News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुलिएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
- हालसम्म चक्रीय कोष स्थापना नभएकाले सहकारीकै ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट मात्रै बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
- समस्याग्रस्त घोषित २० सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताको रकम चरणबद्ध रूपमा फिर्ता भइरहेको छ ।
१३ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुलिएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले राज्यकोषको रकमबाट बचत फिर्ता नगरिएको जनाएको हो ।
समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजार भन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताको रकम फिर्ता कार्य चरणबद्ध रुपमा भइरहेको छ । तर हालसम्म चक्रिय कोष स्थापना भने भएको छैन ।
समितिका अनुसार यी सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकमबाट सम्बन्धित बचतकर्तालाई रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।
‘हालसम्म समितिमा चक्रीय कोष स्थापना भई खाता सञ्चालन नभएको, तथापि समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा भइरहेको जानकारी गराइन्छ’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ को बैठकबाट स्वीकृत १०० कार्यसूचीको बुँदा नम्बर ९९ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धि कार्यविधि, २०८३’ जारी गरेको छ ।
समितिले कर्जा असुलीलाई प्राथमिकता दिई काम गरीरहेको र हालसम्म सम्बन्धित सहकारीका ऋणीबाट असुल भएको रकम सोही सहकारीका बचतकर्तालाई फिर्ता गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4