+
+
Shares

सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?

‘यो सदन जान्न चाहन्छ । तपाईँलाई रुलिङको अधिकार प्रयोग गर्न कसले रोक्यो ? कसले छेकेको छ ? तपाईं कार्यपालिकाप्रमुख प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नुहुन्न र ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १७:३९

१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको क्षमतामाथि नै प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै काग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन किन रुलिङ नगरेको भनेर प्रश्न गरे ।

‘तपाईँलाई रुलिङ गर्ने अधिकार छ, प्रधानमन्त्रीमाथि । कुनै पनि मन्त्री,  प्रधानमन्त्री र सांसदमाथि रुलिङ गर्ने अधिकार छ । त्यो अधिकार प्रयोग गर्न कसले रोकेको छ ?’ शाहले भने ।

यहीँनेर उनले सभामुखको क्षमतामाथि समेत प्रश्न गरेका हुन् ।

‘यो सदन जान्न चाहन्छ । तपाईँलाई रुलिङको अधिकार प्रयोग गर्न कसले रोक्यो ? कसले छेकेको छ ?’ साहले भने, ‘तपाईं कार्यपालिकाप्रमुख प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नुहुन्न र ?’

यो विषयमा पुरै नेपालले जवाफ चाहेको उनले बताए । सभामुखबाट रुलिङ भएर प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराइनुपर्ने उनको आग्रह छ ।

जवाफमा सभामुख अर्यालले प्रधानमन्त्रीले संसद्मा आउने तयारी गरिरहेको बताए । छिट्टै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने विषय पटक–पटक दोहोर्‍याए ।

‘माननीय सदस्यहरूले मिति माग्नुभएको छ । डेट, समय । सदन चलेकै दिन आउनुहुन्छ सम्मननीय प्रधानमन्त्री ज्यू । म सदन चलेकै दिन सम्माननीय ज्यूलाई बोलाउँछु’ सभामुख अर्यालले भने ।

प्रधानमन्त्रीले समय तय गरेर त्यसको सूचना दिएपछि त्यसबारे सदनलाई जानकारी गराउने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?