+
+
Shares

मार्लिन मनरो जन्मिएको १०० वर्ष पूरा, हलिउड मनाउँदैछ जन्मशताब्दी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १२:३१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउडकी चर्चित अभिनेत्री मर्लिन मोनरोको जन्मशताब्दीको अवसरमा लस एन्जलसमा विभिन्न विशेष कार्यक्रम आयोजना गरी उनको स्मरण गरिएको छ ।
  • एकेडेमी म्युजियमले सन् २०२७ फेब्रुअरीसम्म चल्ने गरी ‘मर्लिन मोनरो : हलिउड आइकन’ नामक विशेष प्रदर्शनी सुरु गरेको छ ।
  • जुलियन्स अक्सन्सले आगामी जुन ४ मा ‘१०० इयर्स अफ मेरिलिन’ शीर्षकमा उनको व्यक्तिगत सामग्रीहरूको विशेष लिलामी गर्ने भएको छ ।

लस एन्जलस (एएफपी) । हलिउडले आफ्नी सबैभन्दा चर्चित कलाकारमध्ये एक मर्लिन मोनरोको जन्मशताब्दी विशेष रूपमा मनाएको छ । उनको जन्मिएको १०० वर्ष पूरा भएको अवसरमा सोमबार हलिउडभरि उनलाई सम्झिने विभिन्न कार्यक्रम आयोजना गरिएका थिए ।

सन् १९६२ मा ३६ वर्षकै उमेरमा निधन भएकी मनरोलाई आज पनि हलिउडको प्रतीकका रूपमा हेरिन्छ । हलिउड बुलेभार्डस्थित ‘वाक अफ फेम’ मा पर्यटक मार्गदर्शक लेसी नोएलले भनिन्, ‘हलिउड भन्नासाथ मर्लिन मनरोको सम्झना आउँछ । उनीसँग यस्तो आकर्षण र रहस्यमय आभा छ, जुन कहिल्यै हराउने छैन ।’

सन् १९५३ को फिल्म ‘जेन्टलमेन प्रिफर ब्लोन्ड्स’ मा सह-अभिनेत्री जेन रस्सेलसँगै राखिएका मनरोका हस्तछाप रहेको ऐतिहासिक चाइनिज थिएटरमा उनका प्रशंसक भेला भएर ‘ह्याप्पी बर्थडे’ गीत गाएका थिए । त्यहाँ १०० वटा गुलाब र जन्मदिनको केक पनि राखिएको थियो ।

मनरोलाई समर्पित कार्यक्रम आइतबारदेखि नै सुरु भएको थियो । हलिउडस्थित एकेडेमी म्युजियमले ‘मर्लिन मनरो : हलिउड आइकन’ नामक विशेष प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनीमा उनको फिल्मी यात्रा र छोटो जीवनका महत्वपूर्ण पक्ष प्रस्तुत गरिएको छ ।

फेब्रुअरी २०२७ सम्म चल्ने उक्त प्रदर्शनीमा सयौं दुर्लभ सामग्री राखिएका छन् । तीमध्ये ‘डायमण्ड्स आर अ गल्र्स बेस्ट फ्रेन्ड’ गीतमा उनले लगाएको चर्चित गुलाबी पोसाक पनि समावेश छ । संग्रहालयले यस महिनाभरि ‘द एस्फाल्ट जंगल (१९५०), नायग्रा (१९५३), द सेभेन इयर इच (१९५५), सम लाइक इट हट (१९५९) र द मिसफिट्स (१९६१) लगायत उनका चर्चित फिल्मको विशेष प्रदर्शन पनि गर्ने भएको छ ।

जुन ४ मा जुलियन्स अक्सन्सले ‘१०० इयर्स अफ मेरिलिन’ शीर्षकमा विशेष लिलामी आयोजना गर्दै मनरोसँग सम्बन्धित करिब २०० वस्तु बिक्री गर्ने तयारी गरेको छ । ती सामग्रीमा अप्रकाशित तस्वीर, उनको अन्तिम फिल्मको टिप्पणीसहितको स्क्रिप्ट, अधुरो फिल्म समथिङ्स गट टु गिभ सम्बन्धी सामग्री, हस्तलिखित रेसिपी र उनले प्रयोग गर्ने एलिजाबेथ आर्डेन ब्रान्डको लिपस्टिकसमेत समावेश छन् ।

१ जुन १९२६ मा लस एन्जलसमा जन्मिएकी मनरोको बाल्यकाल निकै कठिन थियो । उनले आफ्नो बाल्यकाल अनाथालय र पालनपोषण गर्ने परिवारबीच बिताइन् । १६ वर्षको उमेरमै उनको पहिलो विवाह भएको थियो ।

दोस्रो विश्वयुद्धका बेला सन् १९४४ मा कारखानामा काम गरिरहेकी मनरोलाई एक फोटोग्राफरले तस्वीर खिचेपछि उनको मोडलिङ यात्रा सुरु भएको थियो । त्यसपछि उनले पतिसँग सम्बन्धविच्छेद गरिन् र आफ्नो खैरो कपाललाई प्लेटिनम ब्लोन्ड रंगमा परिवर्तन गरिन्, जुन निर्णयले उनको जीवन नै बदलिदियो ।

छिट्टै उनले फक्स स्टुडियोसँग पहिलो सम्झौता पाइन् र ३० वर्षको उमेर पुग्दासम्म विश्वव्यापी स्टार बनिसकेकी थिइन् । अभिनयसँगै उनले आफ्नै निर्माण कम्पनी स्थापना गरिन्, न्यूयोर्कको प्रतिष्ठित एक्टर्स स्टुडियोमा अध्ययन गरिन् र स्टुडियोको दबाबसमेत अस्वीकार गर्ने साहस देखाइन् ।

सन् १९५० को दशकमा ट्वेन्टिथ सेन्चुरी फक्ससँग सम्झौतामा रहँदा उनले ‘द गर्ल इन पिंक टाइट्स’ फिल्ममा अभिनय गर्न अस्वीकार गरेकी थिइन् । उनको भनाइमा स्क्रिप्ट कमजोर थियो र सह–अभिनेता फ्रयांक सिनात्राको तुलनामा आफूलाई दिइएको पारिश्रमिक अन्यायपूर्ण थियो ।

फक्ससँगको सहकार्यले विश्वलाई केही अविस्मरणीय दृश्य दियो । तीमध्ये ‘द सेभेन इयर इच’ फिल्मका लागि न्यूयोर्कको सबवे भेन्टमाथि उभिँदा हावाले उडाएको सेतो पोसाक सम्हाल्न खोजिरहेको उनको दृश्य सबैभन्दा चर्चित मानिन्छ ।

फिल्मी सफलतासँगै उनको व्यक्तिगत जीवन पनि निरन्तर चर्चामा रह्यो । यही कारण उनी २०औँ शताब्दीकी सबैभन्दा चर्चित सेलिब्रेटीमध्ये एक बनिन् । पहिलो विवाहपछि उनको बेसबल खेलाडी जो डिमाजियोसँग छोटो वैवाहिक सम्बन्ध रह्यो भने पछि चर्चित नाटककार आर्थर मिलरसँग पाँच वर्षसम्म विवाह बन्धनमा रहिन् ।

उनको नाम अमेरिकी राष्ट्रपति जोन एफ केनेडी, उनका भाइ रोबर्ट एफ केनेडी तथा हलिउडका चर्चित कलाकार मार्लन ब्रान्डो र फ्र्यांक सिनात्रासँग पनि जोडिएको थियो । अगस्ट १९६२ मा लस एन्जलसस्थित आफ्नै घरमा लागुऔषधको अत्यधिक सेवनका कारण मनरोको निधन भएको थियो । त्यतिबेला उनी केवल ३६ वर्षकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?