+
+
Shares

नेपालकै भूमिमा गरिएको तटबन्ध निर्माणमा एसएसबीको अवरोध : सुस्ता बचाउ अभियान

‘भारतले नै दाबी गरेको क्षेत्रभन्दा ३० मिटर नेपालतर्फ बनेको तटबन्ध पनि एसएसबीले रोकेको छ,’ सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १७:०८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पश्चिम नवलपरासीको सुस्तामा नेपालतर्फ भइरहेको तटबन्ध निर्माण कार्य रोकेको छ ।
  • नारायणी नदीको बाढी नियन्त्रणका लागि सिँचाइ तथा जलस्रोत आयोजना कार्यालयले सुस्तामा करिब १२ करोडको लागतमा तटबन्ध बनाउन लागेको हो ।
  • विवाद समाधानका लागि दुवै पक्षका सुरक्षा अधिकारीबीच छलफल भए पनि निकास ननिस्कँदा तटबन्धको काम ठप्प भएको छ ।

१८ जेठ, काठमाडौं । सुस्ता बचाउ अभियान नवलपरासी नेपालले दुवै पक्षले विवादित नभनेको भूमिमा पनि भारतले नेपाललाई तटबन्ध निर्माण गर्न नदिएको जनाएको छ ।

नेपाल पक्षका अनुसार थारू टोलको सिमलको रुखसम्म नेपाल पर्दछ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भने सिमलको रुखभन्दा करिब एक सय मिटर तल रहेको भेल्लरको रुखसम्म मात्र नेपालको हो भन्दै आएको छ । तर तटबन्धको काम भइरहेको भेल्लरको रुखभन्दा पनि तल (नेपाल तर्फ) हो ।

‘भारतले नै दाबी गरेको क्षेत्रभन्दा ३० मिटर नेपालतर्फ बनेको तटबन्ध पनि एसएसबीले रोकेको छ,’ सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले अनलाइनखबरसँग भने ।

नेपालको दाबीअनुसारको सिमलको रुखसम्म समेट्ने गरी १३२ मिटर लामो तटबन्ध बनाउने गरी ठेक्का लगाइएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत चितवनको भरतपुरस्थित सिँचाइ तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढी नियन्त्रणका लागि पश्चिम नवलपरासीको सुस्तामा करिब १२ करोडको लागतमा तटबन्ध निर्माणको काम गर्दै आएको छ ।

नदीको तलतिर (डाउनस्ट्रिम)  करिब एक किलोमिटर लामो तटबन्ध निर्माणको काम भइरहेको छ । अहिले काम भइरहेको करिब ४०० मिटर माथितिर (अपस्ट्रिम) तर्फ थप १३२ मिटर लामो तटबन्ध बनाउनका लागि ठेक्का लागिसकेको छ । तर काम सुरु हुन बाँकी छ ।

फाइल तस्वीर

‘अस्ति एसएसबीका एक जना प्रतिनिधि अहिले काम भइरहेको ठाउँमा आएर काम रोक्नु भनेका थिए, त्यो क्रम हिजो पनि जारी रह्यो,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार भारतले आफ्नो भनेर दाबी गरेको र १३२ मिटरको बाँध बनाउन ठेक्का लागेको ठाउँतिर काम नै सुरु भएको छैन, अहिले काम भइरहेको नेपालकै भू-भागमा हो, त्यहाँ पनि काम नगर्न भनेर एसएसबीले रोकेको छ ।

एसएसबीले काम रोक्न भनेपछि आयोजनाका इन्जिनियरहरूले त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयमा जानकारी गराएका थिए । साथै सशस्त्र प्रहरीका अधिकारीलाई पनि सम्पर्क गरेर एसएसबीसँग सो विषयमा बुझ्न निर्देशन दिएका थिए ।

आइतबार नै भारतीय एसएसबी र नेपालको सशस्त्र प्रहरी बलका अधिकारीहरूबीच छलफल भएको थियो । तर निकास ननिस्किएको स्रोतले बतायो । त्यसैले अहिले नेपाली भूमिमा भइरहेको तटबन्धको काम पनि रोकिएको छ ।

अभियानका प्रवक्ता जैसवाल प्रधानमन्त्री बालेन शाहले १७ जेठको संसद् बैठकमा विवादित अभिव्यक्ति दिनु अगावै एसएसबीले तटबन्ध रोक्न आएको बताउँछन् ।

उनी भन्छन्, ‘मेरो विचारमा प्रधानमन्त्रीको अभिव्यक्ति र यहाँको काम रोकिएको बीच सम्बन्ध छैन । बरु त्यस्तो अभिव्यक्तिले सीमा समस्या समाधानमा दीर्घकालीन असर पर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?