+
+
Shares

प्रधानमन्त्री हराए, खोजेर संसद्‌मा हाजिर गराइयोस् : एमाले सांसद बराल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन माग गरेकी छन् ।
  • उनले नागरिकहरूले प्रधानमन्त्री कहाँ हराउनुभएको भनी सोधेको उल्लेख गर्दै उहाँलाई तत्काल सदनमा उपस्थित गराउन माग गरिन् ।
  • प्रतिनिधिसभा नियमावली बमोजिम हुनुपर्ने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम असार १५ गतेसम्मको संसदीय क्यालेन्डरमा समेटिएको छैन ।

१२ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले प्रधनमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्‌मा  उपस्थित गराउन माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकले यस्तो माग गरेको बताइन् ।

‘नेपाली जनताको माग छ । प्रधानमन्त्री सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनुभयो भनेर भनिदिनु भन्नुभएको छ,’ उनले भनिन्, ‘उहाँ (प्रधानमन्त्री)लाई उपस्थित गराउनुहुन र हाजिर गराउनुहुन अनुरोध गर्दछु ।’

प्रधानमन्त्री बालेनले हालसम्म संसद्लाई सम्बोधन गरेका छैनन् । नीति तथा कार्यक्रममाथिको छलफलमा विपक्षी दलहरूले प्रधानमन्त्री खोजेका थिए । तर उपस्थित भएनन् ।

संसद्मा हुनुपर्ने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन हुन सकेको छैन ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यस सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो । केहीगरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।

नियम ५६ को उपनियम १ मा अगाडि भनिएको छ, ‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।’

तर, यस्तो प्रावधान आगामी असार १५ गते सम्मको संसदीय क्यालेन्डरमा परेको छैन ।

प्रतिनिधिसभा नियमावली अनुसार जेठ महिनामा एउटा र असार महिनामा अर्को गरी दुई पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने हो । तर, दुवै महिनामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने विषय संसदीय क्यालेन्डरमा आएको छैन ।

संसदीय क्यालेन्डर अनुसार जेठ ४ गतेबाट प्रतिनिधिसभाको बैठक चलिरहेको छ । हालसम्म संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

यो पृष्ठभूमिमा सांसद बरालले प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन माग गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?