+
+
Shares

रोमानियाको आवासीय भवनमा रुसी ड्रोन प्रहार हुँदा दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युक्रेन युद्ध सुरु भएयता रोमानियामा रुसी ड्रोन खस्दा पहिलो पटक दुई जना नागरिक घाइते भएका छन् ।
  • रोमानियाले यस घटनालाई रुसको 'गम्भीर र गैरजिम्मेवारपूर्ण उत्तेजना' भन्दै निन्दा गर्दै एन्टी-ड्रोन रक्षा प्रणाली तीव्र पार्न माग गरेको छ ।
  • चार वर्षदेखि जारी युद्धका क्रममा रोमानियाली भूमिमा हालसम्म ४७ पटक रुसी ड्रोनका टुक्राहरू भेटिइसकेका छन् ।

युक्रेनसँग सीमा जोडिएको नेटो सदस्य राष्ट्र रोमानियाको एक आवासीय भवनमा रुसी ड्रोन खस्दा दुई जना सर्वसाधारण घाइते भएका छन्। रोमानियाको रक्षा मन्त्रालयका अनुसार, छिमेकी देश युक्रेनको सीमा नजिक रुसले गरिरहेको हवाई आक्रमणका क्रममा एउटा ड्रोन पूर्वी सहर गलातीको एक १० तले भवनको छतमा ठोक्किएको हो।

रोमानियाको आपत्कालीन सेवा विभागका अनुसार, ड्रोनमा रहेको सम्पूर्ण विस्फोटक पदार्थ भवनको छतमा विस्फोट हुँदा १०औँ तलामा भीषण आगलागी भएको थियो। आगलागीपछि सो भवनबाट करिब ७० जना बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । सामान्य चोटपटक लागेका दुई जनाको उपचार गरिएको छ।

चार वर्षदेखि जारी रुस-युक्रेन युद्धका क्रममा रोमानियाका नागरिक नै घाइते भएको यो पहिलो पटक हो। रोमानियाली रक्षा मन्त्रालयका अनुसार युद्ध सुरु भएयता हालसम्म ४७ पटक रुसी ड्रोनका टुक्राहरू भेटिइसकेका छन् । जसमध्ये १२ वटा घटना यसै वर्ष मात्र भएका हुन्।

रोमानियाको विदेश मन्त्रालयले यस घटनालाई रुसको तर्फबाट भएको ‘गम्भीर र गैरजिम्मेवारपूर्ण उत्तेजना’ भन्दै भर्त्सना गरेको छ। रोमानियाले यस विषयमा नेटोका महासचिवलाई जानकारी गराउँदै आफ्नो भूमिमा ‘एन्टी-ड्रोन’ रक्षा प्रणाली जडान गर्ने कार्यलाई तीव्र पार्न माग गरेको छ।

नेटोका प्रवक्ताले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत रुसको यस कदमको निन्दा गर्दै नेटो आफ्ना सदस्य राष्ट्रहरूको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन्।

रुसी ड्रोन रोमानियामा प्रवेश गरेलगत्तै रोमानियाले आफ्ना दुईवटा एफ-१६लडाकु विमानहरूलाई अलर्ट अवस्थामा राखेको थियो। यस घटनाका बारेमा रुसले भने अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?