+
+
Shares

नागरिकका वितृष्णलाई व्यवस्थाको असफलतासँग जोड्न मिल्दैन : मुख्यमन्त्री कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकको वितृष्णालाई व्यवस्थाको असफलतासँग जोडेर गणतन्त्रविरुद्ध भ्रम नफैलाउन आग्रह गर्नुभएको छ ।
  • उहाँले शासन प्रणाली संस्थागत र सुदृढ हुन निश्चित समय लाग्ने उल्लेख गर्दै राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकको वितृष्णलाई व्यवस्थाको असफलतासँग जोडेर नहेर्न आग्रह गरेका छन् ।

‎‎शुक्रबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कँडेलले राजनीतिक परिवर्तनका क्रममा देखिएका कमी–कमजोरीलाई व्यवस्थाको असफलतासँग जोडेर गणतन्त्रविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको बताए ।

‘नागरिकको वितृष्णा, टिका–टिप्पणी र कमीकमजोरीहरूलाई व्यवस्थाको असफलतासँग जोड्दै कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्काउन खोज्ने असंवैधानिक कदमहरू नेपाली जनताले स्वीकार गर्दैनन् र इतिहासको गति अब पछाडि फर्किंदैन,’ उनले सन्देशमा भनेका छन् ।

उनले कुनै पनि शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने बताएका छन् । ‘प्रणाली विकासका क्रममा कमी कमजोरीहरू देखा पर्न पनि सक्छन् । नागरिकका आशातीत अपेक्षा पुरा नहुँदा कहीँ कतै निराशाका स्वरहरू सुनिन सक्छन्’ मुख्यमन्त्री कँडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘त्यसलाई हामीले स्वाभाविक ठानेर,  हाम्रा कतिपय कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्न सक्नुपर्दछ ।’

कँडेलले संविधानअनुसार राज्य संयन्त्रमा भएका परिवर्तनको अनुभूति जनताले गर्न सक्ने गरी कार्यान्वयन हुनुपर्ने बताएका छन् । ‘जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

उनले गणतन्त्रलाई केवल शासन प्रणालीका रूपमा नभई आचरण र व्यवहारका हिसाबले पनि उन्नत प्रणालीका रूपमा व्याख्या गर्दै नागरिक र नेतृत्व दुवैको व्यवहार सुसंस्कृत हुनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, उनले राजनीतिक दलहरूबिच विगतमा देखिएको सहमति, सहकार्य र एकताको भावनालाई विकास र समृद्धिको यात्रामा कायम राख्नुपर्ने बताएका छन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको जगमा बनेको सङ्घीय सरकारले गणतन्त्रको थप सुदृढीकरणका लागि दलहरूबीच सार्थक संवाद र सहकार्य बढाउनु अहिलेको आवश्यकता हो,’ उनले भनेका छन् ।

मुख्यमन्त्री कँडेलले नेपालको इतिहासमा जनताको बलिदान, त्याग, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?