News Summary
Generated by OK AI. Editorially reviewed.- बहुमत पदाधिकारीको राजीनामाका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमिति स्वतः विघटन भएको छ ।
- संघका अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ पदाधिकारीले राजीनामा दिएका थिए ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रबन्ध समितिलाई विशेष साधारणसभा आह्वान गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
१८ जेठ, काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमिति स्वत: विघटन भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको विधानको व्यवस्था अनुसार वर्तमान कार्यसमिति स्वत: विघटन भएको र सल्लाहकार समितिले गठन गरेको प्रबन्ध समितिले नै थप प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
प्रशासनले संघलाई ‘निर्देशन सहित पुन: पत्राचार गरिएको’ सम्बन्धमा पत्र लेख्दै कार्यसमितिका बहुमत पदाधिकारीले दिएको राजीनामाका कारण कार्यसमिति भंग भएको जनाएको हो ।
संघ अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विधान बमोजिम कार्यसमितिका बहुमत पदाधिकारीले राजीनामा दिएका थिए ।
राजीनामापत्रहरू जाँचबुझ गर्दा संघको विधानको दफा २ (९) को पदाधिकारी सम्बन्धी व्याख्या बमोजिम राजीनामा दिने पदाधिकारीको संख्या दुई तिहाइ पुगेको देखिएको थियो ।
सोही आधारमा संघको विधान अनुसार वर्तमान कार्यसमिति स्वत: विघटन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यसमिति विघटन भएपछि संघको विधानमा भएको व्यवस्था अनुसार नै सल्लाहकार समितिको निर्णयबाट ‘प्रबन्ध समिति’ गठन गरिएको थियो । प्रबन्ध समिति गठनको कार्य विधानत: मिलेकै देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले उक्त प्रबन्ध समितिलाई संघको विशेष साधारणसभा आह्वान गरी विधानको व्यवस्था कार्यान्वयन गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
यसअघि नै सुरु भइसकेको यो प्रक्रियालाई निरन्तर अघि बढाउन र प्रबन्ध समितिले गर्ने कार्य, निर्णय तथा सम्बद्ध विषयमा कार्यालयलाई लिखित रूपमा अद्यावधिक जानकारी गराउन समेत भनिएको छ ।
प्रशासनले यो कार्यप्रक्रियामा कसैले पनि बाधा व्यवधान सिर्जना नगर्न र नगराउन सचेत गराएको छ । यदि कसैले निर्देशन विपरीत कार्य गरेको पाइए तत्काल जिल्ला प्रशासन कार्यालयलाई सूचना दिन समेत पत्रमार्फत अनुरोध गरिएको छ ।

प्रतिक्रिया 4