+
+
Shares

टेक्सासमा नेपाल चिन्तन : सरकारले अभुतपूर्व जनमतको सदुपयोग गरोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते २२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेक्सासको ड्यालसमा आयोजित 'हिमालय संवाद' कार्यक्रममा पत्रकार तथा लेखकहरूले नेपालको भविष्य, साहित्य र डायस्पोराको भूमिकाबारे छलफल गरे ।
  • वरिष्ठ पत्रकार सुधीर शर्माले जनआक्रोश भरोसामा परिणत भएको उल्लेख गर्दै नयाँ र पुरानाको ऊर्जा र अनुभव देश विकासमा सहयोगी हुने बताए ।
  • पत्रकार बसन्त बस्नेतले डायस्पोरामा रहेका नेपालीहरूको क्षमता, अनुभव र लगानीलाई देश निर्माणमा सदुपयोग गर्न सरकारलाई सुझाव दिए ।

१७ जेठ, ड्यालस(टेक्सास) । टेक्सासको ड्यालसमा शनिबार विभिन्न पेशा, व्यवसाय र विधाका गैर आवासीय नेपालीहरूको अभूतपूर्व जमघट रह्यो । त्यो जमघटको मूल चिन्ता थियो, देश बन्छ कि बन्दैन् ?

हिमालय खबर र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्सास च्याप्टरद्वारा आयोजित हिमालय संवाद कार्यक्रम : कविता र कितावका कुरा कार्यक्रमको दोस्रो हिस्सामा गरिएको नेपाल कहाँ जाँदैछ ? विषयक छलफल कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्माले देश बन्नेमा विश्वास व्यक्त गरे ।

नेपालमा एक वर्षअघि केही पनि हुदैन भन्ने आम निराशा थियो । घृणा र आक्रोश व्याप्त थियो । जेनजी आन्दोलनपछि त्यो घृणा र आक्रोश भरोसामा परिणत भएको छ, शर्माले भने, यतिबेला देश बन्नेमा आम जनता आशावादी छन् ।

तर सरकारले जनअपेक्षा पुरा गर्नसक्ने, नसक्ने कुरा भने सरकारको कार्यशैलीमा निर्भर हुने शर्माको भनाइ थियो । उनले थपे, ‘तर जनअपेक्षा यति धेरै छ कि, त्यो अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।’

नयाँ जति सबै राम्रा र पुराना जति सबै खत्तम भन्ने भाष्य गलत भएको पनि उनले बताए । पुरानाको अनुभव र नयाँको उर्जा देश विकास र सत्ता सञ्चालनमा सहयोगी हुनसक्ने शर्माको भनाइ थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहले राजनीतिक र भूराजनीतिक व्यवस्थापन कसरी गर्छन्, त्यसले सरकारको आयु र विकासको गति निर्धारण गर्ने पत्रकार शर्माको भनाइ थियो ।

पत्रकार तथा लेखक बसन्त बस्नेतले पुराना दलहरूले गरेको गल्ती नयाँले नगरे हुन्थ्यो भन्ने आमजनताको अपेक्षामा सरकार खरो उत्रिनुपर्ने बताए ।

यसअघिका सरकारले गरेका सम्पूर्ण राजनैतिक नियुक्ति खारेज गरेको सरकारको सुशासन, जवाफदेहिता र पारदर्शिताको परीक्षण तिनै पदको नियुक्तिबाट समेत झल्किने पत्रकार बस्नेतको भनाई थियो ।

हाल मौलाएको फरक मत राख्नेलाई झोलेको बिल्ला भिराएर चुप लगाउने प्रवृति विगतमा मण्डलेको संज्ञा दिएर फरकमत राख्नेलाई चुप लगाउने प्रवृति उस्तै भएको उनको टिप्पणी थियो ।

उनले प्रधानमन्त्री कार्यालय र सचिवालयलाई बढ्ता अधिकारसम्पन्न बनाउँदा मन्त्रीहरू व्यक्तित्व विहीन र भूमिकाविहीन बनाइएको टिप्पणी गरे ।

गैर आवासीय नेपालीका मुद्दामा सरकार र नेपाली मिडिया अनुदार भएको सहजकर्ता सञ्जय घिमिरेको गुनासोमा पत्रकार बस्नेतले विगतमा गैर आवासीय नेपाली प्रति अनुदार भएपनि ढिलो चाँडो एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई सरकारले सकारात्मक ढंगले सुन्ने विश्वास व्यक्त गरे ।

उनले नेपाली मिडिया सधैं गैर आवासीय नेपालीका मुद्दामा सकारात्मक रहेको बताए ।

सोहीबीच नेपाल बनाउने विचार निर्माणका लागि डायस्पोराका नेपालीहरूको योगदान महत्वपूर्ण रुपमा स्थापित भएको बताए ।

उनले सरकारले डायस्पोरामा रहेका नेपालीहरूको क्षमता, अनुभव, पूँजी र अन्तर्राष्ट्रिय सम्बन्धलाई देश निर्माणमा सदुपयोग गर्नुपर्ने सुझाव दिए ।

हिमालय खबर सम्वाद: कविता र कितावका कुरा कार्यक्रमको पहिलो सत्रमा कवि, प्रस्तोता एवं वरिष्ठ पत्रकार नारायण श्रेष्ठले १४ वटा कविताहरू वाचन गरेका थिए । वाचन गरिएका अधिकांश कविताहरू श्रेष्ठका नयाँ कविताहरू थिए भने दुइवटा कविताहरू श्रेष्ठले प्रकाशन गरेका पुराना कविता संग्रहरू पार्थिव शरीर र साक्षीबाट लिइएका थियो ।

श्रेष्ठले वाचन गरेका कविताहरू तन्नेरी उमेर, द्वन्दकालको परिस्थिति, माया प्रेम, कोरोना काल अनुभव, राजनीतिक विसंगति लगायतका विषयवस्तुहरूमा आधरित थिए ।

कार्यक्रम सञ्चालन गरेका वरिष्ठ पत्रकार तथा लेखक सञ्जय घिमिरेले कवि श्रेष्ठको संवेदनशीलता र शैली गज्जव लाग्ने बताएका थिए । वरिष्ठ पत्रकार, लेखक तथा स्तम्भकार सञ्जय घिमिरेले पनि प्रेम होस त यस्तो होस, शिर्षकको कविता वाचन गरेका थिए ।

कवि श्रेष्ठका मित्र तथा वरिष्ठ पत्रकार सन्तोष रिमालले बीबीसीको टेलिभिजन कार्यक्रम साझा सवालबाट ख्याति कमाएका नारायण श्रेष्ठ कविका रुपमा पनि उत्तिकै सशक्त भएको चर्चा गरे ।

कवि श्रेष्ठका दुई कविता सहभागीका तर्फबाट साहित्यकार भीम कार्की र साहित्यप्रेमी भगवती पौडेलले वाचन गरेकी थिईन् ।

त्यसैगरी कार्यक्रमको तेस्रो हिस्सामा केशवराज ज्ञवालीद्वारा लिखित अज्ञात पुस्तकको बारेमा चर्चा गरिएको थियो । पुस्तकका बारेमा लेखक स्वयं ज्ञवाली, सञ्जय घिमिरे, नारायण श्रेष्ठ, भीम कार्की र कृष्ण कुसुमले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल एकीकरणको बेलाको परिवेशलाई आधारित बनाएर लेखिएको यो आख्यान चार वर्षको अध्ययन र अनुसन्धानको परिणाम भएको ज्ञवालीले बताए ।

कथाकार कृष्ण कुसुम नेपालले उपन्यासकार ज्ञवालीद्वारा लिखित उपन्यास अज्ञातले बहादुर शाहमाथि न्याय गरेको बताए ।

कार्यक्रममा हिमालय खबरका प्रधानसम्पादक विजय घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिपुल पोखरेल सम्पादक रामचन्द्र भट्ट, प्रवन्ध सम्पादक तथा विकासराज न्यौपाने, अनेसास डालस टेक्सास च्याप्टरका अध्यक्ष सुमन काजी लगायतले आफ्ना् मन्तव्य व्यक्त गरेका थिए ।

अर्भिंग टेक्सास स्थित भेटघाट रेस्टुरेन्टमा आयोजित कार्यक्रममा विभिन्न पेशा र विधाका डेढ सय जनाभन्दा बढि व्यक्तिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?