल हात पारे ।

२०२६ विश्वकपमा अर्जेन्टिना र मेस्सीको सपना

पछिल्ला ६२ वर्षमा कुनै पनि टोलीले लगातार दुई पटक विश्वकप जित्न सकेको छैन । अघिल्लो संस्करणको विश्वकपको उपाधि जितेको अर्जेन्टिना योपटक पनि उपाधि जित्दै ६२ वर्ष पुरानो परम्परालाई तोड्न चाहन्छ ।

अर्जेन्टिनालाई २०२२ मा विश्वकप जिताएका लियोनेल स्कालोनीले यसपटक पनि टोलीको प्रशिक्षण गराउने छन् । मेस्सीको ड्रिब्लिङ र गोल गर्ने क्षमताबाट विपक्षीलाई कठिनाइमा पक्कै पार्ने छ । गोलपोस्टमा भरपर्दा एमिलियानो मार्टिनेज छन् भने रक्षापंक्तिमा क्रिस्टियन रोमेरोले मजबुत नेतृत्व गरिरहेका छन् ।

गत संस्करणमा युवा खेलाडीको अवार्ड जितेका मिडफिल्डरमा एन्जो फर्नान्डेज प्रभावशाली खेलाडीका रूपमा विकसित भएका छन् । उनलाई रोड्रिगो डे पल र एलेक्सिस म्याक एलिस्टरले साथ दिइरहेका छन् । आक्रमण पंक्तिमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेज विश्वस्तरीय स्ट्राइकरका रूपमा अजेन्टिनाको मुख्य हतियारको रुपमा छन् ।

नयाँ पुस्ताका उदाइरहेका थियागो अल्माडा, निको पाज र फ्रान्को मास्तन्तुओनोले टोलीलाई सिर्जनात्मकता र नयाँ ऊर्जा प्रदान गरिरहेका छन् । यस कारण अर्जेन्टिना फेरि एकपटक विश्वकप जित्ने प्रमुख दाबेदार टोलीमध्ये गनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?