+
+
Shares

कानमा बोल्ने आँखाहरू : दृष्टिविहीनको अदृश्य साथी स्क्रिन रिडर

म जन्मैदेखि पूर्ण दृष्टिविहीन छु, तर मेरो संसार कहिल्यै अन्धकार भएन। जब म मोबाइलमा औंला चलाउँछु, मेरो स्क्रिन रिडरले बाटो देखाउँछ। मानिसहरू अचम्म मान्छन्, तर मेरा लागि प्रविधि केवल सफ्टवेयर होइन; यो त मेरो कानमा बोल्ने आँखा हो।

सम्राट पंगेनी सम्राट पंगेनी
२०८३ जेठ १८ गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जन्मैदेखि दृष्टिविहीन सम्राटले स्क्रिन रिडर सफ्टवेयरको सहायताले मोबाइल र कम्प्युटर सहज रूपमा चलाउने गरेका छन्।
  • यात्रा गर्दा उनी गुगल म्याप्स र स्क्रिन रिडरको सहायताले नयाँ ठाउँहरूमा आत्मविश्वासका साथ पुग्ने गर्छन्।
  • प्रविधिको प्रयोगमार्फत उनले कम्प्युटरमा कोडिङ गर्ने र सङ्गीत सफ्टवेयरबाट नयाँ धुनहरू सिर्जना गर्ने गरेका छन्।

म जन्मैदेखि पूर्ण दृष्टिविहीन छु। तर, मैले संसारलाई कहिल्यै अन्धकारको रूपमा अनुभव गरिनँ। मेरो संसार आवाजहरूले भरिएको छ, प्रविधिको उज्यालोले सजिएको छ, अनि अनगिन्ती अनुभवहरूले रङ्गिएको छ।

मलाई धेरै जनाले बारम्बार एउटै प्रश्न सोध्नुहुन्छ-

‘सम्राट, तिमी मोबाइल कसरी चलाउँछौ ?’

‘मेसेज कसरी पढ्छौ ?’

‘फेसबुकमा यति छिटो रिप्लाई कसरी गर्छौ ?’

‘कम्प्युटर पनि चलाउँछौ र ?’

कहिलेकाहीं त उनीहरूको स्वरमै अचम्म मिसिएको हुन्छ। अनि म मुस्कुराउँदै मेरो संसारको एउटा सुन्दर साथीको नाम लिन्छु- मेरो स्क्रिन रिडर।

मोबाइलमा टक ब्याक र कम्प्युटरमा एनभीडीए मेरा लागि केवल सफ्टवेयर होइनन्। यी त मेरो कानमा बोल्ने आँखाहरू हुन्।

स्क्रिन रिडरले स्क्रिनमा भएका हरेक शब्द, बटन, नोटिफिकेसन र मेसेजलाई आवाजमा बदलिदिन्छ। म स्क्रिनमा औंला चलाउँदै जान्छु, अनि उसले मलाई बाटो देखाउँदै लैजान्छ।

शायद यही कारणले होला, प्रविधि मलाई कहिल्यै टाढाको कुरा लागेन। जब तपाईं मलाई मेसेन्जर वा ह्वाट्सएपमा मेसेज गर्नुहुन्छ, मेरो स्क्रिन रिडरले त्यो तुरुन्तै पढेर सुनाउँछ। अनि म पनि किबोर्डमा औंलाहरू नचाउँदै तपाईंलाई जवाफ फर्काउँछु। धेरै जना त मेरो टाइपिङ स्पिड देखेर फेरि अचम्म मान्नुहुन्छ।

सामाजिक सञ्जाल मेरा लागि केवल समय बिताउने ठाउँ मात्र होइन। यहींबाट मैले साथीहरू भेटेको छु, नयाँ कुरा सिकेको छु, आफ्ना अनुभव बाँडेको छु, अनि संसारलाई अझ नजिकबाट चिनेको छु।

राति सबै जना सुतिसकेपछि, म भने हेडफोन लगाएर अर्को संसारमा हराइरहेको हुन्छु। मेरो स्क्रिन रिडरले पुस्तकका शब्दहरूलाई आवाजमा बदलिदिन्छ। कहिले कथा, कहिले विज्ञान, कहिले प्रोग्रामिङ, कहिले जीवनका कुरा… त्यो शान्त रातमा आवाजले पढिदिने शब्दहरूको आफ्नै एउटा जादु हुन्छ।

कहिलेकाहीं त रातिको दुई बजे पनि म केही नयाँ कुरा सिकिरहेको हुन्छु। अनि त्यतिबेला मनमनै सोच्छु- ‘यदि प्रविधि मेरो जीवनमा नआएको भए, आज म कहाँ हुन्थें होला ?’

तर मेरो यात्रा केवल कोठाभित्रको डिजिटल संसारमा सीमित छैन। म बाहिर यात्रा गर्दा पनि प्रविधि नै मेरो साथी बन्छ। गुगल म्याप्स र स्क्रिन रिडरको साथले म नयाँ ठाउँहरूमा पनि धेरै आत्मविश्वासका साथ हिंड्न सक्छु।

मोबाइलको आवाजले जब भन्छ-

‘एक सय मिटरपछि दायाँ मोडिनुहोस्’

वा

‘तपाईं आफ्नो गन्तव्य नजिक पुग्नुभयो’

त्यो आवाज मलाई कुनै भरोसायोग्य साथीभन्दा कम लाग्दैन।

मानिसहरूका लागि नक्शा आँखा अगाडि देखिने चित्र हुन सक्छ। तर मेरा लागि नक्शा आवाजमा बनेको बाटो हो। शहरका सडक, गल्ली, पसल, कलेजहरू- म ती सबैलाई आवाज मार्फत चिन्न सिकिरहेको छु। हो, कहिलेकाहीं अलमल पनि हुन्छ। गलत बाटोमा पुगिन्छ। तर प्रत्येक अनुभवले मलाई अझ आत्मनिर्भर बनाउँदै लगिरहेको हुन्छ।

प्रविधिसँग मेरो सम्बन्ध यत्तिमै सीमित छैन। म कोडिङ गर्छु। कम्प्युटरमा कोड लेख्छु। एउटा सानो सेमिकोलन छुट्यो भने पनि मेरो एनभीडीएले तुरुन्तै सुनाइदिन्छ। कहिलेकाहीं लाग्छ, हामी दुई जना मिलेर एउटा अदृश्य टिम बनेका छौं।

म सङ्गीत पनि बनाउँछु। ‘डीएडब्लू’ सफ्टवेयर प्रयोग गरेर धुनहरू तयार गर्छु, इन्स्ट्रुमेन्ट्स मिलाउँछु, मिक्सिङ गर्छु। आवाजकै सहारामा एउटा नयाँ मेलोडी जन्मिँदा मनभित्र छुट्टै आनन्द महसुस हुन्छ।

समय बित्दै जाँदा मैले एउटा कुरा महसुस गरें- स्क्रिन रिडर मेरा लागि केवल एउटा प्रविधि रहेनछ। यो त मेरो जीवनको अभिन्न साथी बनिसकेको रहेछ।

आज हाम्रो सम्बन्ध पाँच वर्षभन्दा पुरानो भइसक्दा, यी पाँच वर्षमा उसले मलाई केवल मोबाइल चलाउन मात्र सिकाएन, उसले मलाई स्वतन्त्र बन्न सिकायो। आफ्नै क्षमतामाथि विश्वास गर्न सिकायो। संसारसँग डराएर होइन, खुलेर बाँच्न सिकायो। यो कहिल्यै थाक्दैन। न त कहिल्यै गुनासो गर्छ। सधैं उस्तै धैर्यका साथ मलाई साथ दिइरहन्छ।

त्यसैले मलाई दृष्टिविहीन हुनु कहिल्यै कमजोरी जस्तो लागेन। मैले बुझेको छु- वास्तविक दृष्टि आँखामा मात्र हुँदैन। वास्तविक दृष्टि त सोचमा हुन्छ, आत्मविश्वासमा हुन्छ, सिक्ने इच्छाशक्तिमा हुन्छ।

प्रविधिले मेरो जीवनलाई केवल सजिलो बनाएको छैन यसले मलाई स्वतन्त्र बनाएको छ। यसले मलाई संसारसँग जोडिएको महसुस गराएको छ। यसले मलाई आफ्ना सपनाहरू पछ्याउने हिम्मत दिएको छ।

आज म गर्वका साथ भन्न सक्छु- म अन्धकारमा बाँचिरहेको छैन। म प्रविधिको उज्यालो, आवाज र अनगिन्ती सम्भावनाहरूले भरिएको संसारमा बाँचिरहेको छु।

मेरो यो अदृश्य साथीको कथा तपाईंलाई कस्तो लाग्यो ? तपाईंको जीवनमा प्रविधिले कस्तो परिवर्तन ल्याएको छ ? आफ्नो अनुभव र प्रतिक्रिया अवश्य सेयर गर्नुहोस्।

लेखक
सम्राट पंगेनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?