News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा बिहीबारदेखि तेस्रो 'तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता' शुरू भएको छ ।
- प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी जम्मा १२ जना खेलाडी प्रवेश गरेका छन् ।
- यस वर्ष अघिल्ला संस्करणको तुलनामा पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
१४ जेठ, काठमाडौं । ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’ को तेस्रो संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी १२ जना खेलाडी प्रवेश गरेका छन् । पुरुषतर्फ एक विदेशी आरोही पनि फाइनलमा पुगेका छन् ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजीए) र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको उद्देश्य नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष तथा महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा भइरहेको छ । दुवै विधाका विजेताले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका लागि ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङका अनुसार बिहीबार बिहान भएको उद्घाटन कार्यक्रम नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले गरेका हुन् । शुक्रबार हुने फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको विशेष उपस्थिति रहने जनाइएको छ ।
हालसम्म प्रतियोगितामा २७ पुरुष र ११ महिला सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै ६ पुरुष र ६ महिला खेलाडी फाइनलमा पुगेका अध्यक्ष गुरुङले जानकारी दिए ।
‘यस वर्षको प्रतियोगिता विशेष छ, किनभने पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको हो’ गुरुङले भने, ‘अघिल्ला दुई संस्करण भने टप–रोप क्लाइम्बिङमा मात्र सीमित थिए ।’
तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको यो प्रतियोगिता सन् १९५३ मे २९ मा सर एड्मण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको आयोजकले जनाएको छ ।
गुरुङका अनुसार यस वर्षको प्रतियोगिता विशेष रूपमा मे २९ तारिखको ऐतिहासिक अवसरलाई लक्षित गर्दै आयोजना गरिएको हो । सगरमाथा आरोहणसँग जोडिएको यस महत्वपूर्ण दिनमा प्राविधिक साहसिक खेलसम्बन्धी कार्यक्रम कमै आयोजना हुने भएकाले प्रतियोगितालाई अझ विशेष बनाइएको उनले बताए ।
‘हालसम्म मे २९ तारिखलाई मुख्यतः र्याली, प्रमाणपत्र वितरण तथा औपचारिक कार्यक्रममार्फत मात्र मनाइँदै आएको थियो । यस वर्ष पहिलो पटक नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा प्राविधिक रूपमा प्रतियोगिता सञ्चालन गरिएको हो, जसले नेपालको क्लाइम्बिङ क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने हाम्रो अपेक्षा छ’ गुरुङले भने ।
उनले थपे, ‘इतिहाससँग जोडिएको यस महत्वपूर्ण दिनमा प्रतियोगिता आयोजना गर्नु तेन्जिङ नोर्गे शेर्पाको साहस र पर्वतारोहण क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान हो ।’
आयोजकका अनुसार प्रतियोगिताले नेपालमा विकसित हुँदै गएको साहसिक आरोहण खेल संस्कृतिलाई थप प्रवर्द्धन गर्नुका साथै युवा पुस्तालाई साहसिक खेल तथा पर्वतारोहणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया 4