१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले पानीमा डुबेर र बगेर बर्सेनि सयौंको ज्यान गइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यसमा सरकारको ध्यान जानुपर्ने आग्रह गरेका छन् ।
नेपाल प्रहरीको तथ्यांक उद्धृत गर्दै उनले बर्सेनि करिब ४ सय जनाको डुबेर वा बगेर मृत्यु हुने गरेको बताए । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा पानीमा बगेर र डुबेर १५ सयसम्मको मृत्यु हुने गरेको उनले सुनाए । पीडितमध्ये आधा भन्दा धेरै २५ वर्ष मुनिका रहेको उनले बताए ।
सिन्धुलीमा भंगालो डुबेर दुई नाबालकको निधन भएको पनि उनले स्मरण गरे ।
यस्तो अवस्थामा पानीजन्य जोखिमबारे जनचेतना फैलाउनुपर्ने गजुरेलको आग्रह छ ।
साथै, पूर्वाधार निर्माणमा खाल्डाखुल्डी छाड्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
बालबालिकाको सुरक्षाका लागि विशेष ध्यान दिन पनि उनले सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया 4