News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान छ ।
- नेपालमा वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ भने कुल जडित क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ ।
- नवीनतम आर्थिक सर्वेक्षण अनुसार नेपालको निरपेक्ष गरीबी २०.२७ प्रतिशत कायम छ भने बहुआयामिक गरीबी १७.४ प्रतिशतमा झरेको छ ।
१३ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ को दस्तावेज संसद्मा प्रस्तुत गर्दा नयाँ प्रयोग गरे ।
साविकमा अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण पुस्तिकालाई निलो कभर (गाता) मा ल्याउने गरेको थियो । अर्थ मन्त्रालयका अनुसार यसपालि आर्थिक सर्वेक्षणबाटै परिवर्तनको आभास दिन खोजिएको थियो । सोही क्रममा नेपाली कागज प्रयोग गरी गाता आकर्षक बनाइयो ।
आकर्षक गाताभित्रका तथ्यांक केलाउँदा भने नेपालको अर्थ–सामाजिक अवस्थामा मिश्रित नतिजा पाइन्छ । अर्थतन्त्रको अधिकांश सूचक कमजोर देखिन्छन् । तर, सामाजिक सूचक भने सन्तोषजनक अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।
चालु आव २०८२/८३ मा सरकारले साढे ६ प्रतिशत हाराहारी आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, अर्थतन्त्र विस्तार ३.८५ प्रतिशतमा सीमित रहने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।
गत आव आर्थिक वृद्धिदर ४.४३ प्रतिशत थियो । यस वर्ष प्रदेशहरूको आर्थिक वृद्धिदर समेत कमजोर छ । बागमती र गण्डकी बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल छ ।

अर्थमन्त्री वाग्लेका अनुसार विश्व भूराजनीतिक तनाव, पश्चिम एसियामा जारी युद्ध र इन्धन मूल्यमा भएको भारी वृद्धि लगायत कारण मुलुकको अर्थतन्त्रमा समेत असर परेको छ । मध्यपूर्वी एसिया लगायत देशमा कार्यरत नेपाली कामदारको रोजगारी प्रत्यक्ष प्रभावित भई विप्रेषण आप्रवाहमा प्रतिकूल असर पर्न सक्ने जोखिम कायमै रहेको विश्लेषण मन्त्रालयको छ । यसबाट पर्यटक आगमन घट्न सक्ने, पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्र मूल्यवृद्धि भएको समेत देखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार तराई क्षेत्रमा धान रोप्ने समयमा परेको खडेरी र धान भित्र्याउने बेलाको अधिक वर्षाले धान उत्पादन घटेको छ । यसले समग्र कृषि क्षेत्रमा असर गरेको छ । मुद्रास्फीति भने लक्षित सीमा भित्रै छ ।
राजस्व परिचालन न्यून, पूँजीगत खर्च कमजोर
चालु आव ८ महिनाको तथ्यांक हेर्दा राजस्व परिचालन केही बढे पनि वृद्धिदर न्यून छ । फागुनसम्म संघीय राजस्व ६ खर्ब ५१ अर्ब संकलन भएको छ । गत वर्ष सोही अवधिमा राजस्व ६ खर्ब ३१ अर्ब रुपैयाँमात्र उठेको थियो । संघीय खर्च बढेको देखिएको छ । तर, पूँजीगत खर्च बढ्न सकेको छैन । ८ महिनामा कुल सरकारी खर्च ९ खर्ब २६ अर्ब बराबर भएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ३९ अर्ब सरकारी खर्च थियो ।
सूचकांक अनुसार सरकारको बजेट घाटा बढेको छ । राजस्व बचत घट्दै गएको देखिन्छ । फागुनसम्म संघीय सरकारको वित्त सन्तुलन ५८ अर्ब १ करोडले घाटामा छ । सार्वजनिक वित्तीय क्षेत्रलाई बलियो बनाउन बजेट तर्जुमाको समयसीमा, कोष व्यवस्थापन र विद्युतीय प्रणाली मार्फत रकम फिर्ता गर्ने विषयलाई व्यवस्थापन गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ संशोधन सहित सुधारका काम गरिएको अर्थले जनाएको छ ।
फागुनसम्म आन्तरिक र वाह्य ऋण परिचालन गत आव सोही अवधिको तुलनामा १०.२ प्रतिशतले घटेर ३ खर्ब ४७ करोड कायम भएको छ । यस अवधिमा वैदेशिक अनुदान र ऋण सहायता प्रतिबद्धतामा ६७.५ प्रतिशतले संकुचन आएको छ । यस वर्षमात्र ७२ अर्ब २३ करोडले वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ ।
अघिल्लो आव सोही अवधिमा यस्तो प्रतिबद्धता २ खर्ब २२ अर्ब थियो । यो अवधिमा करको दायरा विस्तारमा भने उल्लेख्य वृद्धि भएको छ । फागुन २०८२ सम्म स्थायी लेखा नम्बर लिने करदाता ८.६ प्रतिशत वृद्धि भई ७६ लाख ३ सय १६ पुगेको छ ।

वैदेशिक सहायता परिचालन घट्यो
चालु आव फागुन मसान्तसम्म वैदेशिक अनुदान ६ अर्ब ३४ करोड र वैदेशिक ऋण परिचालन ५६ अर्ब ८० करोड रुपैयाँ बराबर भएको छ । जुन अघिल्लो आवको तुलनामा १५.४ प्रतिशत न्यून हो । गत आव वैदेशिक सहायता प्राप्ति १३.८ प्रतिशतले विस्तार भएको थियो ।
संस्थानबाट न्यून प्रतिफल
नेपाल सरकारले ४५ सार्वजनिक संस्थानमा ८ खर्ब रुपैयाँ हाराहारी ऋण तथा सेयर लगानी गरेको छ । तर, प्रतिफल न्यून देखिन्छ । तथ्यांक अनुसार गत आव यी संस्थानबाट मात्र ८ अर्ब ३७ करोड लाभांश प्राप्त गरेको छ । उक्त आवमा संस्थानको सञ्चालन आय ०.८ प्रतिशतमात्र बढेको देखिएको छ । सार्वजनिक संस्थानले देशभरि ३० हजार ३ सय ५२ रोजगारी सिर्जना गरेको तथ्यांक छ ।
वित्तीय पहुँचमा सुधार, वित्तीय सूचक नियामकीय सीमा भित्रै
वित्तीय पहुँचमा भने सुधार भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३६ लाख निक्षेप खाता र १ लाख ३ हजार कर्जा खाता थपिएका छन् । फागुन मसान्तसम्म वित्तीय स्थायित्वका सूचकमा भने केही दबाब रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
तर, अधिकांश वित्तीय सूचक भने नियामकीय सीमाभित्र छन् । विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा निक्षेप ६.६४ प्रतिशत वृद्धि भई ७७ खर्ब ४५ अर्ब पुगेको छ ।
घटेन व्यापार घाटा, वाह्य क्षेत्र बलियो
वाह्य क्षेत्रतर्फ व्यापार घाटा अझै उस्तै छ । फागुनसम्म वस्तु निर्यात १ खर्ब ९१ अर्ब बराबरे भएको छ । आयात भने १२ खर्ब ८९ अर्ब बराबर भएको छ ।
वैदेशिक व्यापारको आकार १४ खर्ब ८० अर्ब पुगेको छ । व्यापार घाटा ११.२ प्रतिशत विस्तार भई १० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ ।
यस अवधिमा शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब रुपैयाँले बचतमा छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब ३ अर्ब पुगेको छ । यस्तो सञ्चिति १८.५ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त छ । जुन सन्तोषजनक अवस्था हो ।
फागुनसम्म प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ८४ करोड बराबर भएको छ । जुन अघिल्लो आवको तुलनामा केही बढी हो । फागुन मसान्तसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यन भने निरन्तर जारी छ ।

निरपेक्ष गरिबी २०.२७ प्रतिशत, बहुआयामिक गरिबी १७.४ प्रतिशत
पछिल्लो तथ्यांक अनुसार नेपालको निरपेक्ष गरिबी २०.२७ प्रतिशत कायम छ । जसलाई सरकारले सुधारको अवस्था भनेको छ ।
सामाजिक सुरक्षा र संरक्षणमा वृद्धि, गरिबी लक्षित कार्यक्रमको निरन्तरता र विप्रेषण आय प्राप्त गर्ने परिवार संख्या बढ्दा सामाजिक क्षेत्रका परिसूचकमा सुधार भएको विश्लेषण अर्थको छ ।
मानव विकास सूचकांक ०.६२२ पुगेको छ । बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ । अहिलेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कामदार संख्या ६९ लाख नाघेको छ ।
हालसम्म ६४ जिल्लामा गरिब परिवार पहिचान तथा राज्य सुविधा परिचयपत्र वितरण गरिएको तथ्यांक छ । फागुनसम्म ७ लाख ४५ हजार ४ सय ३५ बेरोजगार व्यक्ति सूचीकृत छन् ।
सामाजिक सुरक्षामा बढ्दै सहभागिता
तथ्यांक अनुसार सामाजिक सुरक्षामा सहभागिता बढ्दो क्रममा छ । अहिलेसम्म कुल २८ लाख ५१ हजार ३ सय ८२ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । सामाजिक सुरक्षा कोषमा १ खर्ब ४ अर्ब रकम योगदान भइसकेको छ ।
कृषियोग्य जमिनमा सिँचाइ सुविधा बढ्दै
तथ्यांक अनुसार कृषि योग्य जमिनमा सिँचाइ सुविधा बढ्दो क्रममा छ । फागुनसम्म कृषियोग्य जमिनको ४४.६३ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.६१ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ ।
सरकारले नियमित न्यूनतम समर्थन मूल्य तोक्ने गरेको बताएको छ । चालु आव कृषिमा २४ अर्ब २२ करोड अनुदान खर्च भइसकेको छ । यस वर्ष ६ लाख टन मल खरिद योजना छ । ८ महिनामा २ करोड १६ लाख क्युफिट काठ उत्पादन भएको छ । वनबाट १ अर्ब ८९ करोड रोयल्टी प्राप्त भएको छ ।
उद्योगमा ४९ खर्ब ५२ अर्ब लगानी स्वीकृत
अहिलेसम्म स्वदेशी तथा विदेशी लगानीका उद्योगका लागि ४९ खर्ब ५२ अर्ब रुपैयाँ बराबर कुल लगानी स्वीकृत भएको छ । जुन लगानी बोर्ड र उद्योग विभागबाट भएको संयुक्त स्वीकृति हो ।
चालु आव फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब र लगानी बोर्डका १ खर्ब २ अर्ब बराबर लगानी स्वीकृत भएको छ । फागुनसम्म दर्ता हुने उद्योग संख्या ११ हजार १ सय ४० पुगेको छ ।
पर्यटकको औसत बसाइ १६.३४ दिन, प्रतिदिन औसत खर्च ३३.८ डलर
नेपालमा पर्यटकको औसत बसाइ दर १६.३४ दिन पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार पर्यटकको बसाइ अवधिमा सुधार भएको हो । सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल आएका थिए । सोही आधारमा निकालिएको तथ्यांक अनुसार पर्यटकको प्रतिदिन औसत खर्च ३३.०८ अमेरिकी डलर रहेको देखिएको छ । अहिले देशभरि ३५ विमानस्थल सञ्चालनमा छन् । ३२ अन्तर्राष्ट्रिय र २० आन्तरिक वायुसेवा कम्पनीले हवाई सेवा दिइरहेका छन् ।
सन् २०२५ मा पर्यटक आय ८७ अर्ब ३७ करोड छ । २०२४ मा यस्तो आय ८३ अर्ब ३४ करोड थियो । २०२४ मा औसत बसाइ १३.३० दिन थियो । यस वर्ष १६.३४ दिन पुगेको छ । औसत खर्च भने घटेको छ ।
अध्यागमन विभागले पर्यटक आगमन र प्रस्थान मिति प्रविष्ट गर्न स्वचालित प्रणाली सञ्चालनमा ल्याएसँगै पर्यटक बसाइ अवधि गणना गर्न थालेपछि औसत खर्च घटेको हो । २०२५ मा नेपाल आएका पर्यटकमध्ये ६०.२ प्रतिशत बिदा र मनोरञ्जनका लागि आएका थिए ।

झन्डै शतप्रतिशत जनसंख्यामा पुग्यो विद्युत् पहुँच
नेपालमा झन्डै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो । कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ । यस वर्ष भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा बिजुली निर्यात भएको छ । आर्थिक सर्वेक्षण अनुसार यो फागुन २०८२ सम्मको तथ्यांक हो ।
जडित क्षमतामध्ये जलविद्युत् जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जा १ यस ४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा उत्पादित विद्युत १०६.२४ मेगावाट पुगेको छ ।
त्यस्तै तापीय (थर्मल प्लान्ट) ऊर्जा ५३.४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधि मार्फत उत्पादित विद्युत् ६ मेगावाट उत्पादन भएको छ ।
यस अवधिमा नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् आयोजनाबाट ६६१.५७ मेगावाट, विद्युत् प्राधिकरणका सहायक कम्पनी मार्फत ७४८.४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित आयोजनाबाट २ हजार ५ सय ८७ मेगावाट गरी २०८२ फागुनसम्म ३ हजार ९ सय ९७ मेगावाट राष्ट्रिय ग्रिडमा जडान भएको छ ।
वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । सामुदायिक उपभोक्ता समेत विद्युत् उपयोग गर्ने ग्राहक संख्या २०८२ असारसम्म ५७ लाख ८ हजार रहेकोमा २०८२ फागुनसम्म ५८ लाख ५९ हजार पुगेको छ ।
राष्ट्रिय प्रसारण लाइन (६६ केभी र त्यसभन्दा माथिको लम्बाइ) २०८२ असारसम्म ७ हजार १ सय ६१ सर्किट किलोमिटर रहेकोमा २०८२ फागुनसम्म ७ हजार २ सय ८० सर्किट किलोमिटर पुगेको छ ।
२०८२ फागुनसम्म प्रसारण लाइन (३३ केभी) ८ हजार २ सय २५ सर्किट किलोमिटर पुगेको छ । २०८२ असारसम्म वितरण लाइन (४००/२३० भोल्ट) १ लाख ५६ हजार ७ सय ९० सर्किट किलोमिटर रहेकोमा २०८२ फागुनसम्म १ लाख ७३ हजार ४३ सर्किट किलोमिटर पुगेको छ ।

विभिन्न आयोजनाको निर्माणबाट २०८२/८३ अन्त्यसम्म ६ सय ६६ मेगावाट विद्युत् थप उत्पादन भई नेपालको विद्युत् क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमान छ ।
देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता, मोटरसाइकल मात्र ५० लाख
देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार त्यसमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल छन् । चालु आव २०८२/८३ फागुन मसान्तसम्म मात्र बस, मिनिबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकल सहित सवारीसाधन गरी कुल २ लाख ८१ हजार ९ सय २१ यातायात साधन दर्ता भएका छन् ।
सर्वेक्षण अनुसार यस वर्ष फागुनसम्म ४३ हजार ७ सय ५० थान स्मार्ट लाइसेन्स वितरण गरिएको छ । अहिलेसम्म कुल ४१ लाख १४ हजार १ सय ८१ थान लाइसेन्स विवतरण भइसकेको तथ्यांक छ ।
फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ । त्यसमध्ये ५ हजार १ सय ८६ थान जडान भएको छ । अहिलेसम्म कुल ८८ हजार ३ सय ४० थानमात्र जडान भएको तथ्यांक छ ।

देशभरि १ लाख ४ हजार ९ सय ६ किलोमिटर सडक विस्तार
नेपालभरि सडकको लम्बाइ १ लाख ४ हजार ९ सय ६ किलोमिटर बराबर पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सडकको लम्बाइ त्यस हाराहारी पुगेको हो । संघीय सरकारबाट निर्मित कालोपत्र सडकको घनत्व १३८.७ मिटर प्रतिवर्गकिलोमिटर पुगेको छ ।
स्वास्थ्य र सामाजिक क्षेत्रको सूचकांक सन्तोषजनक
स्वास्थ्य सूचकांकतर्फ मातृ मृत्युदरमा उल्लेख्य सुधार आएको छ । नवजात शिशु मृत्युदुर, शिशु मृत्युदर र ५ वर्षमुनिको बाल मृत्युदरमा कमी आएको तथ्यांकले देखाएको छ । देशभरि स्वास्थ्यकर्मीको संख्या १ लाख ४ हजार ७ सय ५६ पुगेको छ ।
शिक्षातर्फ विद्यालय तहमा कुल भर्ना दर बढेको पाइएको छ । आधारभूत तहमा समेत खुद भर्ना दर बढेको छ । शैक्षिक सत्र २०८२ मा १ सय ४ विद्यालय थप भई कुल संख्या ३५ हजार ९ सय ५१ पुगेको छ ।
प्रतिक्रिया 4