News Summary
Generated by OK AI. Editorially reviewed.- आदिवासी जनजाति चलचित्र महासंघले आगामी जेठ १७ गतेदेखि तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आयोजना गर्ने भएको छ ।
- चलचित्र विकास बोर्डको हलमा हुने महोत्सवमा विभिन्न आदिवासी समुदायका कथानक, लघु, वृत्तचित्र र एआई जेनेरेटेड फिल्महरू प्रदर्शन गरिनेछन् ।
- सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा यो महोत्सव आयोजना हुन लागेको हो ।
काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघले जेठ १७ गतेदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा तीन दिनसम्म महोत्सव हुने भएको हो ।
बोर्डको हलमा हुने महोत्सवमा लिम्बु, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवङ्शी समुदायका कथानक, लघु, वृत्तचित्र र एआई जेनेरेटेड फिल्म प्रदर्शन गरिने महोत्सव आयोजक समिति निर्देशक सागर केरुङले बताए ।
‘आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनका रूपमा मात्र होइन । सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतासँग जोडेर हेरिनुपर्छ’ उनले भने, ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ मा आदिवासी जनजातिको भाषा बोल्छ, इतिहास बोल्छ, भूमि बोल्छ, पूर्वजहरुको स्मृति बोल्छ र सिङ्गो आदिवासी जनजाति समुदायको जीवित आत्मा बोल्छ । महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्रको एक सशक्त केन्द्रका रुपमा स्थापित गर्छ ।’
महोत्सवमा कथानकतर्फ दिनेश लिङ्देन निर्देशित रित, अमृतमान महर्जन निर्देशित स्वयनगु, जनक गुरुङ निर्देशित ङोल्स्यो रामरानी, निमा लामा तामाङ निर्देशित ह्याङ तामाङ र अशोक आलेमगर निर्देशित दिलसरा प्रदर्शन गरिने जनाइएको छ ।
लघु फिल्मतर्फ सागर केरुङ निर्देशित तङसिङ, हुतबहादुर तामाङ निर्देशित दुखला ग्यम, विपना तामाङ भुजेल निर्देशित निको पहिचान तथा विशाल रोकामगर निर्देशित लाहुरेनी प्रदर्शन हुने आयोजकले जनाएको छ ।
वृत्तचित्रतर्फ अनिल बुढामगर निर्देशित आग्रे, होमकुमारी माझी निर्देशित लदि पूजा तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र विराटनगरके प्राचीन राजवङ्शी प्रदर्शन गरिनेछ ।
महोत्सवले चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ताबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास लिइएको छ ।
पत्रकार सम्मेलनमा चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृतबहादुर सुनुवार, आदिवासी जनजाति पत्रकार सङ्घका अध्यक्ष समीर बलामी र आदिवासी कलाकार सहभागी थिए ।
प्रतिक्रिया 4