News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत संखुवासभाको १ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया शुरू गर्ने घोषणा गरेको छ ।
- बजेटमा कोशी प्रदेशको काँकडभिट्टा–लौकही सडक खण्ड स्तरोन्नति एक वर्षभित्र पूरा गर्ने र कोशी करिडोरको १५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।
- सरकारले झापाको मेचीनगरमा १०० वटा आवास निर्माण गरी बिक्री गर्ने र विराटनगरमा २ हजार दर्शक क्षमताको मल्टिपर्पोज रंगशाला बनाउने घोषणा गरेको छ ।
१५ जेठ, विराटनगर । सरकारले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा कोशी प्रदेशका ठूला भौतिक पूर्वाधार, ऊर्जा र पर्यटन क्षेत्रलाई समेटेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट घोषणा गर्दा कोशी प्रदेशका केही विषयलाई समेटेका हुन् ।
विराटनगरको निजी क्षेत्रले उठाउँदै आएको विराटनगर विमानस्थलको स्तरोन्नति, औद्योगिक पार्क निर्माण, विराटनगर रिङरोडलगायत विषयलाई बजेट वक्तव्यले सम्बोधन गरेको छैन । तर पूर्वपश्चिम राजमार्गदेखि कोशी राजमार्गलगायत विषयलाई समेटेको छ ।
सरकारले राष्ट्रिय गौरवको पूर्व–पश्चिम राजमार्गको विस्तारका लागि कुल ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा कोशी प्रदेशको मुख्य खण्ड काँकडभिट्टा–लौकही सडक स्तरोन्तिको कार्यलाई एक वर्षभित्र पूरा गर्ने भनिएको छ । हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गले कोशी प्रदेशलाई समेट्ने गरी निर्माण कार्यले गति पाउने पनि बजेटमा उल्लेख छ ।
उत्तर–दक्षिण जोड्ने कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य बजेटमा छ । तमोर सडक विस्तार पनि सरकारले प्राथमिकतामा छ ।
ऊर्जामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले संखुवासभामा निर्माणाधीन र प्रस्तावित जलविद्युत आयोजनाहरूलाई प्राथमिकतामा राखेको छ ।

१ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन टुङ्ग्याएर ठेक्का प्रक्रिया सुरु गरिने बजेटमा उल्लेख छ । ९०० मेगावाटको अरुण तेस्रो र ६६९ मेगावाटको तल्लो अरुण आयोजनाको निर्माण कार्यलाई थप सहजीकरण गरी समयमा नै सम्पन्न गर्न सरकारले सहयोग गर्नेछ ।
सरकारले झापाको मेचीनगरमा राष्ट्रिय आवास कम्पनीमार्फत १०० वटा आवास निर्माण गरी नागरिकलाई बिक्री गर्ने लक्ष्य बजेटमा राखेको छ । घर निर्माण गरेर बिक्री गर्ने योजना पहिलो पटक अघि सारिएको हो ।
शहरी पूर्वाधारतर्फ सरकारले दमक, धरान र इटहरीमा खानेपानी तथा ढल निकास र प्रशोधन आयोजना सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र झापा-५ मा पर्ने दमक बजारमा पानी र ढल प्रशोधन आयोजना बजेटमा परेको हो । संखुवासभाको खाँदबारीमा पनि ढल प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने बजेटमा समेटिएको छ ।
कृषि क्षेत्रको विकासका लागि सुनसरी–मोरङ सिँचाइ आयोजना मर्मत सम्भार गरी सिँचाइ सुविधालाई व्यवस्थित बनाइने बजेटमा उल्लेख छ ।
खेलकुदतर्फ सरकारले विराटनगरमा २ हजार दर्शक क्षमताको मल्टिपर्पोज रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । गिरिजाप्रसाद कोइराला स्टेडियमको लगानी मोडेल तयार गरी निर्माण प्रक्रिया अघि बढाइने बताइएको छ ।
कोशी प्रदेशको धार्मिक पर्यटन प्रबर्धनका लागि हलेसी–चतरा–पाथिभरा प्रादेशिक पर्यटकीय करिडोर निर्माण गर्ने योजना अघि सारिएको छ ।
गुराँसको राजधानी मानिने तीनजुरेदेखि पाथिभरासम्मको ट्रेकिङ रुट निर्माण कार्यलाई सरकारले बजेटमा समेटेको छ ।
प्रतिक्रिया 4