News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको १० जेठभित्र आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् ।
- सम्पत्ति विवरण नबुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५ जना र नेपाली कम्युनिष्ट पार्टीका १ जना सांसद रहेका छन् ।
- तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउनेलाई १० हजार रुपैयाँ जरिबाना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने व्यवस्था छ ।
१२ जेठ, काठमाडौं । ६ जना प्रतिनिधिसभा सदस्यले समयमै आफ्नो सम्पति विवरण नबुझाएको पाइएको छ ।
संघीय संसद् सचिवालयले यही जेठ १० गतेसम्म सांसदहरूलाई सम्पति विवरण बुझाउन भनेको थियो । तोकिएको समयमा २५४ जना सांसदले सम्पति विवरण बुझाएका छन् ।
हाल १७ जना मन्त्री रहेका छन् । मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै सम्पति विवरण बुझाए हुन्छ । एक जना बहालवाला मन्त्रीले पनि आफ्नो सम्पति विवरण संसद् सचिवालयमा बुझाएका छन् । अर्का एक जना मन्त्रीबाट बाहिरिएका सांसदले पनि सम्पति विवरण संसद् सचिवालयमा बुझाएका छन् ।
संसद् सचिवालयमै सम्पति विवरण बुझाउनुपर्ने ६ जनाले नबुझाएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा २७५ सदस्यीय छ ।
भ्रष्टाचार निवारण ऐनको दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन को दफा ३१क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
यही व्यवस्था स्मरण गर्दै संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई यही जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन भनेको थियो ।
यस समयभित्र ६ जना सांसद्ले सम्पत्ति विवरण नबुझाएका हुन् ।

फेरि पनि समयमै सम्पत्ति विवरण पेश नगर्नेलाई दश हजार रुपैयाँ जरिबाना हुनेछ । साथै सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा छानबिन अघि बढाउन सक्ने कानुनी व्यवस्था छ ।
सम्पत्ति विवरण नबुझाउने ६ जना सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५ जना रहेका छन् भने एक जना नेपाली कम्युनिस्ट पार्टीका सांसद् छन् ।
संसद् सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढाले म्याद थपका लागि निवेदन दिएका छन् । कानुनत: मयाद थपको निवेदन प्राप्त भएको खण्डमा थप ३० दिनको समय सम्पति विवरण बुझाउनका निम्ति प्राप्त हुनेछ ।
बाँकी ५ जनाले सम्पति विवरण बुझाउनका निम्ति म्याद थपको निवेदन समेत दिएका छैनन् ।
रास्वपाका सांसदहरू आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो रहेका छन् । प्रमोद कुमार महतो महोत्तरीका हुन् भने रबिन महतो सर्लाहीका हुन् ।
आशा झा मोरङकी हुन् । ज्ञवाली कैलालीका हुन् भने तपेश्वर यादव सिरहाका हुन् ।
सम्पति विवरण नबुझाएकोबारे बुझ्न खोज्दा सांसद आशा झा र कोमल ज्ञवालीसँग सम्पर्क हुन सकेन । सांसद तपेश्वर यादव र रबिन कुमार महतोको फोन उठेन ।
अर्का सांसद प्रमोद कुमार महतोले इमरजेन्सी भएर काठमाडौं बाहिर रहेकोले समपति विवरण बुझाउन ढिलाइ भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘आजै गएर बुझाउँछु ।’
प्रतिक्रिया 4