+
+
Shares

आर्थिक सर्वेक्षण : अस्पतालमा घटे बिरामी, के हुन सक्छ कारण ?

आर्थिक सर्वेक्षण २०८२/८३ ले एक वर्षमै करिब ६ लाख सेवा प्रवाह घटेको देखाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १५:३७
फाइल तस्वीर

१४ जेठ, काठमाडौं । देशभरिका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या घट्दै गएको देखिएको छ ।

आर्थिक मन्दी, स्वास्थ्य बीमा कार्यक्रमको संकट, बढ्दो उपचार खर्चकारण अस्पताल पुग्ने सेवाग्राही घटेको हुनसक्ने विज्ञको अनुमान छ ।

आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट ओपीडी, भर्ना तथा आकस्मिक सेवा गरी कुल ४ करोड ४६ लाख २६ हजार पटक सेवा प्रवाह भएको छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा प्रवाह ४ करोड ५२ लाख ४२ हजार पटक पुगेको थियो ।

आर्थिक सर्वेक्षण २०८२/८३ ले एक वर्षमै करिब ६ लाख सेवा प्रवाह घटेको देखाएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञका अनुसार अस्पतालमा बिरामीको संख्या घट्नु सकारात्मक सूचक मात्र होइन । कतिपय अवस्थामा नागरिकले आर्थिक अभावका कारण उपचार नै नगराउने अवस्था पनि यसले देखाउने उनीहरूको भनाइ छ ।

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नु, बीमा दाबी भुक्तानीमा ढिलाइ र औषधि र परीक्षण खर्च महँगो हुनुका कारण पनि अस्पतालमा पुग्ने बिरामी घट्दै गएको विश्लेषण गरिएको छ । पछिल्लो समय कतिपय बिरामी फार्मेसी वा स्थानीय क्लिनिकमै जाने गरेकाले बिरामीको संख्या घटेको हुनसक्ने अनुमान छ ।

चालु आर्थिक वर्षको फागुनसम्म ३३ हजार ५ सय ८१ विपन्न नागरिकले मात्रै निःशुल्क औषधि तथा स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गत आर्थिक वर्षमा यस्तो सेवा पाउनेको संख्या ५३ हजार ७१३ पुगेको थियो ।

अघिल्लो वर्ष निःशुल्क सेवा पाएकामध्ये २८ हजार ६७८ जना क्यान्सर रोगी थिए  । ८ हजार ४१० जनाले मुटु रोग सम्बन्धी सेवा लिएका थिए । यस्तै ३४६ जनाले मिर्गौला प्रत्यारोपण गरेका थिए भने १२ हजार ४५२ जनाले मिर्गौला सम्बन्धी अन्य उपचार सेवा पाएका थिए ।

सरकारले चालु आर्थिक वर्षको फागुनसम्म विपन्न नागरिकको औषधि उपचार वापत अस्पतालहरूलाई १ अर्ब ७४ लाख २ हजार ७०९ रुपैयाँ शोधभर्ना उपलब्ध गराएको जनाएको छ । तर अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्रै सरकारले ४ अर्ब ४२ करोड ८७ लाख ६८ हजार ५१० रुपैयाँ शोधभर्ना उपलब्ध गराएको थियो ।

शोधभर्ना रकममा आएको गिरावटले अस्पतालहरू समेत आर्थिक दबाबमा परेका छन् । धेरै सरकारी अस्पतालले समयमै भुक्तानी नपाउँदा विपन्न नागरिकको उपचार सेवा प्रभावित भएको गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?