१५ जेठ, काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटलाई ‘चितुवा बजेट’ भनेका छन् । बजेटले तीव्र, फुर्तिलो, साहसी र ठूलो फड्को मार्ने आकांक्षा बोकेको उनको विश्लेषण छ ।
‘बजेट सुधारमुखी, प्रविधिमुखी र निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास भएको आक्रामक बजेट हो,’ डा. अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
अधिकारीले भनेका छन्, ‘यसको सबल पक्ष के हो भने बजेटले कर प्रणाली सरलीकरण, प्रशासनिक पुनर्संरचना, सार्वजनिक खर्च कटौती, लगानी सहजीकरण, ऊर्जा, एआईरप्रविधि, कृषि पुनरुत्थान, स्वास्थ्य बीमा, शिक्षा सुधार र पूर्वाधारलाई एउटै ‘सुधार प्याकेज’का रूपमा प्रस्तुत गरेको छ ।’
बजेटले धेरै ठूलो खर्चबर्चको प्रतिबद्धता गरेकाले ऋण तथा घाटाको बजेटबाटै यसलाई पूरा गर्नुपर्ने बाध्यता रहेको डा. अधिकारीको भनाइ छ ।
बजेट सफल बनाउन राजस्व अनुमान यथार्थवादी हुनुपर्ने पूँजीगत खर्च समयमै गर्न सक्नुपर्ने र घोषणा गरिएका कानुनी तथा संस्थागत सुधारहरू यसै वर्षभित्र साँच्चै कार्यान्वयन हुनुपर्ने उनको निष्कर्ष छ ।
‘कार्यान्वयन, स्रोत व्यवस्थापन र खर्च अनुशासनका दृष्टिले यो बजेट निकै चुनौतीपूर्ण देखिन्छ । यसमा दिशाहीनता देखिँदैन । दिशाका हिसाबले यो बजेट महत्वाकांक्षी र सुधारवादी छ,’ अधिकारीले भनेका छन्, ‘यसको व्यापकता राम्रो देखिएपनि, प्रशासनिक क्षमता कमजोर भएको हाम्रो मुलुकमा यो घोषणामुखी बजेटमा सीमित हुन सक्ने जोखिम छ ।’
उनका अनुसार तीव्र गति, आक्रामक सुधार र ठूलो फड्कोको आकांक्षा बोकेको बजेट भए पनि सफलताका लागि कार्यान्वयनको बलियो अनुशासन अनिवार्य छ ।
प्रतिक्रिया 4