News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन शाहलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
- राष्ट्रिय सभामा कांग्रेस सांसद रन्जित कर्णले तथ्य सार्वजनिक नगरे प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरे ।
- प्रधानमन्त्री बालेनले आइतबार प्रतिनिधिसभामा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए ।
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन शाहलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
सोमबार राष्ट्रिय सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै सांसद रन्जित कर्णले यस्तो अल्टिमेटम दिएका हुन् ।
‘हिजो प्रधानमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर नेपालले भारतको केही जग्गा मिचेको कुरा स्वीकार गर्नुभयो,’ सांसद कर्णले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु – २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउनुहोला ।’
अन्यथा, जनतासँग माफी माग्नुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘यदि तथ्य उपलब्ध गराउन सक्नु भएन भने उहाँले जनताको मागमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।
यसको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र सीमाबारेको प्रधानमन्त्री बालेनको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग राखेका हुन् ।
प्रतिक्रिया 4