१८ जेठ, काठमाडौं । संघीय सरकारको निर्णयविपरीत धमाधम आइतबार पनि देशभरका विद्यालय सञ्चालन भएपछि शिक्षा मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई गुहारेको खुलेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले शनिबार र आइतबार विद्यालय बन्द गराउन स्थानीय तहसँग समन्वय तथा सहजीकरण गरिदिन माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको खुलेको हो ।
संघीय मामिला मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउनदेखि प्रदेश तथा स्थानीय सरकारसँग समन्वयको काम गर्छ ।
यहीकारण शिक्षा मन्त्रालयले जेठ ११ मन्त्रिस्तरीय निर्णय गरेर संघीय मामिला मन्त्रालयलाई स्थानीय तहसँग समन्वयका लागि आग्रहसहितको परिपत्र दिएको खुलेको छ । उक्त पत्र अहिले सार्वजनिक भएको हो ।
पत्र ‘विद्यालय सञ्चालनमा एकरूपता कायम गर्ने सम्बन्धमा’ भनेर काटिएको छ । जसमा व्यहोरामा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकारको निर्णयअनुसार मिति २०८२/१२/२३ गतेदेखि लागु हुनेगरी सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णयमा शैक्षिक संस्था पनि उल्लेख भएकाले उक्त निर्णय देशभरका सम्पूर्ण विद्यालयमा लागु गरी सार्वजनिक बिदामा एकरूपमा कायम गर्न सम्पूर्ण स्थानीय तहलाई समन्वय एवं सहजीकरण गरिदिनहुन यस मन्त्रालयको मिति २०८३/०२/११(माननीय मन्त्रिस्तर)को निर्णयअनुसार अनुरोध छ ।’
संघीय सरकारले आइतबारसमेत हप्तामा दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसले पठनपाठन प्रभावित हुने र विद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित हुने भन्दै विरोध भइरहेको छ । उता धेरैजसो स्थानीय तहले संघीय सरकारको निर्णय उल्लंघन गर्दै आइतबार पनि निर्वाध विद्यालय सञ्चालन गराइरहेका छन् ।
यस्ताे छ पत्र :

प्रतिक्रिया 4