+
+
Shares

संसद्को वेलमै सत्तापक्ष र विपक्षी सांसदहरूबीच घम्साघम्सी

संसद्को वेलमै सत्तापक्ष र विपक्षी सांसदहरूले एक अर्कोलाई औंला ठड्याएर चेतावनी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा नियमावली संशोधनलाई विषयगत समितिमा पठाउने विषयमा विवाद भएपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच संसद्को वेलमै घम्साघम्सी भएको छ ।
  • नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधनहरू विषयगत समितिमा पठाउन माग गरे पनि सभामुखले बैठक अगाडि बढाएपछि विरोध शुरू भएको हो ।
  • संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी भएपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षको वेलमै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी भएको छ ।

प्रतिनिधिसभा नियमावलीमाथि दफावार छलफल सकेर सभा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा थियो । विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा नियमावलीलाई संसदीय समितिमा दफावार छलफलका लागि लगिनुपर्ने माग राखे ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेर माग राखिन् ।

तर, सभामुखले दफावार छलफल सदनमै गरियोस् भन्ने कार्यसूची तय भएको र त्यसअनुसार अगाडि आएको भनेर सदन अगाडि बढाए ।

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा ३५ वटा संशोधन परेको छ । सभामुखले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी दलका सांसदहरू वेलमा पुगे । नाराबाजी गरे । सभामुखको भूमिका माथि प्रश्न उठाए ।

त्यसपछि सत्तापक्षकै सांसदहरू पनि वेलमा पुगेका हुन् । त्यसक्रममा संसद्को वेलमै सत्तापक्ष र विपक्षी सांसदहरूले एक अर्कोलाई औंला ठड्याएर चेतावनी दिए ।

विपक्षी दलका एक जना सांसद रोष्ट्रम नजिक नै पुगिन् । मर्यादापालकले रोके ।

वेलमा सत्तापक्ष र विपक्षी सांसदहरूलाई छेकेर मर्यादापालक बसेका थिए । तैपनि उनीहरू एक अर्कोलाई ठेलेर सभामुखको भूमिको समर्थन र विरोध गर्न थाले ।

त्यसक्रममा सभामुखले पटक–पटक सदनको मर्यादा कायम राख्न आग्रह गरे । अन्तिममा सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा नियमावली आजै पास गर्ने सत्तारुढ दलको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?