+
+
Shares

पश्चिमसेती सपना चार दशकदेखि अधुरै

‘हामीले परियोजना बन्नै हुँदैन भनेका छैनौं,’ केदारस्यूँ गाउँपालिका–१ का ६८ वर्षीय अर्जुन सार्की भन्छन्, ‘हामीले त बन्ने भए छिटो बनाउ, नबन्ने भए बन्दैन भनिदेउ मात्रै भनेका छौं ।’

रामहरि ओझा रामहरि ओझा
२०८३ जेठ १२ गते ७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा ४० वर्षभन्दा बढी समय ढिलाइ हुँदा बझाङका स्थानीय बासिन्दामा निराशा छाएको छ।
  • आयोजना बन्ने वा नबन्ने अन्योलका कारण सम्भावित डुबान क्षेत्रका नागरिकले आफ्नो थातथलोमा थप लगानी गर्न सकेका छैनन्।
  • स्थानीयवासीले आयोजना निर्माण हुने भए चाँडो बनाउन र नहुने भए स्पष्ट रूपमा घोषणा गर्न सरकारसँग माग गरेका छन्।

१२ जेठ, डोटी । बझाङ्गको केदारस्यूँ गाउँपालिका–१ देउराका मिन विष्ट (८१)ले आफ्नो घर नजिकै बगिरहेको सेती नदीबाट बिजुली उत्पादन हुने र गाउँ झिलिमिली हुने भन्ने सुनेको चार दशकभन्दा बढी भयो । तर परियोजना बन्नु त परकै कुरा बन्ने छाँटकाँट पनि देख्दैनन् उनी ।

‘म ३६/३७ वर्षको हुँदा सेतीको पानीबाट बिजुली बन्ने कुरा सुनेको थिएँ,’ विष्ट भन्छन्, ‘त्यतिबेला हाम्रै गाउँमा पानीबाट बिजुली बन्छ भन्ने सुन्दा अचम्म लाग्थ्यो ।’ बत्ती बाल्नलाई मट्टितेल समेत दुर्लभ हुने ठाउँमा बिजुली उत्पादन भएर गाउँ झिलिमिली हुने भनेपछि आफू उत्साहित भएको तर त्यो उत्साह पछि निराशामा परिणत हुँदै गएको उनी बताउँछन् ।

परियोजना बन्ने भन्ने हल्ला उनले अहिले पनि सुन्दैछन् । उनी अब आफ्नो जीवनमा त बत्ती बलेको देख्ने आश राख्दैनन् तर बनिदिए राम्रो हुन्थ्यो भन्ने चाहना राख्छन् ।

बझाङकै थलारा गाउँपालिका–१ पिपलकोटका विश्वनाथ जोशीले पनि ८१ मा टेके । उनी पश्चिम सेती परियोजनाको कुरा गर्दा भावुक हुँदै एक पुरानो घटना सम्झिन्छन् । ‘सायद २०५६/०५७ सालतिरको कुरा हो, एक जना अष्टे«लियाको मान्छे र केही नेपाली मान्छेहरु गाउँमा आए । उनीहरुले धेरै दिनसम्म नदीको पानी नाप्ने, वरपरको गाउँतिर घुम्ने गर्थे,’ जोशी भन्छन्, ‘एक दिन ती अष्ट्रेलियाका मान्छे बिरामी भए, उनको देउराभन्दा अलि तल एकाएक निधन भयो ।’ ती विदेशी इन्जिनियर भएको र सेतीबाट बिजुली निकाल्नका लागि आएका हुन् भन्ने सुनेका थिए उनले । पछि उनको शव लैजानका लागि हेलिकप्टर आएको उनी बताउँछन् ।

परियोजना बन्यो भने देउरा बजार र आसपासका केही गाउँहरु विस्थापित हुने कुरा सुनेका छन् विश्वनाथले । उनी भन्छन् ‘देशकै हित हुन्छ भने त हामीले अरु ठाउँ बसाइँ सर्दा के समस्या भयो र !’

तर परियोजना बन्ने/नबन्ने विषय प्रष्ट हुनुपर्ने उनको भनाइ छ । ‘४२/४३ वर्षदेखि परियोजना बन्छ भन्दैछन्, एक टोली आउँछ, कहिले नदीको पानी नाप्छन्, कहिले जग्गाको विवरण लिन्छन्, कहिले परिवारको विवरण लिन्छन्,’ विश्वनाथ भन्छन्, ‘कुरामात्रै भइरहने, काम कहिल्लै नहुने भयो ।’ मिन विष्ट जस्तै विश्वनाथ पनि आशावादी भने छन् ।

पश्चिम सेती परियोजना बन्यो भने यसले देशलाई नै फाइदा हुन्छ भन्ने सुनेका छन् उनले । तर, देशकै विकासका लागि फाइदा हुने योजना भएर पनि नबन्नुको कारण के रहेछ भन्ने प्रश्न छ उनको । ‘सबैले परियोजना बन्छ, बन्छ भन्ने त सुनेको छु तर नबन्ने किन रहेछ, त्यो थाहा पाएन,’ विश्वनाथले थपे ।

केदारस्यूँ गाउँपालिका–१ कै ६८ वर्षीय अर्जुन सार्कीले आफूहरु सानै छँदादेखि परियोजनाको बारेमा सुन्दै आएको बताउँछन् । परियोजना बन्ने/नबन्ने विषयमा उनको एउटै धारणा छ ‘सरकारले चाह्यो भने बन्ने हो, सरकारले चाहेको छैन, त्यसैले बन्दैन ।’

उनी परियोजना बनाउन त्यति सजिलो नहुने बताउँछन् । उनका अनुसार परियोजना बन्यो भने देउरा बजार डुबानमा पर्छन् । त्यो क्षेत्रमा पुस्तौंदेखि बसोबास गर्दै आएका स्थानीयवासीहरु अन्यत्र सर्नुपर्छ । ‘उनीहरुको बसोबासको उचित व्यवस्थापन गर्न सक्छ कि सक्दैन सरकारले ?’ अर्जुन भन्छन्, ‘पुस्तौंदेखि बस्दै आएको ठाउँ त्यत्तिकै छोडेर जाने कुरा हुँदैन ।’

उनी परियोजना बन्नुपर्ने बताउँछन्, तर आफूहरुको उचित व्यवस्थापन हुनुपर्ने उनको माग छ ।

पश्चिम सेती परियोजनाको विषय निकाल्दा निकै आक्रोशित भए एक स्थानीय युवक । देउरा बजारमै पसल व्यवसाय गर्दै आएका उनी यस विषयमा कुरा गर्न पनि चाहँदैनन् । ‘यो नेताहरुको चुनावी मुद्दा मात्रै हो, यो परियोजना बन्ने/बनाउने केही होइन्,’ ती युवक भन्छन्, ‘त्यसैले यस विषयमा कुरा गर्नु नै व्यर्थ हो ।’

उमेरले ४० टेकेका उनी आफूले होस सम्हालेदेखि नै पश्चिम सेती परियोजनाको कुरा सुन्दै आएको बताउँछन् । परियोजना बन्ने र पछि विस्थापित हुनुपर्ने भन्दै सम्भावित डुबान क्षेत्रमा आधारभूत पूर्वाधार विकास समेत नबनेको उनको बुझाइ छ । कुन दिन उठेर जानुपर्ने हो भनेर स्थानीयवासीहरुले पनि लगानी नगर्ने गरेको उनको भनाइ छ ।

उनी व्यंग्यात्मक शैलीमा भन्छन्, ‘सरकारले अब पश्चिम सेती परियोजना बन्दैन भनिदिएको भए यहाँका बासिन्दाहरु ढुक्क भएर आफ्नो काम गर्थे ।’

परियोजना बन्नुपर्नेमा स्थानीयवासीहरु सहमत भने छन् । तर सरकारले बेलाबेलामा परियोजना बन्ने हल्ला मात्रै गर्ने, काम केही नगर्ने भएपछि आफूहरु बिच्किएको बताउँछन् अर्जुन सार्की । ‘हामीले परियोजना बन्नै हुँदैन भनेका छैनौं,’ उनी भन्छन्, ‘हामीले त बन्ने भए छिटो बनाउ, नबन्ने भए बन्दैन भनिदेउ मात्रै भनेका छौं ।’

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?