News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थामा कर्जा लगानीको तुलनामा निक्षेप संकलन ५ गुणा बढी भएको छ ।
- राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरेको छ ।
- चालु आर्थिक वर्षको पुससम्म सुदूरपश्चिम प्रदेशबाट २६ हजार ३ सय ४३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
१२ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थामा कर्जा लगानीको तुलनामा निक्षेप संकलन ५ गुणा बढी भएको छ । आर्थिक गतिवधि सुस्त हुँदा कर्जाको मागमा आएको कमीका कारण निक्षेप धेरै भएको हो ।
चालु आर्थिक वर्षमा समग्र अर्थतन्त्रमा माग बढ्न सकेन । त्यसले गर्दा कर्जा लगानी पनि न्यून भयो । तर, रेमिट्यान्स आप्रवा निरन्तर बढ्दा निक्षेप संकलन बढ्न पुग्यो । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिँदै जाने तर कर्जा लगानी सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था बनेको हो । यो अवस्था तत्काल सुधार हुने संकेत देखिएको छैन ।
२०८२ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८१ पुस मसान्तको तुलनामा २५.३६ प्रतिशतले वृद्धि भई १ खर्ब ८१ अर्ब ५० करोड ८० लाख पुगेको छ ।
यस्तो निक्षेप २०८२ असार मसान्तको तुलनामा ४.४२ प्रतिशतले बढेको हो । २०८२ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सुदूरपश्चिम प्रदेशमा प्रवाह गरेको कुल कर्जा २०८१ पुस मसान्तको तुलनामा ५.०५ प्रतिशतले वृद्धि भएर १ खर्ब ६१ अर्ब ८३ लाख पुगेको छ । यस्तो कर्जा २०८२ असार मसान्तको तुलनामा २.२९ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत र आधारभूत मूल्यमा ३.११ प्रतिशत रहने अनुमान राष्ट्रिय तथ्याङक कार्यालयको छ ।
आर्थिक वर्ष २०८२/८३ को कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः ३३.६५ प्रतिशत, १३.६९ प्रतिशत र ५२.६६ प्रतिशत रहने अनुमान छ ।
चालु आवको पुससम्ममा प्रमुख कृषि बालीले ढाकेको भू–क्षेत्र २.३८ प्रतिशतले ह्रास आएको छ भने यस्ता बालीको उत्पादन ४.९४ प्रतिशतले घटेको छ । सो अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन २.०१ प्रतिशत, तरकारी तथा बागवानीको उत्पादनमा २२.४३ प्रतिशतले ह्रास आएको छ । फलफूलको उत्पादनमा ९.९५ प्रतिशतले वृद्धि भएको छ । पशुजन्य उत्पादन अन्र्तगत दूध उत्पादन २५.११ प्रतिशत, ऊन उत्पादन १०.३४ प्रतिशत र छाला उत्पादन ३.७८ प्रतिशतले बृद्धि भएको छ भने मासुजन्य उत्पादन ०.१७ प्रतिशत र अण्डा उत्पादन २.१० प्रतिशतले घटेको छ ।
चालु आवको सो अवधिमा सुदूरपश्चिम प्रदेशमा कुल सिँचित क्षेत्रफल ५.४० प्रतिशतले वृद्धि भएको छ भने प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफलको ३१ प्रतिशत क्षेत्रफल सिँचित रहेको छ । यस प्रदेशमा प्रवाहित कुल कर्जाको ९.७१ प्रतिशत कर्जा कृषि क्षेत्रतर्फ प्रवाह भएको छ ।
सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा २०८२ असार मसान्तको तुलनामा २.०२ प्रतिशतले ह्रास भई १५ अर्ब ६४ करोड ११ लाख १० हजार पुगेको छ । यस प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३०.८२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो उपयोग ३५.७९ प्रतिशत थियो । चालु आवको सो अवधिमा औद्योगिक उत्पादनमध्ये तोरीको तेल, रोजिन, चामल र साबुनको उत्पादनमा वृद्धि भएको छ भने अन्य सबै उद्योगका उत्पादनमा कमी आएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये १७.१६ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाह भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा २०८२ असार मसान्तको तुलनामा ३.४१ प्रतिशतले घट्न गई पुस मसान्तसम्म २७ अर्ब ६३ करोड ३५ लाख ५० हजारमा झरेको छ ।
यो प्रदेशमा चालु आवको पुसम्ममा पर्यटकको आवागमनमा गत वर्षको सोही अवधिको तुलनामा ४९.०७ प्रतिशतले वृद्धि भएको देखिन्छ । जग्गा रजिष्ट्रेसन संख्या ९.५३ प्रतिशतले बढेको छ भने रजिष्ट्रेसन राजस्व २.६० प्रतिशतले बढेको छ । यस प्रदेशमा कुल १२ हजार ४ सय ५५ यातायातका साधन दर्ता भएका छन् ।
चालु आवको सो अवधिमा यस प्रदेशबाट २३ हजार ९ सय १९ जना पुरुष तथा २ हजार ४ सय २४ जना महिला गरी जम्मा २६ हजार ३ सय ४३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति ७४.८५ प्रतिशत र वित्तीय प्रगति ७१.४७ प्रतिशत छ । महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत छ । त्यसैगरी, महाकाली पुल आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९२.५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4