+
+
Shares

सशस्त्रका जवानको शंकास्पद मृत्यु : गस्ती हिंडेका ओमप्रकाश कसरी नदीमा मृत भेटिए ?

गस्तीमै रहेका सशस्त्र प्रहरीका जवान हराउनु र त्यसको केही दिनपछि शव भेटिनुले घटनाबारे प्रश्न उब्जिएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ जेठ १९ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डडेलधुराको परिगाउँ बीओपीबाट बेपत्ता भएका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरस्थित महाकाली नदीमा फेला परेको छ।
  • मृतक जवानसँगै उनका मामा नाता पर्ने ५५ वर्षीय तीर्थबहादुर थापाको शव पनि महाकाली नदीमै तैरिएको अवस्थामा आइतबार फेला परेको थियो।
  • सशस्त्र प्रहरी बलले घटनाको सत्यतथ्य छानबिन गर्नका लागि एसपी देवराज जोशीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

१९ जेठ, काठमाडौं । गस्तीमा गएका एक जना सशस्त्र प्रहरी जवानको शंकास्पद रूपमा मृत्यु भएको छ ।

डडेलधुराको परिगाउँ बीओपी (बोर्डर आउट पोस्ट)मा कार्यरत सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर ब्यारेकबाट हराएको तीन दिनपछि मृत अवस्थामा भेटिएका छन् ।

सोमबार कञ्चनपुर र भारतको उत्तराखण्ड टनकपुर शाखा ब्यारेजस्थित महाकाली नदीको पुलमुनि अड्किएको अवस्थामा उनको शव फेला परेको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णु भट्टले बताए । पोस्टमार्टम गरी मंगलबार कैलालीको गोदावरीमा शव दाहसंस्कार गरिसकिएको छ ।

ओमप्रकाशसँगै उनका मामा नाता पर्ने ५५ वर्षीय तीर्थबहादुर थापाको पनि महाकाली नदीमै आइतबार शव भेटिएको थियो । बिहान ९:५० बजे डडेलधुराकै पर्शुराम नगरपालिका-५ स्थित महाकाली नदीमा तैरिएको अवस्थामा थापाको शव भेटिएको थियो ।

गस्तीमै रहेका सशस्त्र प्रहरीका जवान हराउनु र त्यसको केही दिनपछि शव भेटिनुले घटनाबारे प्रश्न उब्जिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकका अनुसार १४ जेठमा सशस्त्र प्रहरी इन्स्पेक्टर नरेशबहादुर चन्दको कमान्डमा २१ जनाको टोली डडेलधुराको परिगाउँ बीओपीबाट सीमामा पैदल गस्ती गएको थियो । १५ जेठको रात उक्त टोली हारबोर बीओपीमा बास बसेको थियो ।

भोलिपल्ट १६ गते रोलकल बोलाउँदा सशस्त्र जवान ओमप्रकाश पुन मगर भने भेटिएनन् । खोजी गर्दा उनी नभेटिएपछि हराएको भन्दै हल्लीखल्ली भयो ।

एउटा बीओपीबाट गस्ती गएर राति अर्को बीओपीमा बस्नु र भोलिपल्ट बिहान रोलकल बोलाउँदा मान्छे बेपत्ता हुनुले घटना शंकास्पद रहेको बताइन्छ । उनी बीओपीबाट कसरी निस्किए, कहाँ गए भन्नेबारे अहिलेसम्म आधिकारिक रूपमा केही पत्ता लागेको छैन ।

तर, सशस्त्र प्रहरीको दाबी भने आफ्नै छ । सशस्त्र प्रहरीका डडेलधुराका डीएसपी प्रकाशचन्द्र भट्ट त्यस दिन विवाह एनिभर्सरी (वैवाहिक वर्षगाँठ) भएकाले एनिभर्सरी मनाउन भनेर निस्केको दाबी गर्छन् ।

‘बीओपी नजिकै उनको कोठा थियो । एकछिन एनिभर्सरी मनाउन जान्छु भनेर निस्केका हुन् । त्यसपछि बीओपी फर्केनछन्,’ डीएसपी भट्टको दाबी छ ।

सशस्त्रका अनुसार अहिले मृत भेटिएका पुन मगरकी श्रीमती पनि सशस्त्र प्रहरी नै हुन् । उनीहरू दुवै जना ब्याचमेट रहेको र सँगै एउटै बीओपीमा कार्यरत रहेकोसमेत बताइएको छ ।

बीओपी नजिकै कोठा, मामा घर पनि नजिकै भएकाले एनिभर्सरी मनाउन भनेर गएको र त्यसपछि बेपत्ता भएको दाबी सशस्त्रको छ । तर उनलाई कसले आउट जान दियो, त्यसको रेकर्ड छ/छैन भन्ने विषय भने केही खुलाइएको छैन ।

नम्बर ५२ गुल्म दरबन्दी भएका पुनमगर बेपत्ता भएपछि बीओपी परिगाउँबाट सशस्त्र प्रहरीका सई शेरबहादुर बमको कमान्डमा ५ जना र सीमा पैदल गस्तीसहितको टोलीबाट खोजी सुरु भएको थियो ।

१६ गते बिहान रोलकलमा सामेल गर्दा पुन मगर नभेटिएसँग साँझ ५ बजेतिर मात्रै घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो । घटनाको अनुसन्धान गरिरहेका डडेलधुराका डीएसपी बरुणबहादुर सिंह भन्छन्, ‘साँझ ५ बजेतिर हराएको भन्दै हामीलाई जानकारी आएको थियो ।’

१६ गते साँझसम्म पनि पुन मगरको अवस्था फेला नपरेपछि साँझ ६१५ बजेतिर नं. ७ बाहिनीबाट सशस्त्रका एसपीको कमान्डमा ५ जना गोताखोरसहित ९ जनाको टोली खोजीका लागि खटिएको थियो । यो टोलीले डडेल्धुराको पर्शुराम नगरपालिका-५ कलपट्टेस्थित महाकाली नदीमा रबर बोटमार्फत खोजी गरेको थियो ।

आइतबार ९:५० बजे बीओपी परिगाउँबाट असईको कमान्डमा डीएम (डिजास्टर म्यानेजमेन्ट)सहित १० जनाको टोलीले मामा नाता पर्ने तीर्थबहादुरको शव महाकाली नदीमा भेटेको थियो ।

बीओपी नजिकै मामाको घर भएकाले एनिभर्सरी मनाउने भनेर बीओपीबाट निस्केको र मामासँग महाकाली नदीमा माछा मार्न गएको आशंका गरिएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भने भएको छैन ।

छानबिन गर्न समिति गठन

गस्तीमा गएका व्यक्ति नै ब्यारेकबाट बेपत्ता हुनु र केही दिनमा शव भेटिनुले बीओपीको कमजोरी र लापरबाही प्रष्ट रूपमा देखिन्छ । यही घटनाको छानबिन गर्न भनेर समिति गठन गरिएको डीआईजी भट्ट बताउँछन् ।

नं. ७ बाहिनीका एसपी देवराज जोशीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त समितिले छानबिन सकेर प्रतिवेदन बुझाएपछि मात्रै घटना कसरी भयो, कहाँ कसको कमजोरी छ भन्ने विषय खुल्ने सशस्त्र प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको डडेलधुराका एसपी सिंहको भनाइ छ । ‘हाम्रो स्थानमा भेटिएको शवको मुचुल्का उठाएर काम गरेका छौं । पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्छ,’ उनी भन्छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?