News Summary
Generated by OK AI. Editorially reviewed.- प्रविधिको विकास र डिजिटल रूपान्तरणका कारण परम्परागत सञ्चारमाध्यमहरू अनलाइन पोर्टल, पोडकास्ट र सामाजिक सञ्जालमा रूपान्तरित हुन बाध्य भएका छन् ।
- एआई र सामाजिक सञ्जालको तीव्र प्रयोगले सिर्जना गरेका मिथ्या समाचार र डिपफेक सामग्रीका कारण पत्रकारितामा विश्वसनीयताको गम्भीर सङ्कट पैदा भएको छ ।
- बदलिंदो परिवेश र नागरिक पत्रकारिताको विकाससँगै सञ्चारकर्मको मूल मर्म मानिने सत्य, तथ्य, निष्पक्षता र व्यावसायिक नैतिकता जोगाउनु आजको मुख्य चुनौती हो ।
प्रविधिको विकाससँगै सञ्चारकर्म पनि प्रभावित हुन पुगेको वर्तमान युगमा पत्रकारिता पनि परिवर्तनबाट अछुतो छैन। यो यथार्थलाई सञ्चारसँग सम्बन्धित व्यक्ति र निकायले जतिसक्दो छिटो स्वीकार गरेर तदनुकूलको रणनीति अख्तियार गर्छन्, पत्रकारिता त्यति नै प्रभावकारी हुने निश्चित छ।
आज सञ्चारकर्म इतिहासकै सबैभन्दा गतिशील र चुनौतीपूर्ण मोडमा उभिएको छ। हिजो सञ्चारमाध्यम सीमित र नियन्त्रित थिए, आज सूचनाको बाढी छ। हिजो समाचार खोजिन्थ्यो, आज समाचार आमव्यक्तिलाई खोज्दै मोबाइलको स्क्रिनसम्म आइपुग्ने अवस्थाको निर्माण भएको छ। यस आधारमा भन्न सकिन्छ- आजको अवस्थामा सर्वाधिक महत्त्वपूर्ण तरिकाले स्वीकार गरिनुपर्ने कुरा के हो भने सञ्चारकर्मको परिवेश बदलिंदो छ।
वर्तमान परिप्रेक्ष्यमा यो वास्तविकतालाई स्वीकार नगर्ने हो भने सञ्चारकर्ममा संलग्नहरूले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न कठिन हुनसक्छ। सम्बद्ध पक्षले के हेक्का राख्नु जरूरी छ भने वर्तमान समयमा प्रविधिका कारण पाठक, दर्शक/श्रोताको बानी र सामग्री प्रस्तुतीकरणमा युगान्तकारी परिवर्तन आएको छ र सञ्चारकर्मीले त्यो परिवर्तनलाई आत्मसात् गर्नु अपरिहार्य छ।
अवस्था त कहाँसम्म छ भने नयाँ परिवेशमा समग्र पत्रकारिता र समाचारकै परिभाषा र प्रकृतिमै पनि परिवर्तन आएको हो कि भन्ने भान पर्न सक्छ। पत्रकारिता र समाचारको मूल मान्यताका सन्दर्भमा परिवर्तनलाई अस्वीकार गर्ने हो भने पनि शैली र स्वरूपमा आएको परिवर्तनलाई अस्वीकार गर्न मिल्दैन। केही त माध्यममा आएको परिवर्तनका कारण पनि पत्रकारिता, समाचार र समग्रमा सञ्चारकर्म प्रभावित हुन पुगेको यथार्थ हाम्रासामु छ।
प्रविधिको नयाँ लहरका कारण डिजिटल रूपान्तरणको अवस्था सिर्जना भएको छ। यसबाट सबैभन्दा बढी प्रभावित हुन पुगेका छन्, परम्परागत मिडिया। छापा, रेडियो र टेलिभिजन जस्ता परम्परावादी मिडिया डिजिटलमा फड्को मार्न बाध्य भएका छन्। यो बाध्यात्मक अवस्थाका कारण पत्रकारिताको विगतको अभ्यास प्रभावित हुन पुगेको छ।
अहिले एउटै मोबाइलमा संसार छ भन्ने मान्यताको विकास भएको छ। केही हदसम्म यो मान्यता सही पनि हो। हिजोको दिनमा समाचारमाथि मिडियाको नियन्त्रण हुन्थ्यो/थियो। एउटा समाचारका लागि भोलिपल्टको पत्रिका वा निश्चित समयको समाचार बुलेटिन कुर्नुपर्थ्यो। आज त्यस मान्यतामा परिवर्तन आएको छ। आज रियल–टाइम (तत्काल) अपडेट (अद्यावधिक) मोबाइलको स्क्रिनमै आइपुग्छ।
प्रविधिमा आएको परिवर्तनका कारण छापा माध्यम (पत्रिका), रेडियो र टेलिभिजनको एकाधिकार सकिएर अहिले अनलाइन पोर्टल, पोडकास्ट र सामाजिक सञ्जाल (फेसबुक, युट्युब, टिकटक) सञ्चारका मुख्य माध्यम बनेका छन्। निश्चय नै यो अवस्थाले एकातिर सूचनामाथिको परम्परागत नियन्त्रणकारी अवस्थाको अन्त्य भएको तर सूचनाको प्रवाह अनियन्त्रित हुन पुगेको छ।
अर्कोतिर आमव्यक्तिका हातमा सञ्चारमाध्यम पुग्दा नागरिक पत्रकारितालाई बल त पुगेको छ तर सँगसँगै द्रुत सूचना सम्प्रेषण मान्यताको विकासको उपस्थितिमा सूचनाको पुष्टि र पुनर्पुष्टिको प्रक्रिया प्रभावित हुन पुगेको छ भन्दा अस्वाभाविक हुँदैन। कतिपय सन्दर्भमा त पाठक, श्रोता र दर्शकमाझ छिटो पुग्ने लोभ संवरण गर्न नसक्दा समाचार सम्पादनको प्रक्रियालाई पनि पूर्णतः अनुसरण गर्न सकिएको पाइँदैन।
यस पृष्ठभूमिको उपस्थितिमा विश्वसनीय सञ्चारकर्मको अवधारणा नै सङ्कटग्रस्त हुन पुगेको छ, जो अत्यन्त स्वाभाविक छ। यसै महिनाको प्रारम्भमा जनकपुरमा आयोजित साहित्य महोत्सवमा यसै विषयको सेरोफेरोमा छलफल भएको स्मरणीय छ।
पछिल्लो समयमा सूचनाग्राहीकै पहिचानमा पनि परिवर्तन आएको छ भन्दा असङ्गत ठहर्दैन। केही समयअघिसम्म ‘सूचना सबैका लागि’ भन्ने मान्यताका आधारमा परम्परावादी मिडियाहरू सञ्चारकर्म र सूचना सम्प्रेषण गर्थे। पछिल्लो समयमा विगतको मान्यतामा थोरै परिवर्तन आयो र ‘जसले उपयोग गर्छ, सूचना उसैका लागि हो’ भन्ने अवधारणाको विकास भयो।
अर्थात् सूचनाको सम्बन्ध आवश्यकताकेन्द्रित उपभोग्य सामग्रीसँग जोडियो। अर्थात् सूचना अब वस्तुमा परिवर्तन भयो र सूचनाको उपयोगितावादी मान्यतालाई आत्मसात् गरेर ‘कर्पोरेट मिडिया’ सूचना–वस्तु बिक्री गर्न बजारमा दह्रो ढङ्गले उपस्थित भए।
वर्तमानमा एकपटक पुनः मान्यतामा परिवर्तन आउन खोजेको जस्तो देखिंदैछ। हिजोका सूचनाग्राहीहरू आजको दिनमा अब ‘उपभोक्ता’ बाट ‘उत्पादक’ मा परिवर्तन भइरहेका छन्। विगतमा जनता सूचनाका केवल ‘उपभोक्ता’ थिए। आज प्रविधिले फड्को मारेको बेलामा नागरिक पत्रकारिताको अस्तित्वलाई अस्वीकार गर्न सकिने अवस्था छैन।
यसले लोकतन्त्रमा सूचनाको पहुँच र महत्त्वलाई प्रमाणित गर्छ। स्मार्टफोन र इन्टरनेटको पहुँचले गर्दा प्रत्येक नागरिक आफैंमा एक ‘प्रकाशक’ वा ‘पत्रकार’ बनेका छन्। यस परिस्थितिमा के भन्न सकिन्छ भने नागरिक पत्रकारिताले सूचना प्रवाहलाई लोकतान्त्रिक त बनाएको छ, तर सँगसँगै चुनौती पनि थपेको छ।
माथि पनि थोरै चर्चा गरियो, वर्तमानमा पत्रकारिताले विश्वसनीयताको सङ्कट बेहोर्न बाध्य हुनुपरेको छ। सूचना प्रवाहमा तीव्रताको उपस्थितिमा सम्पादकीय प्रक्रियाको पूर्णतः अनुसरण हुन नसक्दा समस्या उत्पन्न हुन पुगेको छ। आजको अवस्थामा सम्पादकीय प्रक्रियाको अर्थ र महत्त्व बुझेको व्यावसायिक पत्रकार र सम्पादकीय प्रक्रिया अनुसरणभन्दा तीव्र समाचार सम्प्रेषणलाई महत्त्व दिने नागरिक पत्रकार बीचको सङ्घर्षमा पत्रकारिताको मूल्य–मान्यता प्रभावित हुन पुगेको यथार्थलाई अस्वीकार गर्न सकिंदैन।
अल्गोरिदमको खेल अर्को समस्याका रूपमा उपस्थित भएको छ। आज सञ्चारमाध्यमलाई सत्यताभन्दा पनि ‘भ्युज, लाइक्स र भाइरल’ हुने होडबाजीले डोर्याइरहेको देखिन्छ। ‘फेक न्युज’ का कारण विश्वसनीयताको सङ्कटले क्रमशः आकार बढाइरहेको छ। ‘फेक न्युज’ र एआईद्वारा निर्मित ‘डिपफेक’ सामग्रीहरूले गर्दा कुन सत्य हो र कुन भ्रम हो भनेर छुट्याउन गाह्रो पर्ने अवस्थाको सिर्जना भएको छ।
यस्तो बेला सञ्चारकर्मीको मुख्य चुनौती नै आफ्नो विश्वसनीयता जोगाउनु हो। सारमा भन्ने हो भने, सञ्चार प्रविधिमा भएको विकासले पत्रकारिताको मूल आधार मानिने विश्वसनीयता नै सङ्कटग्रस्त बन्न पुगेको छ। विमति हुन सक्दैन, यसबाट जोगिएर आमव्यक्तिलाई शुद्ध र आवश्यक सूचना पस्किने दायित्व सञ्चारकर्मीकै हो।
यो चुनौतीको सामना गर्न अहिलेको परिवेशमा केवल लेख्न वा बोल्न जान्ने सञ्चारकर्मी मात्र टिकिरहन सक्दैन। आजको सञ्चारकर्मी ‘मल्टिटास्किङ’ हुनुपर्छ। पुराना पुस्ताकाले नयाँसँग प्रतिस्पर्धा गर्ने आँट राख्नुपर्छ। आजको सञ्चारकर्मीलाई डकुमेन्ट्री खिच्न, भिडियो सम्पादन गर्न, सामाजिक सञ्जाल व्यवस्थापन गर्न र एआई टुल्सको सही प्रयोग गर्न आउनु जरूरी छ।
वर्तमान समयमा समाचार लेखन, उद्घोषण र तथ्याङ्क विश्लेषणमा एआईको प्रयोग बढ्दो छ। यसले सञ्चारकर्मलाई छिटो त बनाएको छ, तर मानवीय संवेदना, नैतिकता र पत्रकारिताको मर्ममाथि प्रश्न पनि तेर्स्याएको छ।
पत्रकारिताको शैली, तरिका र प्रक्रियामा परिवर्तन आउन सक्छ/आउँछ। तर पत्रकारिता भने मर्दैन। यो निरन्तर रहिनै रहन्छ। जुनसुकै एआईले पनि पत्रकारितालाई प्रतिस्थापन गर्न सक्दैन। समाजमा खोजी समाचार र मानवीय संवेदनाको अध्ययन विश्लेषणको जहिलेसम्म महत्त्व रहन्छ, त्यस बेलासम्म पत्रकार र पत्रकारिताको अस्तित्व पनि कायम रहन्छ।
परिवेश जतिसुकै बदलियोस्, प्रविधि जतिसुकै आधुनिक होस्, सञ्चारकर्मको मूल मर्म भनेको सत्य, तथ्य, निष्पक्षता र विश्वसनीयता नै हो। प्रविधिलाई आफ्नो अनुकूल प्रयोग गरेर व्यावसायिक नैतिकतालाई जोगाइराख्नु नै आजको मुख्य चुनौती भएको कुरामा शङ्का छैन ।
प्रतिक्रिया 4